देश–समाज राजनीति विचार/वहस स्थानीय

राजनीतिमा आशा भत्किँदा देखिने अशुभ संकेतहरू

राजनीति केवल सत्ता प्राप्त गर्ने माध्यम होइन, यो जनताको आशा, विश्वास र भविष्यसँग गाँसिएको संवेदनशील विषय हो । जब जनताले राजनीतिप्रति राखेका आशा र अपेक्षाहरू क्रमशः भत्किन थाल्छन्, तब समाजमा असन्तुष्टि, निराशा र विद्रोहका संकेतहरू देखापर्न थाल्छन् । इतिहासले बारम्बार प्रमाणित गरेको सत्य यही हो कि जनविश्वास गुमेको राजनीति अन्ततः संकटतर्फ उन्मुख हुन्छ । आशाको मृत्यु भनेको केवल निराशा बढ्नु मात्र होइन, त्यो नयाँ राजनीतिक विकल्पको खोजी र परिवर्तनको चाहनाको जन्म पनि हो ।
नेपालको राजनीतिक इतिहासलाई हेर्ने हो भने हरेक परिवर्तनको पछाडि जनताको निराशा र असन्तुष्टिको ठूलो भूमिका रहेको देखिन्छ । २०४६ सालको जनआन्दोलन, २०६२÷०६३ को आन्दोलन वा त्यसपछिका राजनीतिक परिवर्तन, विभिन्न क्षेत्रीय, जातीय, भौगोलिक हुँदै गत भदौको २३–२४ गतेको जेन–जी आन्दोलनहरू सबै जनताको आशा र अपेक्षासँग जोडिएका थिए र छन । ती आन्दोलनका बेला जन्मिएका बालबालिका आज परिपक्व नागरिक बनिसकेका छन् । उनीहरूले विगतका तीन दशकमा नेपालको राजनीतिक उतारचढाव नजिकबाट देखेका छन् । उनीहरूले लोकतन्त्रको स्थापना, गणतन्त्रको घोषणा, संविधान निर्माण, सत्ता परिवर्तनका अनेक शृंखला, भ्रष्टाचारका काण्ड, विकासका आश्वासन र ती आश्वासनहरूको विफलता सबै अनुभव गरेका छन् ।
त्यसैले आजको जेन–जी पुस्ता भावनामा मात्र बग्ने पुस्ता होइन । यो पुस्ता प्रश्न गर्न जान्दछ, मूल्यांकन गर्न जान्दछ र आफ्नो मत स्वतन्त्र रूपमा व्यक्त गर्न पनि सक्षम छ । पछिल्ला निर्वाचनहरूमा यही पुस्ताले पुराना राजनीतिक दलहरूप्रतिको निराशा व्यक्त गर्दै नयाँ विकल्पको पक्षमा मत दिएको देखियो । अझ उल्लेखनीय कुरा के छ भने, युवाहरू मात्र होइन, उनीहरूका अभिभावक तथा वृद्ध पुस्ताले समेत परिवर्तनको पक्षमा आफ्नो जनमत प्रयोग गरे । मतपेटिकाभित्र भएको त्यो मौन विद्रोह धेरै राजनीतिक दलहरूले समयमै बुझ्न सकेनन् ।
आज प्रश्न उठ्छ, किन यस्तो भयो ? किन लामो समयदेखि राजनीति गरिरहेका स्थापित दलहरूप्रति जनताको विश्वास कमजोर हुँदै गयो ? यसको उत्तर खोज्न गाह्रो छैन । जनताले बारम्बार अवसर दिए, तर अपेक्षित परिणाम पाएनन् । विकासका योजना भाषणमा सीमित भए । सुशासनको वाचा नारामा सीमित रह्यो । भ्रष्टाचार नियन्त्रणको प्रतिबद्धता व्यवहारमा रूपान्तरण हुन सकेन । परिणामस्वरूप जनताले नयाँ विकल्प खोज्न थाले ।
तर नयाँ शक्तिले जनताको विश्वास प्राप्त गर्नु मात्र पर्याप्त हुँदैन, त्यो विश्वास जोगाउन पनि उत्तिकै कठिन हुन्छ । इतिहासले देखाएको छ कि सत्तामा पुगेपछि धेरै दलहरू जनअपेक्षाबाट टाढा हुँदै गएका छन् । जनताको पीडा र समस्या बिर्सेर सत्ता, शक्ति र आन्तरिक स्वार्थमा अल्झिएका उदाहरणहरू प्रशस्त छन् । आज नयाँ शक्तिका रूपमा स्थापित भएका राजनीतिक दलहरूले पनि यही गल्ती दोहो¥याउने जोखिमबाट आफूलाई जोगाउन आवश्यक छ ।
राजनीतिमा गुटबन्दी, व्यक्तिवाद र शक्ति संघर्ष कुनै नयाँ विषय होइन । तर परिवर्तनको नारासहित उदाएका शक्तिहरूमा पनि यस्ता प्रवृत्तिहरू देखिन थाले भने जनतामा निराशा बढ्न सक्छ । जनताले पुराना गल्ती दोहोरिएको हेर्न चाहेका छैनन् । उनीहरूले परिणाम चाहेका छन्, जिम्मेवारी चाहेका छन् र उत्तरदायित्व खोजिरहेका छन् ।
राजनीतिक दलहरूले बुझ्नुपर्ने सबैभन्दा ठूलो कुरा के हो भने जनमत स्थायी हुँदैन । जनताले विश्वास गरे भने उचाइमा पु¥याउँछन्, विश्वास गुमे भने क्षणभरमै अस्वीकार गर्न सक्छन् । कुनै समय नेपाली कांग्रेस, एमाले र माओवादी अत्यन्त शक्तिशाली राजनीतिक शक्तिका रूपमा स्थापित थिए । तर समयसँगै उनीहरूको जनाधार किन खस्कियो ? यसको उत्तर उनीहरूले स्वयं खोज्न आवश्यक छ । सत्ता प्राप्तिपछि आएको आत्मसन्तुष्टि, जनतासँग बढेको दूरी, नेतृत्वको अहंकार र आत्मसमीक्षाको अभाव त्यसका प्रमुख कारणहरू हुन् ।
आज पनि राजनीतिक दलहरूबीच आरोप–प्रत्यारोप चलिरहेको छ । सामाजिक सञ्जालमा समर्थकहरू एकअर्काविरुद्ध उत्रिएका छन् । तर वास्तविक प्रश्न भने जनताको जीवनसँग सम्बन्धित छ । बेरोजगारी, महँगी, वैदेशिक पलायन, शिक्षा र स्वास्थ्यका चुनौती, कृषिको संकट तथा आर्थिक अस्थिरता जस्ता विषयहरू समाधान गर्नु नै राजनीतिका मुख्य प्राथमिकता हुनुपर्छ । जनताले फेसबुकका स्टाटस वा भाषणभन्दा आफ्नो जीवनमा आउने सकारात्मक परिवर्तनलाई बढी महत्व दिन्छन् ।
सामाजिक सञ्जालको प्रभाव बढेसँगै भ्रम र अफवाहको राजनीति पनि बढेको छ । विभिन्न माध्यमबाट झुटा सूचना फैलाउने, सन्त्रास सिर्जना गर्ने र जनमानसलाई भ्रमित पार्ने प्रयासहरू भइरहेका छन् । तर नेपाली जनता पहिलेभन्दा धेरै सचेत भएका छन् । उनीहरूले सूचना विश्लेषण गर्न सिकेका छन् । त्यसैले केवल प्रचारबाजीका भरमा लामो समयसम्म जनतालाई प्रभावमा राख्न सम्भव छैन ।
आज नेपालको राजनीति एउटा महत्वपूर्ण मोडमा उभिएको छ । पुराना राजनीतिक शक्तिहरू आफ्नो विगतको समीक्षा गर्न बाध्य छन् भने नयाँ शक्तिहरू आफ्नो भविष्यको परीक्षा दिइरहेका छन् । यस्तो अवस्थामा सत्ता पक्षले विजयको उन्मादमा बहकिनु हुँदैन र प्रतिपक्षले पनि केवल विरोधका लागि विरोध गर्ने प्रवृत्ति त्याग्नुपर्छ । लोकतन्त्रको सार सहकार्य, संवाद र उत्तरदायित्वमा निहित हुन्छ ।
देशको अर्थतन्त्रलाई मजबुत बनाउने, रोजगारी सिर्जना गर्ने, सुशासन कायम गर्ने र नागरिकको जीवनस्तर उकास्ने साझा लक्ष्यमा सबै राजनीतिक शक्तिहरू केन्द्रित हुन आवश्यक छ । यदि जनताको आशा र विश्वासलाई पुनः मजबुत बनाउन सकियो भने आज देखिएका अशुभ संकेतहरू अवसरमा रूपान्तरण हुन सक्छन् । तर यदि जनअपेक्षाको बेवास्ता गरियो भने यही असन्तुष्टि भोलिका दिनमा ठूलो राजनीतिक चुनौतीका रूपमा विस्फोट हुन सक्छ ।

Author

You may also like