काठमाडौं, मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग लगायतको बाँकी काम पूरा गर्नका लागि चिनियाँ कम्पनी सिनो हाइड्रोसँग आइतबार सम्झौता भएको छ । राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी परियोजनाको काम बीचैमा अलपत्र छाडेर इटालियन कम्पनी सिएमसी भागेपछि सरकारले चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता गरेको हो ।
विगतमा सिएमसीले काम पाउँदा दोस्रो नम्बरमा रहेको सिनो हाइड्रो पुनःमेलम्चीमा फर्किएको छ । सिएमसीले अलपत्र पारेको कामको जिम्मेवारी १२ महीनामा पूरा गर्ने गरी कूल ८५ करोड एक लाख ९४ हजार ४५८ रुपैयाँमा जिम्मा लिएको हो । द्विपक्षीय सम्झौतामा मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री र सिनो हाइड्रो कर्पोरेशनका तर्फबाट वाङ हुवाले हस्ताक्षर गर्नुभयो ।
सिनो हाइड्रोले सिएमसीले काम गर्दागर्दै छाडेको अम्बाथान, ग्याल्थुम र सिन्धुको कूल १ दशमलव ४ किलोमिटर सुरुङको बाँकी सबै काम सम्पन्न गर्नुपर्नेछ । सम्झौताअनुसार सिनो हाइड्रोले सुरुङमार्गतर्फ सुरुङको अन्तिम संरचना निर्माण, डाइभर्सन सुरुङ र अडिट सुरुङको लाइनिङ र फिनिसिङ, अडिट सुरुङसम्मको पहुँचमार्ग सुधार गर्ने जिम्मा लिएको छ । सिनोसँग बाँकी काम गर्ने विषयमा सम्झौता भएको र बाँध निर्माणतर्फको सम्झौता पनि केही दिनभित्रै गर्ने तयारी भएको छ ।
बाँधतर्फ पानी थुन्ने इन्टेक संरचना, पहुँच मार्गको सुधार, कफर ड्यामको डिजाइन र निर्माण, पहुँचमार्ग लगायतका काम गर्नुपर्नेछ । चिनियाँ कम्पनीले ठेक्का पाउनुभन्दा पहिल्यै आयोजनास्थलको स्थलगत निरीक्षण गरी आवश्यक समन्वय गरिदिन सरकारसँग आग्रह गर्दै आएको छ । स्म्झौता भएलगत्तै आयोजना स्थलमा परिचालन भएर काम शुरु गर्ने विश्वाससमेत चिनियाँ कम्पनीले दिलाएको छ ।
विशेष गरी नेपालको जलविद्युत् आयोजनामा प्रभावकारी काम गरेको भनेर प्रशंसा पाएको सिनो हाइड्रोसँगको सम्झौता पछि मेलम्ची खानेपानी आयोजनाले गति लिने विश्वास मन्त्रालयले लिएको छ । सिएमसीले अलपत्र पारेपछि सरकारले विशेष निर्णय गरेर बाँकी रहेको काम १० वटा प्याकेजमा सक्ने गरी विभाजन गरेको छ ।
सरकारले आवश्यक तयारी गरी जनशक्ति, प्राविधिक उपकरण तथा अन्य व्यवस्थापन गरेर तत्काल काम थाल्नसमेत चिनियाँ कम्पनीलाई आग्रह गरेको छ ।