दमक/ दमक नगरपालिकाले नगरको सौन्दर्यीकरण, बजार व्यवस्थापन, यातायात अनुशासन र सार्वजनिक स्थानको व्यवस्थापनलाई व्यवस्थित बनाउन विभिन्न नियम कार्यान्वयनमा ल्याएको छ । नगरपालिकाले अव्यवस्थित तार व्यवस्थापनदेखि पार्किङ, फुटपाथ, फोहोरमैला, सार्वजनिक धुम्रपान तथा मद्यपान र बसपार्क व्यवस्थापन सम्मका विषयमा कडाइँ गर्ने भएको हो ।
नगरप्रमुख रामकुमार थापाका अनुसार सडकका पोलमा छरपष्ट रूपमा रहेका तार व्यवस्थापनका लागि नेपाल टेलिकम तथा अन्य केबल प्रदायक कम्पनीलाई पत्राचार गरी समन्वयमा काम भईरहेको बताएका छन् । रथयात्राका क्रममा प्रयोग हुने मुख्य रुटसमेत लक्षित गरी तार व्यवस्थापनको काम अघि बढाइएको उनले बताए । भदौ २० गते हुने रथयात्राअघि नै आवश्यक काम सम्पन्न गर्ने गरी सम्बन्धित निकायसँग समन्वय भइरहेको नगरप्रमुख थापाको भनाइ छ ।
नेपाल टेलिकम दमकले पनि नगरपालिकाको आग्रहअनुसार रथयात्राको रुटमा पर्ने अनावश्यक पोल तथा तार समयमै व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ । टेलिकमले नगरपालिकालाई पठाएको प्रतिबद्धता पत्रमा दमक नगरपालिका कार्यालयदेखि मामाचोकसम्म फाइबर विस्तारका क्रममा बिग्रिएको सडकखण्ड मर्मतका लागि पनि नगरपालिकासँग समन्वय भइरहेको जनाएको छ ।
यसैबीच नगरसभाबाट स्वीकृत नीति तथा कार्यक्रम र २०८३÷०४÷२७ गते बसेको यातायात तथा ट्राफिक व्यवस्थापन समितिको निर्णयअनुसार नगरपालिकाले बजार तथा सार्वजनिक स्थानमा विभिन्न नयाँ व्यवस्था लागू गरेको छ । यि नियमहरु विगतमा लागु भएको तर जेनजी आन्दोलनपछि स्थिति अस्तव्यस्त बनेकोले पुनः यसलाई व्यवस्थापन गर्न लागिएको नगरप्रमुख थापाले जानकारी दिए ।
नगरभित्र सडक तथा फुटपाथ अवरोध हुने गरी व्यवसाय सञ्चालन गर्न, निर्माण सामग्री राख्न तथा स्वीकृतिबिना विद्युत् पोल र सडकपेटीमा विज्ञापन सामग्री राख्न रोक लगाइएको छ । नियम उल्लंघन गरे सामान जफत् गरी जरिवाना गर्न सकिने नगरपालिकाले जनाएको छ ।
पार्किङ व्यवस्थापनमा पनि कडाइँ गरिएको छ । महिनाको १ देखि १५ गतेसम्म सडकको पूर्वी भाग र १६ गतेदेखि मसान्तसम्म पश्चिमी भागमा एकतर्फी पार्किङ गर्नुपर्ने व्यवस्था गरिएको छ । तोकिएको व्यवस्थाविपरीत पार्किङ गरे नगर प्रहरीले ह्वील लक गरी कारबाही गर्ने भएको छ ।
त्यस्तै, सार्वजनिक स्थानमा धुम्रपान, मद्यपान, खैनी तथा गुट्खा सेवनमा रोक लगाइएको छ । मन्दिर, विद्यालय र स्वास्थ्य केन्द्रको १०० मिटर क्षेत्रभित्र सुर्तीजन्य पदार्थ बिक्री तथा सेवनसमेत निषेध गरिएको छ ।
ठूला मालवाहक सवारीलाई बजार क्षेत्रमा बिहान ९ बजेसम्म र साँझ ५ बजेपछि मात्र प्रवेश गरी लोड–अनलोड गर्नुपर्ने व्यवस्था गरिएको छ । ढुंगा, गिटी र बालुवा ढुवानी गर्दा अनिवार्य रूपमा सामग्री छोप्नुपर्ने तथा मालवाहक सवारीले रिङरोड प्रयोग गर्नुपर्ने नियम छ ।
बसपार्क व्यवस्थापनअन्तर्गत छोटो तथा लामो दूरीका यात्रुवाहक सवारी बसपार्कभित्रै प्रवेश गर्नुपर्नेछ । बसपार्क बाहिर टिकट काउन्टर राख्न तथा तोकिएका सडक क्षेत्रमा यात्रुवाहक सवारी रोक्न निषेध गरिएको छ ।
टेम्पो तथा सिटी सफारीको पहिचानका लागि रंगअनुसार स्टिकरको व्यवस्था गरिएको छ । दमकका दर्ता भएका सवारीलाई हरियो, दर्ता प्रक्रिया बाँकी रहेकालाई पहेँलो र दमकबाहिरका सवारीलाई रातो स्टिकर प्रदान गरिनेछ । नियमअनुसार स्टिकर नलगाई सञ्चालन गरे कारबाही गरिने नगरपालिकाले जनाएको छ । व्यस्त बजार क्षेत्रमा ठेला, सिटी सफारी वा अन्य सवारीबाट अनुमति नलिई मोबाइल व्यापार गर्न पनि रोक लगाइएको छ । त्यस्तो अवस्थामा सामान जफत्, जरिवाना वा दुवै कारबाही हुन सक्नेछ । नगरपालिकाले सडकमा जथाभावी फोहोर फाल्न रोक लगाउँदै घर तथा व्यवसायबाट निस्कने फोहोर स्रोतबाटै वर्गीकरण गर्न आग्रह गरेको छ । घरपालुवा कुकुरलाई सडक तथा पेटीमा दिसापिसाब गराउने कार्यमा समेत रोक लगाइएको छ ।
नगरपालिकाले सडक र बजार व्यवस्थापनसँगै मजदुरको सुरक्षाका लागि मजदुर कल्याण कोष स्थापना गरी कार्यान्वयन प्रक्रिया अघि बढाइएको जनाएको छ । साथै गैरनागरिक, अशक्त, वृद्ध तथा नाबालकलाई टेम्पो तथा सिटी सफारी सञ्चालनमा रोक लगाइएको छ ।
नगरपालिकाले यी व्यवस्था कार्यान्वयनमा नगर प्रहरी परिचालन गर्ने जनाएको छ । नियम कार्यान्वयनसँगै दमकको बजार, सडक र सार्वजनिक स्थानलाई थप व्यवस्थित तथा सौन्दर्यपूर्ण बनाउने नगरपालिकाको लक्ष्य छ ।