यो संसार विविधताले भरिएको छ । विविधता सृष्टि चक्रको एउटा अनौठो विशेषता नै हो। संसारको सृष्टि चक्रमा विद्यमान रहेको बहुआयामिक धार्मिक सामाजिक र सांस्कृतिक विविधताले नै संसार पानी जस्तै प्रवाहमान छ । संसारका विभिन्न प्रकारका अर्बौं खर्बौं जीवजन्तुहरू बोटबिरुवा र वनस्पतिहरू जडचेतनमा दृश्य अदृश्य रुपमा चलायमान भौतिक र अभौतिक शक्तिहरूले गर्दा मानिसहरू पनि अन्य जीवजगतभन्दा आफूलाई सर्वाधिक शक्तिशाली र सर्वाधिक बुद्धिमान प्राणी हुँदाहुँदै पनि यसै संसारको मायावी रचनाको सञ्जालभित्रै फसेको छ । अनादि कालदेखि युद्धमा होमिएका देशहरू वा व्यक्ति हरूले आफ्नो अहंकारलाई मात्र परितुष्टि गर्ने संयन्त्रको रुपमा आफूलाई नै प्रयोग गर्दै आइरहेको छ ।
मानव जातिले आफ्नो बुद्धिलाई भौतिकवादको प्रयोगशाला बनाउने क्रम निरन्तर बढ्दो छ । ईश्वर मानिसहरूको भावनाबाट झल्किने प्रकृतिको एउटा अभिन्न अङ्गको रुपमा रहे पनि मानिसहरूले नै त्यसलाई परमात्माको रुपमा पहिचान गर्न दिनप्रतिदिन कठिन बन्दै गइरहेको छ । मानिसको मनभित्रका आँखाहरूबाट ईश्वरको दर्शन प्रत्यक्ष रूपमा गर्न नसकिने आत्मचेतना सम्म नहुने मानिसहरूले पूरै संसार अनात्मवाद वा अनिश्वरवादमा अडेको छ भनेर स्वाङमाथि नयाँ स्वाङ रचिरहेका देखिन्छन् । थरीथरीका पहिचान बोकेका यत्रो विधि स्वाङ्ग रच्ने जमात नेपालभित्र मात्र होइन नेपाल बाहिर संसारै भरिका अन्य अन्य देशहरुमा पनि छरिएका छन् । सत्य र असत्यबीचको युद्ध संसारको निर्माण भएदेखि नै निरन्तर रूपमा जारी रहेको छ । कहिले सत्यको हार भएजस्तो देखिन्छ भने कहिले असत्यको विजय भइरहेको पनि देख्न र सुन्न पाइन्छ । हजारौँ लाखौँ वर्षदेखि संसारलाई हाँक्ने संयन्त्रहरूमा स्थिरता र स्थायित्व आउन सकेको छैन । प्रकृतिमा देखिने ऋतु क्रम जस्तै अहिले संसारमा आर्टिफिसियल इन्टेलिजेन्स वा कृत्रिम बौद्धिकतामा निरन्तर परिवर्तन आउन थालेको छ ।
धर्मग्रन्थका पानाहरू पल्टाउने विद्वानहरू, पण्डित, मुल्ला र पादरी हरु आत्मामुग्ध छन् । उनीहरू धर्मका जानकारहरू भनेर धेरै मानिसहरूले उनीहरूको पाउ पूजा पनि गरेको पाइन्छ । तर सत्यलाई चिन्ने आँखाहरू उनीहरूसँग पनि हराउँदैछ । उनीहरूले एउटालाई ईश्वर र अर्कोलाई दुष्ट वा शैतान वा राक्षस भनेर कित्ता काट गरी परिभाषित गरेका छन् । विश्व ब्रह्माण्डमा अनियन्त्रित विद्युत प्रवाह झैँ प्रवाहित भइरहने आत्मचेतना नै परमात्माको सुपरपावर हाउस हो भन्ने कुरा उनीहरूले पत्तो लगाउन सकिरहेका छैनन् । परमात्माको सुपरपावर हाउस अर्थात् दैवी चेतना कसरी कुनै ठाउँमा राम्रो र कुनै अर्को ठाउँमा नराम्रो कसरी हुन सक्दछ । कसरी भूत प्रेत र पिसाचहरूले प्रकृतिको सुन्दर फुलबारीमा विध्वंस मचाउन सक्छन् ? ईश्वर द्रष्टा मात्र हो भने यस्ता झुण्डलाई अधम कार्य गर्ने प्रेरणा कहाँबाट प्राप्त हुन्छ ?
घातक भन्दा घातक अस्त्रशस्त्रको प्रयोग गरी आफूजस्तै मानिसहरूको जघन्य हत्या गराउने कार्यमा उनीहरू किन अगाडि सर्दछन्, र आफू पनि मृत्युको प्राप्त हुन्छन्, यो निश्चय पनि कायरतापूर्ण र मानवतालाई कलंकित पार्ने अभियान हो । एउटा धर्मको सारतत्व मान्ने नाउँमा किन अरु धर्ममा विश्वास गर्ने मानिसहरू लाई समेत निर्घात यातना दिइन्छ र चरम यातना दिएर हत्या गरिन्छ । जुन मानिसहरू निरपराध छन्, निर्दोष छन्, उनीहरूको जीवन लीला समाप्त पार्ने कार्यलाई किन धर्म भनिन्छ । यस्ता पातककर्म गर्ने गराउनेहरूले संसारको भलो कहिल्यै पनि गर्न सकेका छैनन्, र गर्न सक्दैनन् भन्ने कुरा दुनियालाई थाहा भइसकेको छ । संसारबाट मानवता हार्ने र हराउने कार्य यिनीहरूकै दुरभिसन्धि र षड्यन्त्रपूर्ण कार्यबाट भइरहेको छर्लङ्ग हुन्छ । त्यसैले धर्मको मूल प्रकृतिको अध्ययन र विमर्श नगरी प्रकृतिको रङ्गीचङ्गी सुन्दरता र मानवीय स्वभावको विविधतालाई समाप्त पार्ने प्रयास गर्नु पूर्ण रुपमा गलत छ । अहिले संसार मन्द बुद्धिका राजनीतिक प्राणीहरूको हातको कठपुतली जस्तो बनेको छ । उनीहरूसँग ज्ञानको खोजी गर्ने समय छैनन । तिनीहरूले निश्चित रूपमा कुहिरोको कागजत्तिकै हविगत भोग्नुपर्ने निश्चित नै छ । युद्धको विकल्प युद्ध हुन सक्दैन युद्धको विकल्प शान्ति हुन्छ । युद्धको विकल्प मानव धर्म हुन्छ । मानव धर्म नहुने विज्ञान फलदायी हुँदैन । कर्मको फल सबैले एक न एक दिन भोग्नुपर्दछ । आफूले गरेको असल कर्मबाट संसारको भलो हुन्छ भने समाजमा सकारात्मक उर्जालाई ग्रहण गर्न सक्दैन। त्यसैले तिनीहरूको प्रभावलाई जसरी भएपनि निस्तेज पार्नु जरुरी छ । जो जस्ता छन् तिनीहरूसँग त्यस्तै व्यवहार गर्नुपर्दछ, भनेर विचार गर्नु जरुरी छ ।
नेपालमा लोकतन्त्रको भावनाअनुसार समाजलाई अनुशासित बनाउन सकिएन भने वेद उपनिषद् र सनातन विचारधारा अनुसारको राजनीति दर्शन र राष्ट्र धर्मको संवर्धन र संरक्षण गर्नु मुस्किल पर्न सक्छ । सनातन धर्म र सनातन समाजका विचारहरू मानव धर्मका उत्कृष्ट विचारहरूको रुपमा रहेकोले यसको संरक्षण गर्नमा राज्यले आफ्नो सक्रियता बढाउनु पनि जरुरी छ । पन्थ निरपेक्षतालाई धर्महिनताको रूपमा देखाउने प्रवृत्ति र विचारहरू असलमा संविधान विरोधी विचार हुन्, जसलाई सही तरिकाबाट मार्गदर्शन गरेर राज्यले असल परिपाटीको विकास गर्नु जरुरी छ । (लेखकको निजी विचार )