प्रतिनिधिसभाको सचिवमा अधिकारी
दमक । प्रतिनिधि सभाको सचिवमा प्रकाश अधिकारी नियुक्त भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाका सभामुख डीपी अर्यालको सिफारिसमा अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम संखुवासभाका अधिकारीलाई सङ्घीय संसद, प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले हिजो यसअघिका सचिव हर्कराज राईलाई पदमुक्त गरेका थिए ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टको राजीनामा
दमक । नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डा। चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उनले बुधबार राजीनामा बुझाएका हुन् । मन्त्रालयका सूचना अधिकारी सूर्यप्रसाद चापागाईँले भोलिदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी दिएका छन् ।
उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिन आग्रह गरेपछि भट्टले पद छाडेको बताइएको छ । उनलाई २०८० फागुन २६ गते तत्कालीन सरकारले तीन वर्षका लागि नियुक्त गरेको थियो ।
रोशनी वादी नियन्त्रणमा
दमक । सर्वोच्च अदालतको इजलासमै हुलहुज्जत गरेको आरोपमा वादी अभियन्ता रोशनी वादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको प्रहरीले जनाएको छ ।
चलचित्र ‘लालीबजार’ विरुद्ध रिट दायर गरी मुद्दाको सुनुवाइका लागि इजलासमा उपस्थित भएकी वादीले सुनुवाइका क्रममा हुलहुज्जत गरेपछि नियन्त्रणमा लिइएको हो । उनले उक्त चलचित्रले वादी समुदायका महिलालाई बदनाम गरेको भन्दै प्रदर्शन रोक्न माग गर्दै आएकी छन् । केही दिनअघि उनी रास्वपा सभापति रवि लामिछानेको गाडी अगाडि सुतिदिएको घटनाले पनि चर्चा पाएको थियो ।
३८ लाख रुपैयाँ हिनामिना आरोपमा ५ जना पक्राउ
काठमाडौं । शिवराज नगरपालिका अन्तर्गतको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटामा करिब ३८ लाख रुपैयाँ हिनामिना भएको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आर्थिक वर्ष २०८१/०८२ को आर्थिक कारोबारमा अनियमितता भएको भन्दै नगरपालिकाले दिएको उजुरीपछि अनुसन्धान गर्दा अस्पतालको सेवा शुल्क र औषधि बिक्रीबाट उठेको रकम बैंकमा पूरा जम्मा नभएको भेटिएको प्रहरीले जनाएको छ ।
लेखा परीक्षणका क्रममा १२९ थान बैंक भौचर भए पनि ३८ लाख १९ हजार ७७० रुपैयाँ बराबरको रकम नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखामा जम्मा नभएको पाइएको हो ।
अस्पताल व्यवस्थापन समितिको उजुरीपछि प्रहरीले संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा अस्पताल, नगरपालिका र बैंकका कर्मचारीहरू रहेका छन् । उनीहरूमाथि ठगी तथा आपराधिक विश्वासघातको आरोप लगाइएको छ ।
बाबु–छोरानै पक्राउ
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१८ रैहिपुरबाट प्रहरीले लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित बाबु–छोरालाई पक्राउ गरेको छ । घरमै लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको संयुक्त टोलीले ४८ वर्षीय शीतल चौधरीको घरमा छापा मारेको थियो । छापा हानेर घरका कोठा खानतलासी गर्दा ३ दशमलव ४८० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलबाट ब्राउन सुगरको कारोबारमा प्रयोग हुने डिजिटल तराजु, को २३ प ६४१८ र मे १ प ३९९५ नम्बरका दुईवटा मोटरसाइकल तथा नगद ८१ हजार ३४० रुपैयाँ र दुई थान मोबाइल बरामद गरेको छ । त्यसलगत्तै प्रहरीले ४८ वर्षीय शीतल र उनका छोरा २३ वर्षीय सुशान्त चौधरीलाई पक्राउ गरेको छ ।
कायम भए १७ मन्त्रालय
दमक । संघीय सरकारमा मन्त्रालयको संख्या १७ मा झारिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित २२ वटा रहेकोमा सरकारले कार्यविभाजन नियमावलीमार्फत मन्त्रालयको संख्या घटाएर १७ मा झारेका हो ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यविभाजन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। यससँगै अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ वटा मन्त्रालय कायम भएका छन् ।
गाभिएका र खारेज गरिएका मन्त्रालयहरूको सूची रापपत्रमा प्रकाशित हुने प्रधानमन्त्री तथा मन्त्रपरिषदको कार्यालयका प्रवक्ता हेमराज अर्यालले जानकारी दिए । प्रधानमन्त्री तथा परिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्की नेतृत्वको पुनर्संरचना व्यवस्थापन सचिवालयले युवा तथा खेलकुद, खानेपानी तथा सरसफाइ, शहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खारेज गर्नुपर्ने राय दिएको थियो । अब खेलकुदलाई शिक्षा मन्त्रालय गाभेर शिक्षा तथा खेलकुद मन्त्रालय नाम दिइनेछ । यस्तै युवालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसहित स्वास्थ्य तथा जनसंख्या र सामाजिक सुरक्षा मन्त्रालयलाई एकीकृत गरेर लैंगिक समानता तथा सामाजिक विकास मन्त्रालय नाम दिइने भएको छ ।
चार शिक्षक–कर्मचारी, चार विद्यार्थी
खोटाङ्/ खोटाङको बछलादेवी आधारभूत विद्यालयमा यस शैक्षिक सत्रमा चार जना मात्र विद्यार्थी रहेका छन् । तीन कक्षासम्म पठनपाठन हुने रावा बेसी गाउँपालिका–६ हौँचुरस्थित यस विद्यालयमा नयाँ शैक्षिक सत्र २०८३ मा चार जना मात्र विद्यार्थी भर्ना भएका हुन् ।
विद्यालयमा एक जना स्थायी शिक्षक, एक जना बालविकास शिक्षक, एक जना निजी शिक्षक र एक जना कार्यालय सहयोगी गरी चार जना कार्यरत छन् । बालविकासदेखि कक्षा तीनसम्म सञ्चालन भइरहेको बछलादेवी आधारभूत विद्यालयका दुई वटा कक्षा खाली रहेका छन् । बालविकास कक्षामा दुई जना र कक्षा एकमा दुई जना विद्यार्थी भर्ना भएका छन् । कक्षा दुई र तीन खाली रहेको विद्यालयकी प्रधानाध्यापक कल्पना कार्कीले जानकारी दिईन् । अघिल्लो शैक्षिक सत्रमा २१ जना विद्यार्थी रहे पनि नयाँ शैक्षिक सत्रमा चार जना मात्र विद्यार्थी भर्ना भएको उनको भनाइ छ ।
हुलाकबाटै घरघरमा राहदानी
दमक/ नेपाल सरकारको सुशासन सुधार कार्ययोजना र १०० दिने कार्यक्रमअन्तर्गत हालसम्म देशका ४१ वटा जिल्लाबाट हुलाकमार्फत राहदानी घरमै पु¥याउने सेवा सुरु भएको छ ।
हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीका अनुसार सुरुमा राहदानी विभागसँग ३३ जिल्लाका लागि सम्झौता भए पनि हाल समन्वय गरेर ४१ जिल्लामा यो सेवा विस्तार गरिएको छ । विभागको लक्ष्य बिस्तारै ७७ वटै जिल्लामा यो सेवा पु¥याउने रहेको भन्दै उनले यसबाट दुर्गमका नागरिकले सदरमुकामसम्म धाउनुपर्ने बाध्यता हट्ने जनाईन् ।
यो सेवा प्राप्त गर्न नागरिकले न्यून शुल्क मात्र तिरे पुग्छ । ३२ पानाको राहदानीका लागि ५५ रुपैयाँ र ६८ पानाको राहदानीका लागि ७५ रुपैयाँ महसुल तोकिएको छ । जिल्ला प्रशासन कार्यालयमा राहदानीको फोटो खिचाउने समयमै सेवाग्राहीले हुलाकमार्फत घरमै लिने विकल्प रोज्न पाउने व्यवस्था गरिएको छ ।
एम्बुलेन्समा ४४० किलो गाँजा
धरान/ धरानबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजासहित एउटा एम्बुलेन्स नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले धरान–१३ मा चेकजाँचका क्रममा ४ सय ४० किलो गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको हो । कोशी प्रदेशका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक योगन्द्रसिंह थापाका अनुसार को १ च ७३५९ नम्बरको एम्बुलेन्सबाट गाजा बरामद भएको हो। चेकजाँचका क्रममा प्रहरी देखेपछि एम्बुलेन्स छाडेर चालक र ओसारपोसारमा सलग्न व्यक्ति भागेको प्रहरीले जनाएको छ । सोही क्रममा प्रहरीले एम्बुलेन्स चेकजाँच गर्दा प्लाष्टिकको बोरामा प्याक गरी लुकाइएको अवस्थामा गाजा फेला परेको हो । प्रहरी वरिष्ठ उपरीक्षक थापाका अनुसार गाँजा ओसारपसारमा प्रयोग गरिएको एम्बुलेन्स बुढासुब्बा डाइग्नोष्टिक सेन्टर प्रा.लिद्वारा सञ्चालित रहेको छ ।