दमक/सन् २०१९ को अन्त्यतिर चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण अहिले विश्वमै त्रास उत्पन्न भएको छ । अहिले विश्वका ७० भन्दा बढी मुलुकमा यसको सङ्क्रमण फैलिइसकेको छ । यसको सङ्क्रमणबाट विश्वमा तीन हजार एक सयभन्दा बढी मान्छेको ज्यान गइसकेको छ भने करिब एक लाख मानिस यसबाट सङ्क्रमित भएका छन् ।
कोरोनाका कारण चीनमा मात्र तीन हजारभन्दा बढीको मृत्यु भएको छ । चीनमा निधन भएका सबै नागरिक हुबेइ प्रान्तका हुन् । चीनबाहेक विश्वका अन्य १० मुलुकमा कोरोना भाइरसका कारण मानिसको मृत्यु भएको छ । कोरोनाका कारण अमेरिकामा पनि ६ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरस आतङ्क यसरी फैलिएको छ कि विश्वभरका मानिसहरुको दिनचर्या, जीवनशैली र कामकाज नराम्ररी प्रभावित हुन पुगेको छ । विश्वका मानिसहरु कोरोना भाइरसले असर कहाँ कसरी भइरहेको छ भनेर सञ्चारमाध्यामहरुकै भर पर्नुपर्ने स्थिति आइलागेको छ । उसो त अनलाइन, टिभी र रेडियोजस्ता विद्युतीय सञ्चारमाध्यामहरु हरेक क्षण, हरेक घण्टा विश्वभर कोरोना भाइरसबाट मृत्यु हुने र सङ्क्रमित हुनेहरुको समाचार ‘ब्रेक’ गरिरहेका छन् भने अखबारहरु हिजोभन्दा आज कति जनाको मृत्यु भयो, कति सङ्क्रमित भए हिसाब गर्दै समाचार लेख्नुपर्ने स्थितिमा पुगेका छन् ।
पछिल्ला केही दिनयता दक्षिण कोरियामा बढ्दै गएको भाइरसको प्रभावले पनि नेपाललाई प्रत्यक्ष प्रभाव पार्ने स्थिति छ । किनकि दक्षिण कोरियामा अहिले करिब ४५ हजारको हाराहारीमा नेपाली नागरिक कामदारको रुपमा बसिरहेका छन् । त्यहाँका नेपाली नागरिकलाई सङ्क्रमण हुनु भनेको पनि नेपालकै क्षति हो । त्यस्तै, नेपाली नागरिकहरु रहेका र आउजाउ चलिरहने देशहरुका भाइरसको प्रभाव बढ्दै जानु पनि खतराको सङ्केत हो ।
कोरोना भाइरसको जोखिम बढ्दै गएपछि भाइरस भित्रिने र फैलिने सम्भावित जोखिमहरुको आँकलन गर्दै सरकारले केही निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल भ्रमण वर्ष २०२० तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ । त्यस्तै विश्वभरबाट अतिथिहरु बोलाएर गर्ने भनिएको सगरमाथा संवाद कार्यक्रम पनि स्थगित गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण देखिएका देशहरुमा अत्यावश्यक कामबाहेक नजान आग्रह गर्दै सरकारले नेपाली नागरिकहरुलाई विदेश भ्रमणमा नजान आग्रह गर्दै ट्राभल एड्भाइजरी नै जारी गरेको छ ।
सोमबार नै सर्वोच्च अदालतले कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि केही दिन वा महिनाका लागि अन्तर्राष्ट्रिय उडान रोक्न सरकारलाई आदेश दिइसकेको छ । त्यसबारेमा सरकारले के निर्णय गर्छ त्यो भने हेर्न बाँकी नै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सम्भावित जोखिम नियन्त्रणका लागि सबैले आवश्यक सतर्कता अपनाउन सार्वजनिक अपिल गर्नुका साथै सरकारी तथा निजी सबैखाले अस्पताल, स्वास्थ्य संस्थाहरुलाई आइसोलेसन वार्डहरु बनाउन, आइपरेमा सबैखाले उपचारको तयारी गर्न निर्देशन नै गरेको छ ।
त्यस्तै आमनागरिकलाई अति आवश्यक कामबाहेक भीडभाडमा नजान, ठूला कार्यक्रम, भोजहरु आयोजना नगर्न, मास्क लगाएर हिँड्न, सरसफाइमा विशेष ख्याल गर्न आग्रह गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रियबाट भित्रिने सबै यात्रुहरुको स्वास्थ्य जाँचमा कडाइ गरिएको र शङ्कास्पद यात्रुहरुलाई स्वास्थ्य उपचार इकाईमा राखेर थप जाँच गरेर मात्रै पठाउने प्रक्रिया सुरm गरेको छ ।
कोरोनाले नेपालको अर्थतन्त्रमा भने गम्भीर असर पार्न थालिसकेको छ । यसले नेपालको आपूर्तिमा समस्या सुरm भएको छ । बजारमा मास्क, स्यानिटाइजर वस्तुको अभाव र कालोबजारी सुरm भइसकेको छ । विस्तारै दैनिक उपभोग्य वस्तु, औषधि र अन्य सामग्रीको कमी हुँदै छ ।
श्रम स्वीकृति स्थगन
सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गरेको छ । चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण विश्वव्यापी बनेसँगै सरकारले सो निर्णय गरेको जनाइएको छ ।
कोभिड–१९ को सन्त्रास कम नभएसम्म श्रम स्वीकृति प्रदानको कार्य हाललाई स्थगन गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले बताएका छन् ।
विश्वभर कोरोनाको त्रास बढ्न थालेपछि बहराइन जान लागेका ३० नेपालीलाई केही दिनअघि संयुक्त अरब इमिरेट्सको दुबईबाट त्यहाँका अध्यागमन अधिकारीले फर्काएका थिए ।
काठमाडौँ सुनसान
कोरोना भाइरसले देशको सबैभन्दा ठूलो पर्यटकीय र व्यापारिक केन्द्र ठमेल र न्युरोड क्षेत्र सुुनसान बनेको छ । सर्वप्रथम चीनमा देखिएको भाइरस फैलिँदै बाँकी विश्वमा समेत पुुगेको र यसको नियन्त्रणमा नेपालले भरपर्दा प्रयास नगरेपछि यसको प्रभाव नेपाली पर्यटन र आर्थिक क्षेत्रमा समेत देखिन थालेको छ ।
सधंँजसो पर्यटकको भिडभाड हुुने ठमेल क्षेत्र अहिले सुनसान छ । सबैजसो पसल, होटल, रेस्टुुरेन्ट, मनी एक्सेन्ज, ह्यान्डीक्¥याफ्टका पसल, पस्मिना, बार, क्लब ट्राभल एजेन्सीहरु, हवाई टिकट बुुकिङ काउन्टरहरु ग्राहकविहीन बनेका छन् ।
सुखानीको कार्यक्रम रोकियो
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले झापाको सुखानी स्मृति पार्कमा गरिने भनेको जनसभा स्थगित गरेको छ । कोरोना भाइरसको सङ्क्रमणको त्रास बढेसँगै बुधबार (आज) सहिद स्मृति पार्क सुखानीमा गर्ने भनिएको कार्यक्रम स्थगित गरिएको हो ।
सो जनसभालाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो । तर सरकारले सभा, भेला तथा सम्मेलन गर्न नगर्न आह्वान गरेपछि सो कार्यक्रम स्थगित गरिएको नेकपा झापाका अध्यक्ष चिन्तन पाठकले जानकारी गराए । यसअघि सोमबारदेखि बिर्तामोडमा हुने भनिएको प्रदेश १ स्तरीय पार्टीको प्रशिक्षण कार्यक्रम पनि स्थगित गरिएको थियो ।