दमक/ सोमबार बेलुका दमकको रतुवाखोला किनारमा ब्रतालुहरुको भिड थियो । सबै आफ्ना आफ्ना पूजा सामग्री सहित ब्रतमा ध्यानमग्न थिए । खोला किनारमा बनाइएको पूजा मण्डपमा दियो र बात्ती बालेर आधा शरिर पानीमा डुवाएर अस्ताउँदो सूर्यलाई अर्घ चढाउँन ब्यस्त देखिन्थे । ब्रतालुहरुले उदाँउदोे सूर्यको पूजाआराधना गरी अर्घ दिएसँगै छठ पर्व समापन भएको छ । पूर्वी तराईका जिल्लामा पनि छठ पर्वलाई उल्लासमय मनाइएको छ । घरआँगनदेखि नदी, खोला, पोखरी र सिँचाइका नहर किनारमा रहेका घाट सिँगारिएका थिए । तेस्रो रातदेखिनै छठका गीतले तराईका बस्ती गुञ्जायमान थिए भने व्रतालुहरू पूजाका सामग्री बगरमा फिँजाएर रातभर जाग्रम बसेका थिए ।
झापाका मेची नदीकिनार, विर्तामोडको अदुवाखोला, माई नदीका किनार, दमकमो रतुवा मावा किनार गौरादह, गौरिगञ्ज लगायतका स्थान छठकोलागि बेहुली झै सिँगारिएका छन् । झापासहित पूर्वी तराइका जिल्लाहरु सुनसरीको सप्तकोशी नदी किनार, इटहरीको बूढीखोला, विराटनगरको सिंघीया खोलालगायत पूर्वी नेपालका विभिन्न नदी तथा जलाशयमा छठ पूजा गरिएको छ ।
छठको तेस्रो दिन बेलुका अस्ताउँदो र भोलीपल्ट उदाउँदो सूर्यलाई अर्घ दिँदै सूर्यदेव तथा छठी माताको पूजा गर्ने परम्परा अनुसार नै छठ पर्व समापन भएको हो । ठेकुवा, कसार, फलफूल, नरिवल, उखु, केरा, भोगटेलगायतका प्रसाद सूर्यदेव तथा छठी मातालाई अर्पण गरिएको छ ।
पर्वका अवसरमा व्रतालुहरूले परिवारको सुख, शान्ति, सुस्वास्थ्य, सन्तान प्राप्ति तथा सन्तानको दीर्घायु र समृद्धिको कामना गर्दै अस्ताउँदो र उदाउँदो सूर्र्यको पूजा गरी अर्घ दिएर छठ पर्व मनाउने चलन छ ।
पर्वको मुख्य दिन अर्थात तेस्रो दिन सूर्यदेवको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइयो । मिथिलाञ्चलमा विशेष पर्वको रुपमा मनाईने छठ पछिल्लो समय तराई मधेशका अन्य जिल्लाहरुका साथै काठमाडौं उपत्यका र पहाडी जिल्लाहरुमा समेत मनाउन थालिएको छ ।
छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाउने गरिन्छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतका अनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् भनिएको छ । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको जनविश्वास गरिन्छ ।
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । केही दशकअघिसम्म तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरुप ग्रहण गरेको छ । जनकपुर, विरगंज, लहान, राजविराज, मलंगवा, जलेश्वर, सिमरालगायतका शहरमा छठको विशेष रौनक छाएको थियो ।