समाचार

कमलादीस्थित एक होटलमा जुवा खेलिरहेका कोलकताका मिक्की जोगाई सहित ८ व्यापारी पक्राउ

काठमाण्डौं। काठमाडौंको कमलादीस्थित एक होटलमा जुवा खेलिरहेका बेला ८ व्यापारी र होटल सञ्चालक कोलकताका मिक्की जोगाई पनि पक्राउ परेका छन्। बुटिक होटलमा जुवा खेलिरहेको खबर प्राप्त भएपछि दरबारमार्गस्थित महानगरीय प्रहरी वृत्तले उनीहरूलाई सोमबार राति पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा व्यापारीहरू अशोककुमार अग्रवाल, गोविन्दराम सरिया, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, रामचन्द्र संघाई, बिमल अहुजा, नन्दकिशोर शर्मा, र विमलकुमार खेतान छन् । वृत्तका डीएसपी रञ्जनकुमार दाहालको नेतृत्वमा गएको प्रहरी टोलीले होटलमा छापा मारी उनीहरूलाई पक्राउ गरेको हो।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामकुमार ज्ञवालीले ८ जुवाडे र एक जना होटल सञ्चालक पक्राउ गरिएको पुष्टि गरेका छन्। अशोककुमार अग्रवाल गिनीका अवैतनिक वाणिज्य दूत हुन्। उनी विशाल ग्रुपका सञ्चालकसमेत हुन्। उनीहरूको साथबाट प्रहरीले २ लाख ७७ हजार नगदसमेत बरामद गरेको छ।

Author

You may also like