दमक/ धार्मिक आस्था, सामाजिक सद्भाव र एकताको सन्देश बोकेको भव्य रथयात्रा झापाको दमकमा सम्पन्न भएको छ । विभिन्न धर्मावलम्बी, जातजाति, समुदाय, सामाजिक संघसंस्था, राजनीतिक दल, व्यवसायी, युवा तथा सर्वसाधारणको उल्लेख्य सहभागितामा निकालिएको रथयात्राले दमकलाई धार्मिक तथा सामाजिक सहिष्णुताको साझा थलोका रूपमा प्रस्तुत गरेको छ ।
यस वर्षको रथयात्राले मुख्यतः सामाजिक सद्भाव र एकता तथा प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र पीडितप्रति ऐक्यबद्धता गरी दुई महत्वपूर्ण सन्देश प्रवाह गरेको छ ।


रथयात्रा कुनै एक धर्म, जातजाति वा समुदायमा सीमित नभई दमकवासीको साझा उत्सव र अपनत्वको प्रतीकका रूपमा विकास हुँदै गएको आयोजकको भनाइ छ । विभिन्न धार्मिक आस्था र समुदायका मानिसहरू एउटै यात्रामा सहभागी भएर एकअर्काको संस्कृति, परम्परा र विश्वासको सम्मान गर्नुले सामाजिक एकताको सकारात्मक सन्देश दिएको छ ।
रथयात्रा व्यवस्थापन समितिका अनुसार प्रणामी, कबिर, नेपाल मानव धर्म सेवा समिति, किराँत धर्म साहित्य उत्थान, मारवाडी सेवा समिति, इस्कोनलगायत विभिन्न धार्मिक संस्थाका साथै सामाजिक संघसंस्था, राजनीतिक संघसंगठन, खेलकुद संस्था, व्यापारी तथा व्यवसायीका संघसंस्थाले सुरुदेखि नै रथयात्रालाई साझा कार्यक्रमका रूपमा अपनत्व दिँदै आएका छन् ।


यसले रथयात्रा कुनै एक समुदायको मात्र नभई दमक नगरवासीको साझा ‘गहना’ र सामूहिक पहिचानको प्रतीक भएको सन्देश दिएको छ । धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सम्मान, भाइचारा र सहअस्तित्व कायम गर्दै अघि बढ्नु नै रथयात्राको मूल भावना रहेको आयोजकको भनाइ छ ।
यस वर्षको रथयात्राको अर्को महत्वपूर्ण पक्ष मानवीय संवेदनासँग जोडिएको थियो । रसुवाको भोटेकोशी क्षेत्रमा गएको भीषण बाढीका कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै विपत्तिमा परेका परिवार तथा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाइएको थियो ।
बाढीबाट प्रभावितहरूको उपचार, बेपत्ताको खोजी, राहत तथा पुनस्र्थापनाका लागि रथयात्राका क्रममा संकलन हुने भेटी प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने उद्देश्य राखिएको छ । जुन उद्देश्यका लागि रथयात्राका क्रममा बीच बीचमा आधादर्जन बढी दानपेटिमा सहयोग जुटाउन युवा सक्रिय देखिन्थे । साथै क्यूआर कोडमार्फत् समेत सहयोग संकलन गरिएका दृश्य देखिन्थे ।
यसरी धार्मिक परम्परा र आस्थालाई निरन्तरता दिँदै रथयात्रालाई मानवीय सेवासँग जोडिएको हो । विपत्तिमा परेका नागरिकप्रति सहयोग र सहानुभूति प्रकट गर्दै रथयात्राले ‘धर्म फरक हुन सक्छ, तर मानवता सबैको साझा हो’ भन्ने सन्देशसमेत प्रवाह गरेको छ । रथयात्रामा विभिन्न जातजाति तथा समुदायका
दमकमा… मौलिक संस्कृति, कला र परम्परा झल्काउने झाँकी तथा सांस्कृतिक भगवानप्रतिको भक्ति दर्शाउने प्रस्तुति विशेष आकर्षण बनेका थिए । नेवारी समुदायको लाखे नाच, सन्थाल समुदायको नाच, लिम्बू समुदायको च्याब्रुङ नाच, सशस्त्र प्रहरीको ब्याण्ड बाजासहित विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । नेवारी समुदायबाट ठूलो संख्यामा उपस्थित मात्र थिएनन् उनीहरुको आकर्षण छुट्टै देखिन्थ्यो ।
विभिन्न समुदायले आफ्ना मौलिक संस्कृति र पहिचान झल्काउने प्रस्तुति दिँदा रथयात्रा धार्मिक कार्यक्रमसँगै विविधतायुक्त सांस्कृतिक उत्सवमा परिणत भएको थियो ।
रथयात्रामा सहभागी भक्तजनको सेवाका लागि विभिन्न संघसंस्थाको पहलमा ठाउँ(ठाउँमा पानी, सर्वत, फ्रुटी, चिसो पेय पदार्थ तथा फलफूल वितरण गरिएको थियो । स्वयंसेवकहरूले भक्तजनले प्रयोग गरेका पानीका बोतल, फ्रुटी तथा अन्य सामग्रीबाट उत्पन्न फोहोरसमेत संकलन गरेका थिए ।
स्वास्थ्य तथा सुरक्षालाई समेत प्राथमिकतामा राख्दै आकस्मिक अवस्थाका लागि एम्बुलेन्स तयारी अवस्थामा राखिएको थियो भने विभिन्न स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको समेत सहयोग लिइएको आयोजकले बताइरहेका थिए ।
रथयात्रा दिउँसो ठीक २ बजे राधाकृष्ण मन्दिरबाट विधिपूर्वक सुरु गरिएको थियो । नगर प्रहरीको सलामी तथा आरतीपछि रथयात्रा अघि बढाइएको थियो । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र प्रभाव दमकका पाँच कन्यालाई अगाडि लगाइएको थियो । राधाकृष्ण मन्दिरबाट सुरु भएको यात्रा हनुमान मन्दिर, जेसीज चोक, देवकोटा चोक, पशुपति मन्दिर, शंखधर चोक, भृकुटी चोक, रातो पुल, भानुभक्त चोक हुँदै फागुनन्द चोकतर्फ मोडिएको थियो । त्यसपछि दमक नगरपालिका, बेलडाँगी रोड हुँदै पुनः राधाकृष्ण मन्दिरमा पुगेर रथयात्रा विसर्जन गरिएको थियो ।
रथयात्राको मार्गमा पर्ने विभिन्न मुख्य चोक तथा स्थानमा स्थानीयवासीले घरबाटै घडा राखेर स्वागत गरेका थिए । ठाउँ(ठाउँमा आरती तथा प्रार्थनाका कार्यक्रमसमेत आयोजना गरिएको थियो ।
रथयात्रालाई व्यवस्थित र सुरक्षित बनाउन सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा विशेष ध्यान दिइएको थियो । सुरक्षाका लागि सशस्त्र प्रहरी बल पाथीभरा ३८ नम्बर गण, इलाका प्रहरी कार्यालय दमक र दमक नगर प्रहरीसँग समन्वय गरिएको थियो ।
ट्राफिक व्यवस्थापनको जिम्मेवारी ट्राफिक प्रहरी कार्यालय, जीवनचक्र समाज र दमक नगर प्रहरीलाई दिइएको थियो । यसका साथै दमक युथ क्लब, लायन्स क्लब, जेसीज, रोटरी क्लब, लियोलगायत विभिन्न संघसंस्थाका स्वयंसेवक परिचालन गरिएको थियो ।
युवा तथा विभिन्न संघसंस्थाका स्वयंसेवकहरू रथ तान्नेदेखि भक्तजनको व्यवस्थापन, सेवा, सरसफाइ तथा अन्य जिम्मेवारीमा परिचालित भएका थिए । नगरपरिक्रमा पूरा गरेपछि राधाकृष्ण मन्दिर परिसरमा पुगेर रथयात्रा औपचारिक रूपमा समापन गरिएको थियो ।

Author

You may also like