समाचार

विदेशमा रहेका १२ नेपालीमा कोरोना सङ्क्रमण – (पूर्वसन्देश दैनिक)

दमक/ वैदेशिक रोजगारीमा रहेका र विदेशमा बसोवास गर्दै आएका १२ जना नेपालीमा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको छ । ती १२ जनामध्ये २ जनाको मृत्यु भएको छ ।
युएईमा २ जनालाई कोरोना भाइरस लागेको थियो । उनीहरू उपचारपछि निको भएको युएईस्थित नेपाली दूतावासले जनाएको छ । रोजगारीका लागि पोर्चुगल पुगेका २ जना नेपालीमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । हाल उनीहरूको पोर्चुगलमै उपचार भइरहेको छ ।

पोल्यान्ड रोजगारीका लागि गएका २ जना नेपालीमा पनि कोरोना भाइरस देखिएको छ । उनीहरूको हाल त्यही देशमा उपचार भइरहेको छ । अमेरिकाको न्युयोर्कमा २ जना नेपालीलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । ज्याक्सन हाइटमा बस्ने ५० वर्षीय एक व्यक्तिसहित अर्का ४७ वर्षीय ट्याक्सी चालक पनि सङ्क्रमित भएका हुन् । एक जनाको मृत्यु भएको छ भने एक जनाको उपचार भइरहेको छ ।
लन्डनमा एक नेपाली महिलालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । उनी लन्डनमा सामाजिक अभियन्ता हुन् । हाल उनको लन्डनमा उपचार भइरहेको छ ।

यस्तै, करिब ३ साताअघि नेपालबाट बिदा मनाएर फर्किएका एक विद्यार्थीमा कोरोना भाइरसबाट सङ्क्रमण पाइएको छ । अस्ट्रेलियाको तास्मानियास्थित स्वास्थ्य अधिकारीहरूले करिब २० वर्षका ती विद्यार्थी सङ्क्रमित भएको र उनको आइसोलेसनमा राखेर उपचार भइरहेको बताएका छन् ।
खाडीका देश, युरोपका मुलुक, अमेरिका, क्यानडा, मलेसिया, भारत, अफ्रिकी देशमा रहेका कति नेपालीमा कोरोना भाइरसको सङ्क्रमण देखिए पनि बाहिर आएको छैन । विदेशमा रहेका श्रमिक, विद्यार्थी, व्यापारी र अन्य पेसा गर्दै आएका नेपाली कोरोनाको उच्च जोखिममा छन् ।
कोरोना भाइरसको सङ्क्रमणबाट विश्वमा १८ हजार ९ सय ७ जनाको मृत्यु भएको छ भने ४ लाख २२ हजार ८ सय ३९ जनामा कोरोना भाइरसको पुष्टि भएको छ । कोरोना भाइरसको सङ्क्रमण भएका १ लाख ९१ हजार २ जना निको भएका छन् ।

२ जनाको मृत्यु
कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा बसोवास गर्दै आएका २ जना नेपालीको मृत्यु भएको छ ।
अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट एक जना नेपालीको मृत्यु भएको छ । अमेरिकाको न्युयोर्कमा ५० वर्षीय अनिल लिम्बूको मृत्यु भएको हो ।
पाँचथरको रानीगाउँका अनिल १५ वर्षदेखि अमेरिकामा बस्दै आएका थिए । उनी नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्षसमेत थिए ।
कोरोना भाइरसको सङ्क्रमणबाट लन्डनमा पूर्व गोर्खा सैनिक ६६ वर्षीय लीलाबहादुर राईको पनि मृत्यु भएको छ । सङ्खुवासभा, खाँदबारी स्थायी घर भएका राई लन्डन साउथ ह्यारो बस्दै आएका थिए ।

Author

You may also like