अर्थ देश–समाज मुख्य समाचार स्थानीय

दमक नपाको १ अर्ब ५८ करोड बढीको बजेट प्रस्तुत

दमक/ दमक नगरपालिकाले १ अर्ब ५८ करोड ६९ लाखको बजेट प्रस्तुत गरेको छ । बुधबार १९ औँ नगरसभामा आर्थिक वर्ष २०८३÷८४ का लागि १ अर्ब ५८ करोड ६९ लाख रुपैयाँको बजेट प्रस्तुत गरिएको हो । नगर प्रमुख रामकुमार थापाको अध्यक्षतामा सम्पन्न अधिवेशनमा बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक रेगिना भट्टराई प्रसाईले नीति तथा कार्यक्रम, आर्थिक विधेयक तथा विनियोजन विधेयकलगायत अन्य विषयगत समितिका प्रतिवेदनहरु प्रस्तुत गरेकी थिइन् ।
प्रस्तावित बजेटमध्ये चालुतर्फ ८५ करोड ८१ लाख ५९ हजार रुपैयाँ, पुँजीगततर्फ ६८ करोड २२ लाख ४१ हजार रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ४ करोड ६५ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ । बजेटका लागि नगरपालिकाको आन्तरिक आम्दानीबाट ४४ करोड ३८ लाख ५५ हजार रुपैयाँ, संघीय सरकारको अनुदानबाट ५८ करोड ९६ लाख रुपैयाँ, प्रदेश सरकारको अनुदानबाट ४ करोड ९४ लाख १८ हजार रुपैयाँ, राजस्व बाँडफाँटबाट ३३ करोड ३४ लाख १७ हजार रुपैयाँ तथा जनसहभागिताबाट १ करोड रुपैयाँ जुटाइने जनाइएको छ ।


नगरपालिकाले आगामी वर्षका लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, कृषि, सामाजिक समावेशीकरण, विपद् व्यवस्थापन र सुशासनलाई प्राथमिकतामा राखेको छ । शिक्षा क्षेत्रमा ३२ करोड ३७ लाख ५५ हजार रुपैयाँ, स्वास्थ्य क्षेत्रमा ९ करोड ३४ लाख रुपैयाँ, लैंगिक समानता तथा सामाजिक समावेशीकरणमा २ करोड ५५ लाख रुपैयाँ विनियोजन गरिएको छ । यस्तै यातायात पूर्वाधार विकासका लागि ५५ करोड १७ लाख रुपैयाँ, भवन तथा सहरी विकासमा ११ करोड २५ लाख रुपैयाँ, सूचना प्रविधिमा १ करोड रुपैयाँ र पुनर्निर्माणमा ५ करोड रुपैयाँ छुट्याइएको छ ।
नगरपालिकाले अधुरा तथा बहुवर्षीय आयोजनालाई सम्पन्न गर्ने लक्ष्यसहित बजेट विनियोजन गरेको जनाएको छ  । कृषि क्षेत्रको उत्पादन वृद्धि र किसानको निराशा कम गर्न अनुदान तथा निःशुल्क सेवा कार्यक्रम सञ्चालन गरिने भनिएको छ  । कृषि विकासका लागि १ करोड ८८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । विद्यालय पूर्वाधार, खानेपानी, शौचालय निर्माण तथा बालशिक्षिका र कर्मचारीको पारिश्रमिकमा १० प्रतिशत थप सुविधा निरन्तरता दिइने व्यवस्था पनि बजेटमा समेटिएको छ  ।
लेखा समिति संयोजक गोपाल कृष्ण संग्रौलाले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदनले आर्थिक अनुशासन, पारदर्शिता र बेरुजु फछ्र्योटलाई मुख्य चासोको विषय बनाएको छ  । महालेखा परीक्षकको कार्यालयबाट प्राप्त आर्थिक वर्ष २०८१÷८२ को अन्तिम लेखापरीक्षण प्रतिवेदनअनुसार दमक नगरपालिकामा ४ करोड १ लाख ७८ हजार ८७४ रुपैयाँ बेरुजु देखिएको
छ  । यसमध्ये ३३ लाख ६४ हजार रुपैयाँ असुल गर्नुपर्ने, ३ करोड ४ लाख ६१ हजार रुपैयाँ नियमित गर्नुपर्ने तथा ६३ लाख ५२ हजार रुपैयाँ बराबरको खर्चको प्रमाण कागजात पेश हुन बाँकी रहेको उल्लेख गरिएको छ ।
प्रतिवेदनअनुसार अघिल्लो वर्षसम्मको ३३ करोड ५६ लाख रुपैयाँ बेरुजुमध्ये ७ करोड ५ लाख रुपैयाँ फछ्र्योट भएको छ । हाल बाँकी बेरुजु र चालु वर्षको बेरुजु जोड्दा कुल बेरुजु ३१ करोड ५२ लाख ५६ हजार रुपैयाँ पुगेको छ । लेखा समितिले ‘बेरुजु शून्य सहनशीलता नीति’ प्रभावकारी रूपमा लागू गर्न, असुली प्रक्रिया तीव्र बनाउन, प्रमाण नपुगेका खर्चको व्यवस्थापन गर्न तथा पेश्की फछ्र्योटलाई प्राथमिकता दिन सुझाव दिएको छ  ।
सो १९ औं सभामा विभिन्न विषयगत समितिहरुका प्रतिवेदन समेत प्रस्तुत गरिएका छन् । ति सबै प्रतिवेदनहरु असार २२ गते सोमबार बस्ने बैठकबाट पारित हुने जानकारी गराइएको छ ।

Author

You may also like