देश–समाज समाचार स्थानीय

दमक–८ बालमैत्री वडा घोषणा गर्न योग्य

दमक । झापाको दमक नगरपालिका–८ ले बालमैत्री उन्मुख वडाका अधिकांश सूचक पूरा गरेको दाबी गरेको छ। सो दाबीको सत्यता जाँच्न जिल्ला समन्वय समिति झापाको टोलीले वडाका शैक्षिक तथा स्वास्थ्य संस्थाको स्थलगत अनुगमन गरेको छ।


जिल्ला समन्वय समिति झापाका प्रमुख तथा जिल्ला स्तरीय अनुगमन समितिका संयोजक विश्व बरालको नेतृत्वमा पुगेको टोलीले दमक–८ स्थित जनता माध्यमिक विद्यालय र आधारभूत स्वास्थ्य केन्द्रको अनुगमन गरेको वडा कार्यालयले जनाएको छ। टोलीमा जिल्ला समन्वय समितिकी उपप्रमुख शान्ता रोक्का, जिल्ला समन्वय अधिकारी अमृत राई, जिल्ला प्रहरी कार्यालय झापाका प्रतिनिधि प्रहरी निरीक्षक विपन्न विश्वकर्मा, नेपाल पत्रकार महासंघ झापाका प्रतिनिधि मनकुमार गदाल, दमक नगर बाल सञ्जाल अध्यक्ष दिवस वाग्ले तथा वडा बाल सञ्जाल अध्यक्ष दिलासा संग्रौलालगायत सहभागी थिए।


अनुगमनका क्रममा विद्यालयको बाल कक्षा, खानेपानी सुविधा र विद्यार्थीलाई वितरण गरिने दिवा खाजाको व्यवस्थाबारे जानकारी लिइएको थियो। विद्यालय प्रशासनले अधिकांश विषयमा सन्तोषजनक जवाफ दिएको प्रमुख बरालले बताए। तर विद्यालयको शौचालय सरसफाइमा कमी रहेको र दुर्गन्ध फैलिएको विषयमा अभिभावकले गुनासो गरेको पाइएको छ। कर्मचारी कटौतीपछि सरसफाइ व्यवस्थापनमा समस्या भएको विद्यालय प्रशासनले जनाएको छ।
त्यसैगरी टोलीले दमक–८ स्थित आधारभूत स्वास्थ्य केन्द्रको पनि निरीक्षण गरेको थियो। स्वास्थ्य केन्द्रमा अपाङ्गमैत्री भवन, खानेपानी धारा तथा शिशुका लागि विश्रामस्थलजस्ता संरचना रहेको वडा अध्यक्ष धर्मप्रसाद दाहालले जानकारी दिए।
अनुगमनअघि आयोजित अभिमुखीकरण कार्यक्रममा वडाले बालमैत्री उन्मुख सूचकको ९२ दशमलव २ प्रतिशत पूरा गरेको अभिलेख प्रस्तुत गरेको थियो। अनुगमन प्रतिवेदन अध्ययनपछि एक साताभित्र बालमैत्री वडा घोषणा गर्ने–नगर्ने निर्णय गरिने प्रमुख बरालले बताए।

Author

You may also like