देश–समाज समाचार स्थानीय स्वास्थ्य

थुलुङ डेन्टलको शुभकामना आदानप्रदान कार्यक्रम

– ग्रामिण भेगका विपन्न लक्षित शिविर सञ्चालन – आवश्यकताअनुसार विद्यालयमा पुस्तकालय – दन्त उपचारका भ्रम र यथार्थ चिर्ने लक्ष्य


दमक ।
झापाको दमक–६, बेलडाँगी रोडस्थित थुलुङ डेन्टलले ७० वर्षमाथिका ज्येष्ठ नागरिक, विपन्न व्यक्ति, मिडियाकर्मी तथा विद्यार्थीलाई लक्षित गरी निःशुल्क दन्त परीक्षण सेवा उपलब्ध गराउने घोषणा गरेको छ । आउँदै गरेका चाडपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा दन्त विशेषज्ञ डा. सोफिया थुलुङले यस्तो जानकारी दिएकी हुन् ।
डेन्टलको सभाकक्षमा आयोजित कार्यक्रममा सञ्चारकर्मी तथा डेन्टल परिवारका सदस्य सहभागी थिए । कार्यक्रममा डा. थुलुङले दन्त उपचारसम्बन्धी भ्रम हटाउँदै सही जानकारीका आधारमा उपचार गराउनुपर्नेमा जोड दिइन् । आकर्षक विज्ञापन र अरूको अनुभवका आधारमा उपचार छनोट गर्नुभन्दा योग्य चिकित्सकसँग परामर्श लिएर आफ्नो दाँतको अवस्थाअनुसार उपचार गर्नुपर्ने उनले बताइन् ।


दाँत दुख्दा उपचार खर्च र पीडाको डरले धेरैले चिकित्सक कहाँ जान ढिलाइ गर्ने गरेको उल्लेख गर्दै उनले समयमै परीक्षण गराउँदा समस्या जटिल हुनबाट जोगाउन सकिने बताइन् । रुट क्यानल उपचार पनि दाँतको अवस्था र संक्रमणको गम्भीरताअनुसार एक वा दुई पटकको भेटमा पूरा हुन सक्ने भए पनि कतिपय अवस्थामा थप समय लाग्ने उनले बताइन् ।
डा. थुलुङले आर्थिक अभावका कारण कोही पनि आवश्यक दन्त परीक्षणबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले निःशुल्क सेवाको घोषणा गरिएको बताइन् । निःशुल्क सेवामा समावेश उपचार तथा सेवा प्राप्त गर्ने मापदण्डबारे क्लिनिकमा सम्पर्क गरेर जानकारी लिन सकिने जनाइएको छ ।
उनका अनुसार थुलुङ डेन्टलमा दुई जना पूर्णकालीन दन्त चिकित्सकसहित करिब आधा दर्जन विशेषज्ञले सेवा दिँदै आएका छन् । क्लिनिकले सहरभन्दा गाउँका विद्यालयका विद्यार्थीलाई लक्षित गरी दन्त स्वास्थ्य शिविरसमेत सञ्चालन गर्दै आएको छ । ४० भन्दा बढी विद्यालयमा दन्त शिविर सञ्चालन भईसकेको छ । हरेक पालिकामा शिविर सञ्चालन गरिएका विद्यालयमध्ये एउटा छनोट गरी पुस्तकालय स्थापना गर्ने योजना रहेको र केही स्थानमा पुस्तकालय बनिरहेको जानकारी पनि गराईन ।
बुबाले दमकमा दन्त उपचार क्षेत्रमा पु¥याएको योगदान र त्यसको पहिचान जोगाउने प्रेरणाले आफूलाई सेवामा निरन्तर लाग्न उत्साहित गरेको डा. थुलुङले बताइन् । आमाको भावनालाई प्रेरणाका रूपमा लिँदै व्यावसायिक आम्दानीभन्दा सेवाभावलाई प्राथमिकता दिएको उनले बताइन् ।

Author

You may also like