नरेन रिजाल
जनइच्छा अनुसार कार्य गर्नु र जनतालाई सर्वोपरि ठानेर शासन सञ्चालन गर्नु नै सफल सरकारको मुल धर्म हो । विगत लामो समय देखि विभिन्न पार्टीका सरकारहरूको शासन सत्ता देख्दै र भोग्दै आएका जनताले कहाँ, कहिले, किन र के का लागि शासन चलेछ, कसरी चलेछ भन्ने कुराको मुल्यांकन गर्दै आएका छन् । त्यसको परिणाम स्वरूप तत्कालिन पार्टी तथा नेताले नतिजा पनि भोगिसकेका छन् । त्यसैले प्रजातान्त्रिक शासन प्रणालीमा जनआकांक्षा विपरित कार्य गरियो भने पार्टी, नेता कसैको पनि अस्तित्व संकटमा पर्नु अस्वभाविक होइन । वर्तमान समयमा नयाँ पार्टीको सरकार छ । यसको कार्यशैलीलाई विगत ५÷६ महिनादेखि जनताले नियालिरहेका छन् । यो अवधिमा जनताले प्रत्यक्ष रूपमा महसुस गर्ने र अनुभव गर्ने कार्यहरू के भए अनि के भईरहेका छन् ? सत्तामा आशिन भैसके पछि सरकार सञ्चालनमा विधी, प्रकृया, अनुभव, नैतिकता, सहनसिलता, दुरदर्शिता आदीको खाँचो हुन्छ । त्यसकारण पनि जनताको आशा र भरोसा सरकार हो। हरपल मुल्यांकन जरूरी हुन्छ ।
हालै भोटेकोशीमा भएको भिषण बाढीबाट धेरै धनजनको विनास भएको छ । यस्तो अवस्थामा जनताको अभिभावक सरकार हो । सरकारले अभिभावकत्व निर्वाह गर्नु, समस्यामा परेका सबैलाई समयमा उद्धार गर्नु, राहत वितरण गर्नु, खोजतलास गरि आफन्तजन समक्ष पिडितलाई पु¥याउनु जरूरी देखिन्छ । यस्ता कार्यलाई स्टन्टबाजीको रूपमा नलिई मानविय सेवाभावले कार्य गर्नु सरोकारवालाको उत्तरदायित्व र कर्तब्य दुबै हो । तर सरोकारवाला बाट नै लास घर घरमा पु¥याउनु अनि फ्रिजमा सजाएर राखुन् भन्ने अभिब्यक्तिले आगोमा घ्यु थपे झै भएन र ? त्यस्ता माननियलाई यस्तो पिडा पन्यो भने अरुले यस्तो अभिब्यक्ति ओकल्दा फरक पर्ला कि नपर्ला ? बाढी पिडित बनेका आफन्तजनले सहयोगको अपेक्ष सहित हारगुहार गर्दा सामाजिक सञ्जाल प्रयोगकर्ताको तुच्छ, घृणित, अपशब्द मान्य ज्यूहरुलाई पाच्य हुन्छ ? उनीहरूले सहि लेखे वा बोले जस्तो लाग्छ ? किन, कसरी, के कारण नेपाली समाज दिनानुदिन घृणित, पतित, कृतग्न व्यभिचारी बन्दै गइरहेको छ ? के लोकतन्त्र, गणतन्त्र यहि हो ? स्वतन्त्रताको नाममा जस्ले जसलाई जे गरे, जे भने पनि हुन्छ ? छाडा प्रकृतिलाई समय मै अंकुस लगाउनु र दण्डको व्यवस्था गर्नु सरकारको कर्तव्य हो । हुन त माननियहरू नै आर्मी, पुलिस हप्काउने, कोहि घिसार्न तयार हुने भने कोही स्थानिय निकायसँग पौठेजोरी खेल्न पुग्छन । यस्तो नाटक के का लागि ? मान्यज्यू संसद संयमता देखाउने ठाउँ हो। नैतिकता देखाउने थलो हो। के यो रिल जीवन हो ? वा रियल जीवन हो ? रिल जीवन हो भने २ घण्टामा फिल्म सकिन्छ तर रियल जीवन हो भने मान्यज्यू नीति बनाउनुहोस । कानून बनाउनुहोस । लागु गर्नुहोस । जनतालाई सुसासन दिलाउनुहोस् नकि आपसमा झगडा ।
दुधे बच्ची बलात्कार हुन्छिन्, अनि मारिन्छन् भने सुरक्षित को छ यहाँ ? पहरा दिने मान्छे बलात्कारी बन्छ । अपराधी बन्छ, अनि निर्धक्कसाथ विजयी झै गरेर गर्वसाथ बयान दिन्छ । रत्तिभर पश्चाताप छैन । यसको तात्पर्य सरोकारवालालाई चुनौती दिएको त हैन ? तपाईलाई अरु के भर्नु – बेरोजगार उस्तै छ । भ्रष्टाचार उस्तै छ । आत्महत्या मौलाएकै छ। शिक्षा क्षेत्र लथालिंग छ । महंगी चुलिँदो छ । किसानको कथा, उद्यमीको व्यथा, बेग्लै छ। घिसारेर जेलमा सडाउँछु, भ्रष्टाचारीहरूको खाताको पैसा ल्याएर सयौं सिंहदरबार बनाउँछु भन्ने सरकार के जोखना हेरेर बसेको छ, खै ?
ह्याची चार सन्तानकी आमा हो । सुख दुःख गरेर उसले आफ्ना छाउराहरूलाई पाल्दैछे । दिनभरि आहाराको खोजीमा जान्छे । फर्किदाँ चरा चुरुङ्गी वा जंगली जनावर मारेर छाउरालाई ल्याइदिन्छे । सधैं झै आज पनि ऊ आहाराको खोजिमा बाहिर निस्कि । दिनभरि डुल्दा पनि केहि भेट्न सकिन । साँझपख चारैतिर भौतारिदाँ भौतारिदाँ ऊ भोक प्यासले थकित भई । थकित र निरास भएर घरमा आई । वरिपरि हेरी, कतै केहि पनि भेटीना भोक र प्यासले मर्नु न बाँच्नु भएकी थिई । उता हाउराहरू आमा कहिले आउँछे भनेर कुईकुई गरेर पर्खिरहेका थिए । आमालाई देख्ने बित्तिकै रमाउँदै उनिहरु ऊतिर दगुरे । आमा आमा नै हो, आफ्ना प्यारा छाउराहरुलाई दुध चुसाउन तल्लिन भई । आफू भोकै प्यारै भएर पनि वात्सल्य देखाई । उसलाई पीडा भयो। कष्ट भयो । चारैतिर हेरी । सन्नाटा छाएको छ । उसले सोची, सम्झी । रात बिताउनु छ, छाउरा बन्चाउनु छ । उपाय पनि केहि छैन । अनायास उसको मन एउटा उपाय खेल्छ । भोक मेटाउनु छ । यिनै छाउरालाई खाएर भोक टार्नु पन्यो । ऊ आफैसँग सुतिरहेको एउटा छाउरोलाई कोपर्न थाल्छे । । छाउरो कुईकुई गर्छ। । अगाध माया एकातिर छ भने अर्कातिर ज्यान जान लागि सक्यो । आँखामा बलिन्द्र धारा निकालेर फेरी कोपर्छे । पल्ला घरको दयाबिर यो दृश्य हेरिरहेको थियो । हत्तपत्त उठेर दर्गुदै आयो र ह्याचीको मुख समात्यो, घाँटीमा समातेर तान्यो । उसले जोड ग¥यो तर छुटाउन सकेन । आफ्ना बलिया हातले माचीको घाँटी अठ्यायो । अड्याईरह्यो । दयाबिर झल्याँस्स बिउँझियो । उसका दुवै हातहरु आफ्नै श्रीमती मखमलीको घाँटीमा बाँधिएका थिए । मखमली निर्जिव, अन्चल र चिसो भैसकेकी थिई । बितेको समय फर्किदैन, त्यसैले विगतको पाठबाट वर्तमानमा जीउनु पर्छ। वर्तमानको निर्णयले भविश्य अन्धकार नबनोस् । बलियो छु भनेर गलत निर्णय गर्नु मुर्खता हो । सरकार, जनतालाई विकास, शुसासन चाहिएको छ । सरकार अभिभावक हो, घाँटी अठ्याए पनि, अमृत पिलाए पनि । आफुले खनेको खाडलमा आफैं पर्नु शोभायमान हैन र हुँदैन ।
– दमक, झापा