समाचार

झापामा यस्तो छ प्रजातन्त्र दिवस मनाइने तयारी

दमक/ झापामा ७०औँ प्रजातन्त्र तथा चौथो निर्वाचन दिवस भव्य रुपमा मनाउने तयारी गरिएको छ । जिल्ला समारोह समितिको बैठकले ६, ७ र ८ फागुनमा ७०औँ प्रजातन्त्र र निर्वाचन दिवसलाई भव्य रुपमा मनाउने निर्णय गरेको हो ।
जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलको अध्यक्षतामा बसेको बैठकले ६ फागुनमा भद्रपुर नगरपालिकाभित्रका माविस्तरीय विद्यालयबीच ‘लोकतन्त्र र निर्वाचन’ विषयक वक्तृत्वकला प्रतियोगिता गर्ने निर्णय गरेको छ ।

सोही दिन बिहान मेची अञ्चल अस्पतालमा विराट् सामुदायिक अध्ययन केन्द्रको अगुवाइमा सरसफाइ र सोही दिन बेलुका ६ बजे जिसस अगाडि ट्रेड युनियन चोकमा दीपावली गर्ने निर्णय बैठकले गरेको छ । समितिका संयोजक पोर्तेलले ७ फागुनमा बिहान चन्द्रगढीको लेखनाथ चोकबाट प्रभावतफेरी निकाली जिससको सभाहलमा पुगी राष्ट्रियता झल्कने सांस्कृतिक कार्यक्रम गरिने जानकारी दिए ।

त्यसैगरी, ७ गते बेलुका भद्रपुर जेसिजको आयोजनामा झापा चोकमा दीपावली गर्ने र ८ गते बिहान मेची अञ्चल अस्पतालमा भद्रपुर उद्योग वाणिज्य सङ्घको संयोजनमा बिरामीलाई फलफूल वितरण गरिनेछ ।

बिहीबारको बैठकमा प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगर, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालालगायतकाको उपस्थिति थियो । प्रजिअ रानामगरले सबै स्थानीय तहमा केन्द्रीय र सङ्घीय सरकारले पठाएको निर्देशनअनुसार प्रजातन्त्र र निर्वाचन दिवस मनाउन परिपत्र गरिने जानकारी दिए ।

Author

You may also like