काठमाडौँ, आज सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिँदैछ । नेपालका ७७ वटै जिल्लाहरु खुला दिसामुक्त घोषणा भइसकेको छ । उक्त घोषणासँगै नेपाल दक्षिण एसियाली राष्ट्रहरु मध्ये नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुनेमा पहिलो हुने भएको छ ।
खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले यसै आर्थिक वर्षभित्र नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने सरकारको नीति तथा कार्यक्रम रहेकाले त्यो लक्ष्य पुरा भएको बताउनुभयो ।
मन्त्री मगरले भन्नुभयो, ‘नेपाल दक्षिण एसियाको पहिलो खुला दिसामुक्त राष्ट्र बन्नेछ । सुन्दा अचम्म लागेपनि यसको महत्व के हो भनेर बुझ्नु जरुरी छ । नेपाललाई खुला दिसामुक्त घोषणा गरिसकेपछि हामी पूर्ण सरसफाइको अभियान तर्फ अग्रसर हुनेछौं ।’ खानेपानी मन्त्रालयका अनुसारअनुसार हालसम्म देशका कूल ५६ लाख ६० हजार २ सय १४ घरधुरीहरुमा शौचालय बनिसकेका छन् ।