श्रीकृष्ण जन्माष्टमीका अवसरमा हरेक वर्ष भव्यताका साथ आयोजना हुने रथयात्रा यस वर्ष पनि उल्लासका साथ सम्पन्न भएको छ । आइतबार बिहानैदेखि दमकका बजार र आसपासका बस्तीमा झाँकीहरू प्रदर्शन गरेर रथयात्रालाई थप उल्लासमय बनाउँदै दिउँसो ३ बजे राधाकृष्ण मन्दिरबाट रथयात्रा आरम्भ गरिएको थियो ।
हरेक वर्ष कृष्ण जन्मास्टमीको भोलिपल्ट निकालिने रथयात्रा यो पटक पनि दमकमा निकालिएको थियो । रथयात्राका लागि शनिबार नयाँ रथको विशेष पूजा सम्पन्न गरी भोलीपल्ट सयौ भक्तजनहरुको सहभागीतामा भव्य उत्सवका साथ रथ यात्रा गरिँदा दमकमा सामुहिक सद्भावको उदाहरण बन्न सफल भएको अनुभूति सहज गर्न सकिन्छ ।
राधाकृष्ण मन्दिरको प्राङ्गणबाट दमक बजार हुदै, चोक, तथा बिभिन्न स्थनमा परिक्रममा गर्ने गरीको रुट तयार गरिए अनुसार रथयात्रा भएपनि विगतका वर्षहरुमा झै सहभागिता भने यो वर्ष देखिएन । दमकमा निकालिएको रथयात्राका क्रममा गाइने र बजाइने गीत तथा भजनहरुको उत्सव पनि विगतका वर्षहरुमा झैँ नभएको प्रतिक्रिया सामाजिक सञ्जालमार्फत अभिब्यक्त भइरहेका देखिन्छन्, यी कमजोरीहरुलाई आगामी दिनमा आयोजकले सुधार गर्नुपर्ने देखिएको छ ।
दमकसहित झापाको नौ ठाउँमा श्रीकृष्ण रथयात्रा निकालिएको थियो । भद्रपुर, बिर्तामोड, गौरीगञ्ज, शिवगञ्ज, मेचीनगर, गौरादह, तोपगाछी, शिवसताक्षीको ढुंगेल चोकलगायतका स्थानमा रथयात्रा निकालिएको र स्थानीयको उत्साहजनक सहभागिता रहनुले आम नागरिकको धर्मप्रतिको विश्वासलाई उजागर गरेको उदाहरणका रुपमा लिन सकिन्छ ।
हिन्दु धर्मावलम्बीले विशेष रूपमा मनाउने र उल्लास प्रकट गर्ने रथयात्रामा अन्य धर्मावलम्बीहरूको पनि उत्तिकै सहभागिता रहने गरेको छ । रथयात्रालाई थप आकर्षक बनाउन सयौँ झाँकी प्रदर्शन गरिएको देखिनुले पनि रथयात्रा सामुहिक बन्दै गएको आभास भएको छ । दर्जनौँ भजन मण्डली, धार्मिक सम्प्रदायहरूको झाँकी, लाखे नाच, कृष्ण भगवानको प्रतीक बनाएर प्रदर्शन गरिँदा सहभागीहरुमा देखिएको उत्साह र जाँगरले आयोजकलाई भने थप हौसला मिलेको हुनुपर्छ । जे होस् आगामी वर्षहरुमा पनि रथायात्रा धार्मिक दृष्टीकोणबाट मात्र नभइ सामुहिक र सहिष्णुता कायम राख्ने साझा कार्यक्रम बन्न सकून र समाजका संस्कृतिहरुमा साझा स्वामित्व छ भन्ने सन्देश यो पटकको रथयात्राले दिएको छ । हाम्रा संस्कार र संस्कृति साझा बनून् ।