देश–समाज समाचार स्थानीय

दमकमा ब्रम्हाकुमारी राजयोग समाज सेवा प्रभागले ग¥र्यो रक्तदान, १०७ पिन्ट रगत संकलन

दमक/ ब्रह्माकुमारी राजयोग सेवा केन्द्र समाजसेवा प्रभाग दमकले सोमबार आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा १०७ पिन्ट रगत संकलन भएको छ । प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी पूर्व मुख्य प्रशासिका दादी प्रकाशमणिको १९औँ पुण्य स्मृतिको अवसरमा आयोजित कार्यक्रममा स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो ।
स्वस्फूर्त रूपमा रक्तदान गर्न पुगेका स्थानीयको सहभागितामा भएको कार्यक्रममा विभिन्न क्षेत्रका समाजसेवी तथा विशिष्ट व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो । रक्तदान कार्यक्रमको उद्घाटन दमक नगरपालिकाका नगर प्रमुख रामकुमार थापाले गरेका थिए ।
ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र दमकको सभाहलमा आयोजित सो कार्यक्रममा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईं विशिष्ट अतिथिका रूपमा उपस्थित थिइन् । त्यस्तै, नेपाल रेडक्रस सोसाइटी दमक शाखा संयोजक गोमादेवी प्रसाईं बुढाथोकी, लाइफलाइन अस्पतालका चिकित्सक डा. सूर्यनारायण शाहलगायतको उपस्थिति थियो ।
कार्यक्रमको सभाध्यक्ष ब्रह्माकुमारी राजयोग सेवा केन्द्र दमककी प्रमुख सञ्चालिका तथा ब्रह्माकुमारीज कोशी प्रदेश समाजसेवा प्रभागकी संयोजक ब्रह्माकुमारी राधा दिदीले गरेकी थिइन् । रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै सहभागीहरूले रक्तदानलाई मानवीय सेवाको महत्वपूर्ण माध्यमका रूपमा लिनुपर्ने बताएका थिए । आकस्मिक दुर्घटना, शल्यक्रिया, प्रसूति तथा विभिन्न उपचारका क्रममा आवश्यक पर्ने रगतको अभाव हुन नदिन यस्ता नियमित रक्तदान कार्यक्रमले महत्वपूर्ण योगदान पु¥याउने उनीहरूको भनाइ थियो ।
कार्यक्रममा स्थानीय नागरिकले स्वस्फूर्त रूपमा रक्तदान गर्दै मानवीय सेवाप्रतिको प्रतिबद्धता प्रस्तुत गरेका थिए । आयोजकका अनुसार संकलित रगत आवश्यक पर्ने बिरामीको उपचारमा प्रयोग हुने भएकाले कार्यक्रमले समुदायमा सेवाभाव अभिवृद्धि गर्नसमेत सहयोग पुगेको छ ।
दादी प्रकाशमणिको १९औँ पुण्य स्मृतिलाई सामाजिक सेवासँग जोडेर आयोजना गरिएको रक्तदान कार्यक्रमले ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको समाजसेवामुखी गतिविधिलाई समेत निरन्तरता दिएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार आगामी दिनमा पनि स्वास्थ्य तथा सामाजिक सेवासँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिँदै समुदायमा सेवा, सद्भाव र सहयोगको भावना विस्तार गर्ने उद्देश्य रहेको छ । सो कार्यक्रम सञ्चालन ब्रम्हाकुमार विवेकले गरेका थिए ।

Author

You may also like