नेपालीहरूको महान् चाड बडा दशैं हाम्रो घरआँगनमा भित्रिसकेको छ । वर्षभरिका थकाइ, व्यस्तता र जिम्मेवारीहरूलाई केही क्षणका लागि थाती राखेर आफन्तजनहरूसँग भेटघाट गर्ने, मान्यजनबाट आशीर्वाद लिने र खुसी साटासाट गर्ने यो पावन अवसरमा हामी आम पाठक, लेखक, विज्ञापनदाता, शुभचिन्तक, कर्मचारी तथा समस्त देशवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
दशैं केवल एउटा चाड मात्र होइन, यो नेपाली समाजको जीवन्त संस्कृति, परम्परा र सामाजिक एकताको अनुपम दस्तावेज हो । असत्यमाथि सत्यको र अन्यायमाथि न्यायको विजय भएको खुसियालीमा मनाइने यो पर्वले हामीभित्रका नकारात्मक सोच, अहंकार र कुसंस्कारलाई परास्त गरी सकारात्मक ऊर्जा सञ्चार गर्न प्रेरणा दिन्छ । टाढाटाढा कर्मथलो वा अध्ययनका लागि पुगेका घरपरिवारका सदस्यहरू एकै ठाउँमा जम्मा भएर टीका र जमरा ग्रहण गर्ने, पिङ खेल्ने र मिष्ठान्न भोजन गर्ने परम्पराले हाम्रा पारिवारिक सम्बन्धहरूलाई अझ प्रगाढ र सुदृढ बनाउँछ ।
यस विशेष अवसरमा, हामी हाम्रो दैनिक पत्रिका पूर्वसन्देश परिवारको तर्फबाट सबैभन्दा पहिले हाम्रा आम पाठक वर्गप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छौं । तपाईहरूको निरन्तरको साथ, विश्वास, माया र रचनात्मक प्रतिक्रियाले नै हामीलाई निष्पक्ष, सत्य र जिम्मेवार पत्रकारिताको बाटोमा अडिग रहन निरन्तर बल प्रदान गरेको छ । पाठकहरूको यही विश्वास हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो । त्यसैगरी, आफ्ना बौद्धिक सिर्जना, विचार र विश्लेषणात्मक लेखमार्फत समाजलाई सही दिशाबोध गराउनुहुने हाम्रा लेखक, स्तम्भकार तथा विश्लेषकहरूप्रति हामी उच्च सम्मान ब्यक्त गर्दछौं ।
हाम्रो यस पत्रकारिताको यात्रामा हातेमालो गर्दै निरन्तर विज्ञापन र व्यावसायिक सहकार्य गर्नुहुने हाम्रा विज्ञापन दाताहरू पनि यस सफलताका महत्वपूर्ण साझेदार हुन् भन्ने हाम्रो बुझाइ छ, आगामी दिनमा पनि यस्तै सहकार्यको अपेक्षा राख्दछौं । साथै, विषम परिस्थितिमा समेत घरायसी समस्याको पर्वाह नगरी, दिनरात नभनी समाचार संकलन, सम्पादन, मुद्रण र वितरण कार्यमा अहोरात्र खट्नुहुने हाम्रा सम्पादकीय कक्षका साथीहरू, प्राविधिक कर्मचारीहरू तथा बजार व्यवस्थापनमा खटिने सम्पूर्ण कर्मयोगीहरू नै यस संस्थाका असली मेरुदण्ड हुन् । तपाईहरूको असीम लगनशीलता र मेहनतबिना यो यात्रा यहाँसम्म आइपुग्न सम्भव थिएन । यसका साथै, हामीलाई निरन्तर मार्गदर्शन र शुभकामना दिने सम्पूर्ण शुभचिन्तकहरूप्रति पनि हामी सधैं आभारी छौं ।
तर, यस्ता महान् चाडपर्वहरू मनाइरहँदा हामीले समाजका केही यथार्थ पक्षहरूलाई बिर्सनु हुँदैन । पछिल्लो समय देशमा देखिएको आर्थिक मन्दी, महँगी, रोजगारीको अभाव र यसले निम्त्याएको बाध्यकारी वैदेशिक रोजगारीका कारण कतिपय परिवारका लागि दशैं पहिले जस्तो उल्लासमय बन्न सकिरहेको छैन । चाडपर्वको मुखमा पनि आफ्ना प्रियजनहरूलाई विदेशको भूमिमा छाडेर चाड मनाउन बाध्य नेपालीहरूको पीडालाई हामीले महसुस गर्नुपर्छ  ।
अन्त्यमा, बडा दशैं २०८३ ले हामी सबैमा आपसी मेलमिलाप, भाइचारा, सहिष्णुता र राष्ट्रप्रतिको अगाध प्रेम अझ प्रगाढ बनाओस् । यो पर्वले हामीलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाज र राष्ट्रको चौतर्फी विकासका लागि एकजुट भएर अगाडि बढ्ने प्रेरणा प्रदान गरोस् भन्दै सम्पादक मण्डल, पूर्वसन्देश दैनिक परिवारको तर्फबाट सम्पूर्ण महानुभावहरूमा सुस्वास्थ्य, दीर्घायु, उत्तरोत्तर प्रगति र समृद्धिको पुनः हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

Author

You may also like