दमक / झापाको दमक नगरपालिका–९ स्थित पूर्व–पश्चिम (महेन्द्र) राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
बुधबार बिहान करिब १० बजे बजे दमकबाट उर्लाबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ४२८५ नम्बरको टिपरले सोही दिशातर्फ गइरहेको मे ११ प १६२० नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्कुटर चालक दमक नगरपालिका–५ निवासी ६० वर्षीय भिमबहादुर कार्की गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागिदमक अस्पताल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । स्कुटरको पछाडि सवार गौरीगञ्ज गाउँपालिका–१ निवासी ६४ वर्षीय शेरबहादुर कार्की भने सकुशल रहेका छन् ।
दुर्घटनामा संलग्न टिपर र चालक गौरादह नगरपालिका–९ बैगुनधुरा निवासी २९ वर्षीय दीपक प्रधानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।