अर्थ देश–समाज समाचार स्थानीय

बाह्रकोटीको घरमा लागेको आगो आंशकाको घेरामा, पीडितलाई सहयोग गर्न आग्रह

दमक/ झापाको दमक नगरपालिका–४ जनचेतना टोलमा भएको आगलागीको घटनालाई लिएर पीडित परिवारले चोरीपछि नियोजित रूपमा आगो लगाइएको आशंका गरेका छन् । सुरुमा विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएपनि घरभित्रका सामान बाहिर छरिएको र ढोकाको चुकुल ह्यान्डिलसहित बाहिर फालिएको भेटिएपछि घटना शंकास्पद भएको भिमा बाह्रकोटीले बताईन् ।
गत शनिबार राति जनककुमार बाह्रकोटी (श्रीमति भिमा बाह्रकोटी) को घरमा आगलागी भएको थियो । आगलागी भएको समयमा परिवारका सदस्य भने अस्पतालमा थिए । भिमा बाह्रकोटीका अनुसार बच्चाको अप्रेसनका क्रममा आफू अस्पतालमा रहेका बेला घरमा आगलागी भएको हो ।
आगलागीपछि प्रहरीले घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिनुका साथै सर्जमिन मुचुल्का तयार गरेको थियो । तर प्रहरीको टोली फर्किएपछि घरभित्रका सामान बाहिर छरिएको अवस्थामा भेटिए पनि आशंका बढेको उनको भनाई छ । भिमाका अनुसार घरको ढोकामा लगाइएको चावी नखोलिएको अवस्थाको चुकुल ह्यान्डिलसहित बाहिर फालिएको थियो । घरमा रहेका दर्जनभन्दा बढी काँसका थालमध्ये दुईवटा जलेको अवस्थामा भेटिए पनि अन्य सामानको अवस्था र घरभित्रको दृश्यले सामान्य विद्युत् सर्टबाट मात्र आगलागी भएको भन्नेमा शंका उत्पन्न भएको उनले बताइन् ।
घरमा राखिएको नगद तथा गरगहनासमेत नभेटिएको पीडित परिवारको भनाइ छ । उनीहरूले चोरी गरेपछि प्रमाण नष्ट गर्ने उद्देश्यले आगो लगाइएको हुन सक्ने आशंका गर्दै घटनाको सूक्ष्म अनुसन्धान गर्न प्रहरीसँग माग गरेका छन् ।
प्रहरीको सर्जमिन मुचुल्कामा घरसहित धनमाल गरी करिब ९ लाख ९६ हजार रुपैयाँ बराबरको क्षति भएको उल्लेख छ । घरको मूल्य २ लाख ५० हजार रुपैयाँ, नगद ५० हजार, एक तोला सुन करिब ३ लाख, १२ तोला चाँदी करिब ९६ हजार, लत्ताकपडा ५० हजार तथा भाँडावर्तनलगायत जिन्सी सामानमा करिब १ लाख रुपैयाँ बराबरको क्षति भएको विवरणमा उल्लेख छ ।
आगलागीबाट घर पूर्णरूपमा क्षति भए पनि आसपासका सटेका घरमा भने ठूलो क्षति हुन पाएन । दमक नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
पीडित परिवारले वडा नम्बर ४ बाट सहयोग पाए पनि पर्याप्त नभएको जनाएको छ । आगलागीपछि आफूहरू आङको कपडाबाहेक केही नभएको अवस्थामा पुगेको हुनाले सबैलाई सहयोग गर्न आग्रह समेत गरेकी छन् । स्थानीयका अनुसार पछिल्ला केही महिनादेखि उक्त क्षेत्रमा चोरीका घटना बढ्दै आएका छन् । पीडित पक्षले घटनाबारे इलाका प्रहरी कार्यालय दमकमा पुनः जानकारी गराउँदै चोरी र नियोजित आगजनीको कोणबाट समेत अनुसन्धान गर्न माग गरेको हो ।
प्रहरी अनुसन्धानबाट मात्रै आगलागी विद्युत् सर्टका कारण भएको हो वा चोरीपछि नियोजित रूपमा आगो लगाइएको हो भन्ने वास्तविकता खुल्ने आशा पनि उनले व्यक्त गरिन् ।

Author

You may also like