देश–समाज राजनीति राष्ट्रिय समाचार स्थानीय

कांग्रेसको १५औँ महाधिवेशन : ७ हजार ११४ प्रतिनिधिको नाम सार्वजनिक, संशोधित विधान पारित

केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाउने प्रस्ताव, सहमहामन्त्री १५ जना रहने
दमक । नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने ७ हजार ११४ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिको नामावली सार्वजनिक गरेको छ। पार्टीले आफ्नो आधिकारिक वेबसाइटमार्फत निर्वाचन प्रयोजनका लागि प्रतिनिधिहरूको प्रथम नामावली सार्वजनिक गरेको हो।
काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत सोमबारको बन्दसत्रले महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गरेको संशोधित विधान पारित गरेको छ। संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय रहने व्यवस्था गरिएको छ।
नयाँ व्यवस्थाअनुसार सभापति एक, वरिष्ठ उपसभापति एक र उपसभापति चार जना रहनेछन्। उपसभापतिमध्ये एक जना महिला अनिवार्य गरिएको छ। त्यस्तै, महामन्त्री तीन जना रहनेछन्, जसमा एक जना महिला अनिवार्य हुनेछिन्। सहमहामन्त्रीको संख्या १५ पुर्‍याइएको छ।
कोषाध्यक्ष केन्द्रीय सदस्यमध्येबाट एक जना चयन हुनेछन् भने प्रवक्ता र सहप्रवक्ताको व्यवस्था पनि गरिएको छ।
केन्द्रीय सदस्यतर्फ खुला समूहबाट ४५ जना तथा महिला खुलातर्फ १५ जना रहने व्यवस्था गरिएको छ। प्रदेशबाट एक महिलासहित चार जना प्रतिनिधित्व गर्ने व्यवस्था गरिएको छ। उपत्यकाबाट पनि एक महिलासहित दुई जनाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ।
समावेशीतर्फ दलितबाट १४, आदिवासी जनजातिबाट २०, खस–आर्यबाट १८, मधेसीबाट १३, जनसम्पर्क समितिबाट सात, पिछडिएको वर्गबाट तीन, थारूबाट छ, श्रमिकबाट तीन र पेशागत विज्ञबाट सात जना रहने व्यवस्था गरिएको छ। त्यस्तै, सातै प्रदेशबाट ३५ वर्षमुनिका २१ जना युवा केन्द्रीय कार्यसमितिमा रहनेछन्। अपाङ्गता भएका व्यक्तिबाट एक जना तथा प्रजातन्त्र सेनानीबाट तीन जना रहने व्यवस्था गरिएको छ।
केन्द्रीय कार्यसमितिले थप ६६ जना मनोनीत गर्ने व्यवस्था पनि विधानमा राखिएको छ।
सहमहामन्त्री १५ जना
संशोधित विधानअनुसार कांग्रेसमा सहमहामन्त्रीको संख्या १५ जना हुनेछ। समावेशी समूहबाट नौ, खुलातर्फ दुई र सभापतिबाट मनोनीत चार जना सहमहामन्त्री रहने व्यवस्था गरिएको छ।
महिला, आदिवासी जनजाति, दलित, मधेसी, खस–आर्य, थारू, मुस्लिम, पिछडिएको क्षेत्र तथा अल्पसंख्यकरअपाङ्गता समुदायबाट एक–एक जना सहमहामन्त्री चयन हुनेछन्। सभापतिले एक महिलासहित चार जना सहमहामन्त्री मनोनीत गर्न सक्ने व्यवस्था गरिएको छ।
तीन समूहमा विभाजन गरी बन्दसत्र
१५औँ महाधिवेशनको बन्दसत्र प्रतिनिधिहरूलाई हिमाल, पहाड र तराई–मधेश गरी तीन समूहमा विभाजन गरेर सञ्चालन गरिएको छ। त्यसका लागि हिमाल हल, पहाड हल र तराई–मधेश हल निर्धारण गरिएको छ।
हिमाल हलमा कोशी प्रदेशका १ हजार ११७, कर्णालीका २९९ र गण्डकीका ७१५ गरी २ हजार ३३१ प्रतिनिधि सहभागी छन्। पहाड हलमा बागमतीका १ हजार २१७ र लुम्बिनीका १ हजार ९ गरी २ हजार २२६ प्रतिनिधि सहभागी छन्।
त्यस्तै, तराई–मधेश हलमा मधेश प्रदेशका १ हजार २५६, सुदूरपश्चिमका ६५०, जनसम्पर्क समितिका २४५ तथा भ्रातृ संगठनका २२५ प्रतिनिधि सहभागी छन्।
बन्दसत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गरेको पार्टी सञ्चालन तथा विधानसम्बन्धी प्रस्ताव र उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको समसामयिक प्रस्तावमाथि छलफल भइरहेको छ।
नेतृत्व विकासलाई प्राथमिकता
कांग्रेसले आगामी निर्वाचनमा उम्मेदवार छनोट गर्दा नेतृत्व विकास र क्षमता अभिवृद्धिलाई प्राथमिकता दिने नीति अघि सारेको छ। नेतृत्व एकेडेमीबाट प्रशिक्षण तथा अध्ययन पूरा गरेका व्यक्तिलाई उम्मेदवार बनाउने अवधारणा अघि सारिएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्।
कांग्रेसले सक्षम नेतृत्व निर्माण तथा सुशासन प्रवर्द्धनमा यसबाट सहयोग पुग्ने अपेक्षा गरेको छ। राजनीतिक प्रस्तावमा आगामी चार वर्षका लागि पार्टीको कार्यदिशा, सरकार, देशको समग्र अवस्था तथा अन्तर्राष्ट्रिय सम्बन्ध र दृष्टिकोण समेटिएको बताइएको छ।
यसैगरी, नयाँ विधानमा पार्टीका विभिन्न तहको संरचना र निर्णय प्रक्रियालाई थप व्यवस्थित गर्ने तथा वडा, क्षेत्र र जिल्ला तहमा थप पद सिर्जना गर्ने प्रस्ताव गरिएको छ।
विधान पारित भइसके पनि सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन भने मंगलबारको बन्दसत्रबाट पारित हुने बताइएको छ। मंगलबार बिहान १० बजेदेखि उम्मेदवारी मनोनयन प्रक्रिया सुरु हुने कांग्रेसले जनाएको छ।

Author

You may also like