एजेन्सी, अष्ट्रेलियामा शुक्रबारबाट सामाजिक सञ्जाल फेसबुकले प्रयोगकर्ताको पोस्टमा लाइकको संख्या लुकाउने भएकोे छ ।अस्ट्रेलियाका प्रयोगकर्ताले अर्काको पोस्टमा गरिएका लाइकको संख्या वा जनाइएका प्रतिक्रिया हेर्न नपाउने जनाइएको छ ।
प्रयोगकर्तामाझ सामाजिक दबाव घटाउने प्रयासस्वरूप लाइकको संख्या घटाउन चाहेको फेसबुकको भनाइ छ । आफ्ना पोस्टमा चाहिँ गरिएका लाइकको संख्या प्रयोगकर्ताले हेर्न पाउने कम्पनीले जनाएको छ ।
कम्पनीकी प्रवक्ता मिआ गार्लिकले अस्ट्रेलियन एसोशिएटेड प्रेसलाई भनिन्, ‘लाइक वा पोस्टमा जनाइएका प्रतिक्रियाको संख्यामा भन्दा अन्तरक्रिया तथा विषयस्तुको गुणस्तरबारे मान्छेले ध्यान दिऊन् भनेर हामीले संख्याको कुरा हटाउन लागेका हौँ ।’