भक्तपुर , नेपाली समाजमा तेलले मालिस गर्ने प्रचलन छ । टाउको दुखे तेल, पेट दुखे तेल, गोडा दुखे तेल, शरीरको हरेक दुखाइमा तेल लगाउने नेपाली चलन छ र यो प्रभावकारी पनि छ । तर हिजोआज तेल लगाउन त्यति रुचाउँदैनन् ।
मालिस भन्नेबित्तिकै तेल लगाउनु हो भनेर बुझ्ने पुरानो पुस्ता अहिले कम छन्, अहिलेकाहरू मालिस भन्नासाथ मसाज र स्पा सेन्टर सम्झन थाल्छन् । जब कि हाम्रो शरीरका लागि परम्परागत तरिकाले तेल लगाउनु निकै फाइदाजनक हुन्छ । खास गरी राति सुत्नुअघि पैतालामा मालिस गर्नाले स्वास्थ्यसम्बन्धी थुप्रै फाइदा प्राप्त हुन्छन् ।
पैतालाको समस्या हट्छ : मालिस शरीरका लागि फाइदाजनक छ । तर धेरैलाई थाहा नहुन सक्छ, पैतालामा सही तरिकाले गरिने मालिसले शरीर स्वस्थ राख्न मद्दत गर्छ । खासमा पैतालामा नरिवलको तेलले मालिस गर्नाले नसामा फाइदा मिल्छ । यसबाट गोडासम्बन्धी धेरै समस्या हट्छन् । पैताला र गोडा दुखिरहने समस्या छ भने नरिवलको तेल तताएर नियमित मालिस गर्दा समस्याबाट छुटकारा पाउन सकिन्छ ।
रक्तसञ्चारमा सुधार : हाम्रो शरीरमा बगिरहने रगतले शरीरका कोशिकाहरूमा अक्सिजन एवं पोषण पुर्याउने काम गर्छ । यति मात्र नभई शरीरका विकार एवं विषाक्त पदार्थहरूलाई शुद्ध पार्ने काम गर्छ । जब कुनै व्यक्ति तनावमा हुन्छ, उसको रक्त प्रवाह सीमित हुन्छ, यस्तो स्थितिमा पैतालाको मालिस निकै फाइदाजनक हुनसक्छ किनभने मालिस गरेपछि रक्त प्रवाह बाधाविना जारी रहन्छ । रक्तचाप कम भएका बिरामीहरूले राति सुत्नुभन्दा १० मिनेटअघि पैतालामा मालिस गर्नुपर्छ । यसो गर्नाले मुड स्विङ एवं तनावको समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।
जोर्नीको दुखाइबाट राहत : सामान्यतया हातगोडा वा शरीरको दुखाइ भएको अवस्थामा तेल मासिसको सहारा लिइन्छ, जुन फाइदाजनक पनि हुन्छ । जोर्नी दुखाइबाट पीडित भएकाहरूले राति सुत्नुअघि पैतालामा तेल लगाएर मालिस गर्दा आराम मिल्छ । नियमित रूपमा यसो गर्दा जोर्नीको दुखाइबाट छुटकारा पाउन सकिन्छ ।
शरीरबाट गैरजरुरी एसिड बाहिर निस्कन्छः खासमा के हुन्छ भने नियमित २० मिनेट पैतालामा मालिस गरियो भने मांशपेशीमा विद्यमान ल्याक्टिक एसिड बिस्तारै नाश हुन थाल्छ । केही गरी यस्तो एसिड हाम्रो पैताला तथा मांशपेशीमा रहिरह्यो भने त्यसले अन्य थुप्रै समस्यालाई निम्त्याउँछ ।
टाउको दुखाइमा आराम : पैतालाको नसा सीधा रूपमा मस्तिष्कसँग जोडिएको हुन्छ । यसकारण पैतालामा तेल लगाएर मालिस गर्दा टाउको दुख्न कम हुन्छ । खासमा राति सुत्नुभन्दा १५ मिनेटअघि तेल लगाएर पैताला मालिस गर्दा दिमाग शान्त हुन्छ । भोलिपल्ट बिहान उठ्दा तरोताजा भएर उठ्न र राम्रो तरिकाले काम गर्न सकिन्छ ।
मोटोपनाबाट जोगिने आठ उपाय
मोटोपनाले अचेल धेरैलाई सताउने गरेको छ । विभिन्न उपाय अपनाउँदा पनि मोटोपना नघटेर हैरान हुनेहरुको जमात पनि उत्तिकै छ। तर, बेलैमा ध्यान दिन सके यस्तो समस्याबाट जोगिन सकिन्छ ।
१) शारीरिक व्यायाम प्रशस्त मात्रामा गर्ने । जस्तै, नियमित १ घण्टा हिँड्ने, खेतबारीमा काम गर्ने, खेलकुदमा भाग लिने, पौडी खेल्ने ।
२) गुलियो र चिल्लो खानेकुरा (चिनी, मिठाई, घिउ, वटर, चीज, पनिर, तेल आदि) को सेवन अत्यन्त कम गर्ने ।
३) खाना खानुअघि एक कचौरा हरियो सलाद खाने बानी बसाल्ने ।
४) रातको खानामा २ वटा रोटी, १ कचौरा हरियो सागसब्जी, सलाद र सुप खाने ।
५) पानी पर्याप्त मात्रामा पिउने ।
६) धूमपान, मद्यपान तथा सूर्तीजन्य पदार्थ (रक्सी, चुरोट, खैनी, पान, सूर्ती, बिँडी आदि) को सेवन नगर्ने ।
७) खानामा रोटी भातको मात्रा २०–४० प्रतिशत तथा हरियो सागसब्जी र सुपको मात्रा ६०–८० प्रतिशत मिलाएर खाने ।
८) योग, ध्यान, प्राणयाम गर्ने र तनावयुक्त जीवन जिउने । सूर्य नमस्कार, अनुलोमविलोम, कपालभाती, भस्त्रिका आदि नियमितत गर्ने ।