काठमाण्डौं। बजेटमा मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसीका लागि रकम छुट्याएपछि सत्तापक्ष नेकपा भित्र विवाद चुलिएको छ । परियोजना सञ्चालन गर्न सरकारले आगामी आर्थिक वर्षमा ९ अर्ब १० करोड रुपैयाँ विनियोजना गरेको छ।
सत्तारुढ दल नेकपाभित्र एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्नेबारे ठूलो विवाद छ। उपल्लो कमिटीका बहुमत नेताले एमसीसी बिनासंशोधन पारित गर्न नहुने बताएका छन्।
यस्तो अवस्थामा प्रधानमन्त्री केपी ओलीले अमेरिकालाई आश्वस्त पार्न र पार्टीभित्रका विपक्षीलाई पेलेरै जाने सन्देश दिन एमसीसी अन्तर्गतका आयोजनामा बजेट छुट्याइएको विश्लेषकहरुले बताएका छन्।
यसले नेकपामा तरंग सिर्जना गरिसकेको छ। शुक्रबार प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटमा यसबारे छलफल भएको छ। एमसीसीबारे छलफल गर्न आज सचिवालय बैठक बोलाइएको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटमा आर्थिक वर्ष २०७७–७८ का लागि एमसीसीका परियोजनामा ९ अर्ब १० करोड ५३ लाख रुपैयाँ विनियोजन गरिएको जनाएका थिए।
जसअन्तर्गत नेपाल सरकारले ३ अर्ब ३७ करोड र अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसनबाट यो वर्ष आउने अनुदान भन्दै ५ अर्ब ७२ करोड ७० लाख रुपैयाँ छुट्याएको छ।