शिक्षा ब्यक्तित्व विकासको मूल आधार हो । शिक्षाबिना ब्यक्तिको कुनैपनि पक्षको विकासको परिकल्पना गर्न सकिन्न । त्यसमा पनि विशेषत ः प्राथमिक तहको शिक्षा बालबालिकाहरुको अधिकारको विषय हो । प्राथमिक तहको शिक्षा समाजमा भए रहेका सबैले बिना कुनै भेदभाव शिक्षा पाउनुपर्छ । बालबालिकाका प्रमुख अधिकारहरु मध्ये बाच्न पाउने अधिकार , संरक्षण पाउने अधिकार, विकास गर्ने अधिकार र सहभागी हुने अधिकार पर्दछन । विशेषत ः यी अधिकारहरुलाइ प्राथमिक शिक्षाको अवसरलाई प्रदान गर्नु तपाईं हामी शिक्षक र अभिभावकहरुको प्रमुख दायित्व हो । बालबालिकाहरुलाई आत्मनिर्भर बनाउन शिक्षक र अभिभावकको महत्वपूर्ण भूमिका रहन्छ । बालबालिकालाई सामाजिक मेलमिलाप, सहयोग तथा अतिरिक्त क्रियाकलाप गर्नका लागि प्रोत्साहित गर्न सकेमा मात्र त्यो बालक असल नागरिक बन्न सक्दछ । शारीरिक रूपमा विकृति एवम मानसिक र संवेगात्मक रूपमा विकारयुक्त बालबालिकाको लागि बेग्लै खालको छुट्टै विद्यालय ब्यबस्था गरी प्रकृति अनुरुप, रुचि आवश्यकता अनुरुप शिक्षाको ब्यबस्था गर्नु आजको आवश्यक्ता हो । तर हिजोदेखि आजसम्म बनेका सरकारहरुले अहिलेसम्म उनीहरूका लागि केहीपनि नयाँ योजनाको तर्जुमा गर्न सकेको देखिन्न । भन्न त – “बालबालिका भनेका भविष्यका कर्णदार हुन “ भनेर सस्तो लोकप्रियताका लागि ठूल्ठूला भाषण त नेताहरूले गर्छन तर उनीहरूको मनोबिज्ञान खासै बुझेर कदम चालेको पाइन्न । यहाँ बालबालिकाका लागि विशेष योजनाका साथ करोडौं करोडको रकम बालबालिकाका लागि छुट्ट्याइन्छ तर कहाँ लगानी गर्ने ? के गर्ने ? भन्ने कुनै योजनै गरेको देखिन्न । बालअधिकारका नाराहरु गुन्जायमान हुन्छन, अनेक कार्यक्रम हुन्छ । एनजिओ र आइएनजिओ त कति छन कति भएपनि उनीहरूका निम्ति कुनै खासै राम्रो काम राज्यले गरेकै छैन । आज गरिब दुःखी जनताका छोराछोरीहरु न पढ्न पाएका छन, उनीहरूको बर्तमान अवस्था कस्तो छ ? त्योसम्म अन्वेषण गरेको देखिन्न । आज स – साना उमेरका बालबालिकाहरु खोलामा छन भने कति त बोरामा प्लास्टिक बटुल्न बाध्य छन । हामी देख्छौ कि कति होटलहरुमा “ बालश्रम मुक्त होटल “टाँसिएका प्लेकार्ड भेटिन्छ होटलैमा तर भित्र कति उमेर समूहका बालबालिकाहरु कामदारका रुपमा काम गरिरहेका होलान भन्ने कुराको बोध गरेर अनुसन्धानसम्म कुनै सरोकारवाला निकायले गरेको देखिन्न । बालबालिका र अभिभावकलाई सङ्गै राखेर न कुनै ठूल्ठूला कार्ययोजना र परियोजनासम्म गर्न सकेका छन सम्बन्धित निकायले । बरु सेमिनारका निम्ति करोडौं खर्च गरेर बालुमा पानी हालेर उनीहरूको मागलाई तुहाइदिने उपल्लो निकाय अहिलेपनि चलायमान छन । आज बालबालिकाहरु हिंसाको शिकार, बलात्कार, यौनजन्य र आपराधिक गतिविधिमा संलग्न छन त्यसको सुक्ष्म अध्ययन अवलोकन गरेर कसरी सुधार्न सकिन्छ भन्ने सोच सम्म राख्न सकेका छैनन्, घरका अभिभावक र विद्यालयका शिक्षक तथा शिक्षिकाहरुले । कक्षा कोठा बालमनोबिज्ञानका कुराहरु र नैतिक आचरणका कुराहरू उनीहरू सिकाएको देखिन्न । शिक्षक र अभिभावकहरुले बालबालिकाहरु स्वभावगत रूपमा मानसिक रूपमा, प्रतिभावना, तीक्ष्ण बुद्धि, मन्द सिकारु, पछौटे, सुस्त मनस्थिति र यसैगरी शारीरिक रुपमा लङगडो, बहु अपाङ्ग अनि संवेगात्मक रूपमा डरपोक, लजालु, चिन्ताग्रस्त, मनोविकृति र रिसाहा हुन्छन भन्ने कुराको सामान्य जानकारीसमेत नगरी उनीहरूलाई कुट्ने, पिटने, यातना दिने, डर देखाउनेसम्म गरेको हामीले देख्न सक्छौं । हामी बुद्धिजीवी, समाजसेवी, शिक्षाप्रेमी भएपनि अबुझ किन भएका छौं ? ती साना – साना बालबालिकाहरुको मनोबिज्ञान किन बुझ्न सक्दैनौ ? कुनैपनि बालबालिका होस या प्रौढ उ प्रसङशा र माया ममताको भोको हुन्छ । कुनैपनि विद्यार्थीले कुनैकाम गर्ने प्रयास गर्दा, कुनै गल्ती गरेमा वा नमिलेमा उसलाई निराशा झल्काएर गालीगलौज गर्ने, पिटने वा कुनै किसिमको शारीरिक दण्ड दिने गर्दा उसले आफूले गरेको दुःखपूर्ण प्रयास खेर गएको सम्झन्छ र त्यो बालकले भित्र – भित्रै बरबर्ती आँसु खसाल्छ । त्यो आँसु खसालेकै बेलामा शिक्षकले अझै यातना दिएमा उसले कहिल्यैपनि आफ्नो मानसिक अवस्थालाई सन्तुलनमा राख्न सक्दैन । उसमा दिन्दिनै निराशापन छाउछ । भित्री मनोबिज्ञानमा गहिरो असर पर्दछ भने सकारात्मक सोच कहिले पलाउदैन त्यो बालकको वृद्धि विकासमा । शिक्षक र अभिभावकले उसलाई हौसलाको बदलामा गाली, दण्ड तथा अपमान र लज्जित बनाउने कामले गर्दा उसभित्र नयाँ – नयाँ कल्पना अनि विषयवस्तुप्रति जागरुक प्रयासहरु क्रमश ः दमन हुँदै जान्छन । यस्तो अवस्थामा ती बालबालिका विद्यार्थीहरु कुनै पनि कामप्रतिको हौसला , उत्प्रेरणा , साहस र जिज्ञासा गर्ने बानीलाई क्रमिक रुपमा लुकाउदै जान्छन । शिक्षकहरुप्रति उसको सोध्ने र त्यसको सही समाधान गर्न नसक्ने बानीको विकास हुन्छ । वास्तवमा यसो हुनु भनेको नै त्यो बालक मनोबैज्ञानिक रुपले सबै कुरामा ठूलो क्षति हुनु हो । आज सामुदायिक विद्यालय भन्दापनि निजी तथा संस्थागत विद्यालयमा हेर्नुहोस कि साना – साना बालबालिकाहरुले विद्यालय जादा उनीहरूले बोकेका झोला यति गह्रौ हुन्छ कि त्यो समेत बुझेर उनीहरूलाई नबोक्न आग्रह गरेको देखिन्न । हामीमा अधिकारको भावना बालबालिकाप्रति कहिलेपनि सकारात्मक चिन्तन भएको देखिन्न । यस्ता नकारात्मक सोच र प्रवृतिले गर्दा आज स–साना बाल बालिकाहरु शिक्षाबाट बन्चित हुन पुगेका छन ।
राज्यले सहरकेन्द्रीत बालशिक्षा हेर्छ तर पहाडी इलाकाका झुपडीमा नजर जादैन उनीहरूको किन ? यहाँ बालअधिकारको कुरा गरेर कहिले नथाक्ने अनि उनीहरूलाई शिक्षा क्षेत्रबाट बन्चित गराउने परिपाटीको अब अन्त्य हुनुपर्यो । आज सामुदायिक तथा निजी विद्यालयहरुमा राज्यले लगानी गर्छ तर अध्ययन , अध्यापन कसरी भइरहेको छ अनि बालबालिका मैत्री छ या छैन त्योसम्म अनुगमन तथा नियमन गरेको देखिन्न । कति सामुदायिक विद्यालयमा विद्यार्थीभन्दा शिक्षक बढी छन भने कतिमा ५० जनाभन्दा बढी विद्यार्थी छन त्यहाँ शिक्षकहरुको दरबन्दी छैन । यसलाई कसरी ब्यबस्थापन गरेर बालबालिकाको भविष्य निर्माण गर्न सकिन्छ भन्ने सोच सम्बन्धित सरोकारवाला निकायहरुमा चेतनाको बिकास हुन सक्नुपर्यो । अबका दिनमा विद्यालयमा राजनीति भन्दापनि शिक्षाको गुणस्तर बढाउन अनि बालबालिकाको मनोबिज्ञान बुझेर ठोस कदम चाल्न शिक्षक, अभिभावक, सरोकारवाला निकायहरुको ध्यान जान जरुरी छ । यसमा तपाईं हामी सबै जुटौं ।