दमक/ देशका अन्य निर्वाचन क्षेत्रहरूजस्तै संखुवासभामा पनि प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा राजनीतिक वातावरण चर्किँदै गएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मुख्य चार राजनीतिक दल — नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) —बीच रोचक प्रतिस्पर्धा देखिएको छ ।
उक्त निर्वाचनमा एमालेबाट डा. अर्जुन कार्की, कांग्रेसबाट दीपनकुमार श्रेष्ठ, रास्वपाबाट मिङ्मा शेर्पा र नेकपाबाट सरिता थापा खड्का मुख्य प्रतिस्पर्धीका रूपमा देखा परेका छन् । बौद्धिक व्यक्तित्व तथा शिक्षाविद् सूर्य अधिकारीका अनुसार विगतका निर्वाचनका नतिजा र मतखसाइको प्रवृत्तिलाई हेर्दा यस पटक पनि जम्मा मतको करिब ६० प्रतिशत हाराहारी मत खस्ने अनुमान गरिएको छ। करिब ६०–६५ हजार मत खसेमा विजेता र उपविजेताबीचको मतान्तर पाँच सयदेखि दुई हजारसम्मको दायरामा सीमित हुने सम्भावना अधिकारीले औंल्याएका छन् । उनका अनुसार तेस्रो र चौथो स्थानमा रहने उम्मेदवारले करिब १० देखि १३ हजारसम्म मत पाउन सक्ने देखिन्छ भने अन्य साना दलका उम्मेदवारका लागि सदर मतको थ्रेसहोल्ड पार गर्न कठिन परिस्थिति देखिएको छ ।
अघिल्लो प्रतिनिधि सभा निर्वाचन
(२०७९) मा कांग्रेसका दीपक खड्का विजयी भएका थिए भने एमालेका राजेन्द्रप्रसाद गौतम पराजित भएका थिए। त्यसअघि २०७४ को निर्वाचनमा भने गौतमले खड्कालाई हराएका थिए । यी दुबै अहिले प्रतिस्पर्धामा नरहेका कारण यस पटकको निर्वाचन पूर्णतः नयाँ अनुहारहरूबीचको प्रतिस्पर्धा बनेको छ, जसले परिणाम अझ अनिश्चित बनाएको विश्लेषकहरूको ठहर छ ।
एमालेबाट उम्मेदवार बनेका अर्जुन कार्की नेपालका अनुभवी कूटनीतिज्ञ, विकास चिन्तक तथा लोकतान्त्रिक अभियन्ता हुन् । संखुवासभामा जन्मिएका उनले तीन दशकभन्दा बढी समयदेखि गरिबी निवारण, सामाजिक न्याय, लोकतन्त्र र मानव अधिकारका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । नेपाल सरकारको तर्फबाट संयुक्त राज्य अमेरिका र ल्याटिन अमेरिकी देशहरूमा राजदूतको रूपमा सेवा दिँदै उनले नेपालको सार्वभौमिकता र हित संरक्षणमा महत्वपूर्ण योगदान दिएका थिए । सन् २००६ को लोकतान्त्रिक आन्दोलनका क्रममा अन्तर्राष्ट्रिय स्तरमा पैरवी गरेका कार्की अहिले आफ्नो जन्मभूमिको विकासमा योगदान गर्न संघीय संसदमा पुग्ने लक्ष्यमा छन् । उनी भन्छन्, “म बाँकी जीवन आफ्नो जन्मथलो र देशको समृद्धिका लागि समर्पित गर्न चाहन्छु ।”
बौद्धिक विश्लेषक सूर्य अधिकारीका अनुसार एमाले अहिले पनि सांगठनिक रूपमा मजबुत देखिन्छ । उनले भने, “यदि डा. कार्कीलाई यसअघि सांसद बनाएका दीपक खड्का र प्रदेश सांसद राजेन्द्र कार्कीले सहयोग गरे भने उनको जित सहज हुन सक्छ। तर दलभित्रको प्रतिस्पर्धा र आ–आफ्नो प्रतिबद्धता बलियो रहँदा सिट उम्किन पनि सक्छ ।”
नेपाली कांग्रेसमा भने आन्तरिक द्वन्द्व चुलिएको देखिन्छ । विशेष महाधिवेशनपछि पार्टीभित्र गगन थापा पक्षधर र शशांक कोइराला (देउवा) पक्षधरबीच स्पष्ट विभाजन देखिएको छ । यसले पार्टीभित्र एकताको अभाव सिर्जना गरेको विश्लेषक अधिकारीको भनाइ छ । उनले भने, “दीपक खड्काले टिकट नपाएपछि असन्तुष्ट देखिएका छन् । त्यही असन्तुष्टिले पार्टीभित्रै घात–अन्तर्घात बढ्न सक्छ ।” कांग्रेसभित्रको यो विभाजनका कारण दीपनकुमार श्रेष्ठको जित कठिन बन्ने देखिन्छ ।
यसबीच, रास्वपाका उम्मेदवार मिङ्मा शेर्पा संखुवासभामा नयाँ राजनीतिक विकल्पका रूपमा उदाएका छन्। विश्वका ८ हजार मिटरभन्दा माथिका सबै १४ शिखर आरोहण गरेर इतिहास रचिसकेका मिङ्मा शेर्पा अहिले प्रत्यक्ष राजनीतिमा पहिलोपटक होमिएका हुन् । उनले सुशासन, पारदर्शिता र विकासलाई मुख्य एजेन्डा बनाएका छन्। ग्रामीण क्षेत्रमा सय घरमध्ये करिब ८० घरका सदस्य विदेशमा रहेको र तीमध्ये अधिकांशले नयाँ शक्ति रोज्ने मनोवृत्ति देखिएकाले रास्वपाको समर्थन बढ्दो क्रममा रहेको अधिकारीको विश्लेषण छ । उनले भने, “शेर्पाको पर्वतारोहणको प्रतिष्ठा, सफा, स्वच्छ छवि र ‘घण्टी चिन्ह’को आकर्षणले ग्रामीण जनतालाई तानेको छ ।”
नेकपाबाट उम्मेदवार बनेकी सरिता थापा खड्का, स्वर्गीय डम्बर खड्काकी श्रीमती तथा पूर्व प्रदेश सभा सदस्य, लामो समयदेखि शिक्षण पेशा र शिक्षक संगठनमा सक्रिय रहेकी थिइन् । २०६२–६३ को जनआन्दोलनमा सक्रिय भूमिका खेलेकी उनले पछि पूर्णकालीन राजनीतिमा प्रवेश गरेकी थिइन् । श्रीमानको लोकप्रियता र सहानुभूति मतसँगै उनको इमान्दार छवि तथा संगठनात्मक बलले उनलाई पनि प्रतिस्पर्धामा सबल बनाएको छ । संखुवासभामा हाल एक लाख १९ हजार ६३० मतदाता छन् । यहाँ १०९ मतदान स्थल र १६४ मतदान केन्द्र तोकिएका छन् । यस पटक १५ दल र एक स्वतन्त्र गरी १६ उम्मेदवार चुनावी मैदानमा छन्, जसमा तीन महिला उम्मेदवार पनि छन् ।
यस पटकको निर्वाचनमा सबै उम्मेदवारले सुशासन, भ्रष्टाचार नियन्त्रण, पर्यटन प्रवद्र्धन र कृषि आधुनिकीकरणलाई मुख्य एजेन्डा बनाएका छन् । कांग्रेसका श्रेष्ठले सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि आवाज उठाइरहेका छन् भने एमालेका डा. कार्कीले नेपाल र नेपालीको समृद्धिका लागि ठोस कार्ययोजना अघि सारेका छन्। रास्वपाका मिङ्मा शेर्पाले संखुवासभाको पर्यटन प्रवद्र्धन र अन्तर्राष्ट्रिय पहिचानका लागि प्रतिबद्धता जनाएका छन् । नेकपाकी सरिता थापाले भने प्रचुर प्राकृतिक स्रोत–साधन हुँदा पनि सदुपयोग नहुँदा २१ प्रतिशत जनसंख्या अझै गरिबीको रेखामुनि रहेको उल्लेख गर्दै सुशासन र समान अवसरका लागि संघर्ष गर्ने बताएकी छन् ।
राजनीतिक विश्लेषक अधिकारीको मूल्याङ्कनमा यो निर्वाचन संखुवासभामा निकै प्रतिस्पर्धात्मक र अनिश्चित हुनेछ । उनका अनुसार विगतको मत प्रवृत्ति, दलगत सन्तुलन, उम्मेदवारको छवि र मतदाताको मनोविज्ञानका कारण परिणाम “रोचक र अप्रत्याशित” बन्न सक्ने देखिन्छ । सो निर्वाचन क्षेत्रबाट उमा कुमारी राई – श्रम संस्कृति पार्टी, पद्म बहादुर तामाङ – राष्ट्रिय प्रजातन्त्र पार्टी, केशर सिंह राई – नेपाल जनमुक्ति पार्टी, घनश्याम वालिङ राई – राष्ट्रिय परिवर्तन पार्टी, पुष्प कोईराला – नेपाल कम्युनिस्ट पार्टी (माओवादी), रनमाया राई(चाम्लिङ) – संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, कृष्ण बहादुर राई – नेपाली जनश्रमदान संस्कृति पार्टी, वासुदेव दाहाल – स्वतन्त्रसहित हरिदेव श्रेष्ठ, भरत कुमार राई चुनावी प्रतिष्पर्धामा छन् ।