नोभल कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि झापामा विभिन्न उपाय अपनाउन थालिएको छ ।
औषधि तथा अत्यावश्यक दैनिक उपभोग्य वस्तु लकडाउनको अवस्थामा पनि खुला रहने र तरकारीका पसलमा लाग्ने सेवाग्रहीको भीड कम गर्न र मानिस मानिसबीच निश्चित दूरी कायम गर्न झापामा व्यवसायीहरुले नयाँ उपाय अपनाएका छन् ।
स्थानीय प्रशासनको समन्वय र सहयोगमा झापाको विर्तामोडमा त्यस्ता पसलमा आउने ग्राहकबीच दूरी कायम गर्न एक मिटरभन्दा बढीको दूरीमा भूइँमा गोलाकार चिन्ह बनाइएको छ, ग्राहकले पालैपालो त्यही गोलाकार चिन्हभित्र उभिएर आवश्यक सामग्री खरिद गर्नेछन् ।
चेम्बर अफ कमर्स झापाको अग्रसरतामा अपनाइएको उक्त उपाय प्रभावकारी हुने देखिएको चेम्बर अफ कमर्स झापाका पूर्व अध्यक्ष एवम् किराना व्यवसायी सन्तोष अग्रवालले बताउनु भयो । उहाँले यो उपाय सबै बजारमा सबै अत्यावश्यक व्यवसायका सबै प्रतिष्ठानले अवलम्बन गरे कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने उल्लेख गर्नु भयो ।