भक्तपुर, सूर्यविनायक नगरपालिका वडा ९ भातेढिकुर स्थित मदरल्याण्ड स्कुलका संचालक प्रिन्सिपल संजय खड्कालाई राष्ट्रीय शिक्षा सेवा सम्मान–२०७६ प्रदान गरिएको छ । शनिबार राजधानीको रसियन कल्चर सेन्टरमा गरिएको एक कार्यक्रम बीच खड्कालाई निरन्तर १५ वर्ष देखि शिक्षा क्षेत्रमा लागेर युवा अवस्थामा नै शिक्षाको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन गराउन र देशको शैक्षिक स्तरलाई सुदृढ पार्न गरेको सेवाको कदर गर्दै नागरिक एकता समाजले सम्मान प्रदान गरेको हो ।
पूर्व सभामुख एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेवाङ ज्यूबाट सम्मान प्रदान गरिएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रका २३ जनालाई सम्मान गरिएको थियो । वरिष्ठ मृगौला विशेषज्ञ डा. ऋषिकुमार काफ्ले, नेपाल विद्युत प्राधिकरणका निवर्तमान निर्देशक रविन्द्र महासेठ, वरिष्ठ गायिका कुन्ती मोक्तान, नागरिक दैनिककी वरिष्ठ संवाददाता रुवा रौनियार लगाएतलाई सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा नागरिक एकता समाजका अध्यक्ष सिताराम कार्कीले विभिन्न क्षेत्रमा उल्येख्य योगदान पुराउनु हुने विशिष्ट व्यक्तित्वहरुलाई विधागत रुपमा सम्मान गरिएको बताए । साथै वडा दशैँ २०७६ को शुभ अवसर पारेर आयोजना गरिएको सो कार्यक्रममा चर्चित कलाकारहरुद्वारा विशेष सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।