गोपाल झापाली
दमक/ उमेरले ७१ वर्ष पुगेका सताक्षीधाम ८ का इन्द्र सापकोटा जीवनसँगको कठिन लडाइँ जितेर अहिले कृषि क्षेत्रमा उदाहरणीय सफलता हासिल गरिरहेका छन् । क्यान्सरलाई पराजित गर्दै उनले झापाको बिर्तामोड ७ को गरामनी र झिलझिले क्षेत्रमा करिब १० विगाहा जमिनमा व्यवसायीक बयर खेती गर्दै आएका छन् । उनको मुख्य खेती बयर हो भने करिव अढाई विगाहमा उन्नत प्रकारको अम्बक पनि लगाएका छन् ।
स्वदेशमै श्रम र लगानी गरे राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिन सापकोटाको काम उदाहरणीय बनेको छ । धेरैजसो युवाहरु रोजगारीको खोजीमा विदेशिने प्रवृत्ति बढिरहेका बेला उनले आफ्नै गाउँठाउँमा कृषि व्यवसायमार्फत रोजगारी सिर्जना गरिरहेका छन् । सापकोटाले बयर खेतीलाई व्यवस्थित र आधुनिक तरिकाले विस्तार गरेका छन् । उनले रोपेका बयरका बिरुवाले रोपेको दोस्रो वर्षदेखि नै राम्रो फल दिन थालेपछि खेती थप विस्तार गर्ने आत्मविश्वास बढेको बताउँछन् । ‘सही तरिकाले खेती गरे बयरबाट राम्रो आम्दानी लिन सकिन्छ,’ सापकोटाले भने, ‘पहिलो वर्ष पछि अलि अलि त फल्छ तर दोस्रो वर्षदेखि राम्रोसँग फल दिन थाल्छ र बजारमा पनि राम्रो माग छ ।’ बिरुवा ल्याउन भने अलिक कठिन छ । भारतको कलकत्ताबाट उनले उन्नत विरुवा ल्याउने गरेका छन् । राम्रो र छिटो उत्पादनका लागि उन्नत विरुवाको छनौट मुख्य आवश्यकता रहेको उनको भनाई छ ।
क्यान्सरको उपचारका क्रममा शैयामा रहेका बेला युट्युवमा बयर खेती सम्वन्धि भिडीयो देखे पछि उनको ध्यान यता तानिएको हो । भारतमा उपचार गराई रहेका बेला उनले यस बारेमा जानकारी पाएका थिए । उतै यसको अवलोकन र जानकारी लिए पछि उनले खेती शुरु गरेका हुन् ।
उनको फार्ममा सिजनको समयमा करिब ६० जनाले रोजगारी पाउने गरेका छन् । बगैँचाको हेरचाह, फल टिप्ने, प्याकिङ गर्ने र बजार पठाउने कामका लागि स्थानीय श्रमिकहरुलाई काम दिने गरिएको छ । यसबाहेक सात जनालाई भने उनले पूर्णकालीन रोजगारी प्रदान गरेका छन् । यसरी कृषि व्यवसायमार्फत उनले गाउँमै रोजगारी सिर्जना गर्नुका साथै स्थानीय अर्थतन्त्रमा पनि योगदान पु¥याइरहेका छन् । उनका अनुसार मेहनत, योजना र धैर्य भए कृषि क्षेत्रमा राम्रो सम्भावना रहेको छ ।
यद्यपि, उनले कृषि क्षेत्रमा सरकारी सहयोग भने पर्याप्त रूपमा पाउन नसकेको गुनासो गरेका छन् । ‘सरकारले किसानलाई वास्तविक रुपमा सहयोग गर्ने हो भने कृषि क्षेत्रबाट धेरै युवालाई स्वदेशमै रोक्न सकिन्छ,’ झिलभिलेको बयर खेतीमा कुराकानीका क्रममा उनले भने, ‘तर यहाँ चाँहि अहिलेसम्म आफूले अपेक्षाअनुसारको सहयोग पाउन सकेको छैन उता (विर्तामोड) मा चाँहि कृषि चुन लगायतका केहि सहयोग पाईएको थियो ।’
सापकोटाले कृषि क्षेत्रमा अनुदान, प्राविधिक सहयोग र बजार व्यवस्थापनमा राज्यले प्रभावकारी भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याएका छन् । किसानलाई सहज ऋण, आधुनिक प्रविधि र बजार सुनिश्चित गरिदिए कृषि क्षेत्रले ठूलो परिवर्तन ल्याउन सक्ने उनको विश्वास छ । क्यान्सरजस्तो गम्भीर रोगसँग संघर्ष गरेर जीवनको दोस्रो अध्याय सुरु गरेका सापकोटाका लागि बयर खेती केवल व्यवसाय मात्र होइन, जीवनप्रतिको आशा र आत्मविश्वासको प्रतीक पनि बनेको छ । रोग र उमेरसँगको संघर्षका विच पनि उनले श्रम र लगनशीलता भने छाडेका छैनन् । यही कारण उनी अहिले धेरैका लागि प्रेरणाको स्रोत बनेका छन् । स्वदेशमा रोजगारी र आम्दानीको अवसर छैन भन्ने धारणा बनिरहेका बेला सापकोटाले कृषि क्षेत्रमा मेहनत गरे सफल हुन सकिन्छ भन्ने सन्देश दिएका छन् । त्यसैले ७१ वर्षका यी क्यान्सर विजेता किसान झापामा व्यवसायीक कृषकको एउटा उदाहरण बनेका छन् ।