:– बिमल लामिछाने :— नेपाल अहिले एक गम्भीर पर्यावरणीय संकटको सामना गरिरहेको छ । खासगरी मधेशका भूभागमा गर्मीको तीव्रता, लामो समयसम्म पानी नपर्नु, र जमिन चर्किने अवस्थासम्म पुग्दा मानव जीवनसँगै देशको कृषि प्रणालीसमेत संकटग्रस्त बनेको छ । तर यो समस्या केवल अहिलेको होइन, खडेरी नेपालको विगत, वर्तमान र सम्भावित भविष्यसँग जोडिएको एउटा गम्भीर विषय हो, जसले भविष्यमा खाद्य संकटको झन् ठूलो रुप लिन सक्ने आकलन पनि विज्ञहरुले गरिरहेका छन् ।
विगतकेही वर्षयताको खडेरी र अधिक वर्षाको तत्यांक हर्ने हो भने नेपाल क्रमशः पर्यावरणीय दृष्टीले असहज बन्दै गएको पाउन सकिन्छ । २०६३ देखि २०७८ सालसम्मको तथ्यांक हेर्दा १० वटा हिउँदमा सरदरभन्दा कम वर्षा भएको पाइन्छ । त्यसमध्ये २०६४, २०६५, २०७२, २०७३, २०७४ र २०७७ को हिउँदमा खडेरी नै परेको देखिन्छ भने गत वर्षको हिउँदमा सरदर पानी परेको थियो । तर, यो वर्ष धान रोप्ने सिजनमा निकै कम पानी परेकाले खडेरीको अवस्था बढेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, यस वर्षको हिउँद अवधिमा देशभर कुल १२.९ मिलिमिटर पानी परेको छ । यो हिउँद अवधिको अनुमानित औसत कुल वर्षा (६०.१ मिलिमिटर)को २१.४ प्रतिशत मात्रै हो । मंसीर १५ देखि फागुन १५ गतेसम्मको अवधिमा औसतभन्दा ७८ प्रतिशत कम पानी परेको छ ।
नेपालमा वर्षभरिमा हुने कुल वर्षाको करीब ८० प्रतिशत वर्षायाममा हुने गरेको छ । हिउँद अवधिमा करीब ४ प्रतिशत र अरू समयमा बाँकी १६ प्रतिशत वर्षा हुने गरेको तथ्यांक छ ।
उदाहरणका लागि, २०१५ को खडेरीले देशभरको धान उत्पादनमा २३ प्रतिशतसम्म गिरावट ल्याएको थियो भने २००२ को खडेरीले पश्चिम नेपालमा खाद्य आपूर्ति नै ठप्प पार्ने अवस्था ल्याएको थियो । यसरी हेर्दा खडेरी नेपालको कृषि अर्थतन्त्रको स्थायित्वमा सधैं चुनौतीको रूपमा रहँदै आएको देखिन्छ ।
वर्तमान खडेरीको अवस्थाः
यो वर्षको गर्मीयाममा मधेश प्रदेश लगायतका धेरै जिल्लामा लामो खडेरीको असर गहिरो रूपमा देखिएको छ । लगातार १५ दिनभन्दा बढी तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको देखिन्छ । नेपाल कृषि अनुसन्धान परिषद्का अनुसार, यस वर्षको खडेरीका कारण धान उत्पादनमा २५ देखि ३० प्रतिशत गिरावट आउने सम्भावना छ ।
खडेरीका कारण खेतीयोग्य जमिनमा पानीको अभाव, बिउ रोप्न नपाउने अवस्था, सिँचाइको असुविधा, र पहिले रोपिसकेको बाली सुक्न थालेको छ । किसानहरूको लगानी डुबिरहेको छ, गाउँ–गाउँमा ट्यांकरबाट पिउने पानी आपूर्ति गर्नुपर्ने अवस्था छ, र श्रमिक वर्गमा रोजगारी गुम्ने अवस्था आउन थालेको छ ।
खाद्य संकटको सम्भावनाः
वर्तमान खडेरीले तत्कालीन खाद्य उत्पादनमा असर मात्र गरेको छैन, यसले दीर्घकालीन खाद्य सुरक्षामा समेत गम्भीर असर पार्ने संकेत दिएको छ । नेपाल कृषि प्रधान देश हो, तर कुल खेतीयोग्य क्षेत्रको करिब ६५ प्रतिशत हिस्सा वर्षाको भरमा निर्भर छ । पानी नभएपछि खेती रोकिन्छ र खेती रोकिने बित्तिकै भोकमरीको अवस्था आउन सक्छ ।
अन्तर्राष्ट्रिय जलवायु रिपोर्टहरूका अनुसार, दक्षिण एशियामा सन् २०५० सम्म धान, मकै, र गहुँको उत्पादनमा ५० प्रतिशतसम्म गिरावट आउन सक्ने अनुमान गरिएको छ । नेपालको सन्दर्भमा यो भनेको खाद्य संकटको खतरनाक संकेत हो । खाद्य मूल्यवृद्धि, पोषण अभाव, भोकमरी, र सामाजिक अस्थिरता जस्ता समस्या त्यसपछि थप चर्किन सक्ने सहज अनुमान गर्न सकिन्छ ।
खडेरीका बहुआयामिक असरहरूः
खडेरीको असर केवल कृषि उत्पादनमा मात्रै सीमित छैन । यसले जल स्रोत सुकाउँदैछ, भूमिगत पानीको स्तर घटाउँदैछ, चरन क्षेत्र सुकाउँदैछ, र पशुपालनमा समेत प्रतिकूल असर पारिरहेको छ । स्वास्थ्यका हिसाबले पनि विभिन्न किसिमका रोग लाग्ने, मानसिक तनाव र विभिन्न संक्रमण रोगहरू बढ्ने खतरा रहन्छ ।
साथै, खडेरीका कारण खाद्य उत्पादनमा कमी आएपछि सामाजिक अन्योलता बढ्न थाल्छ । रोजगारी गुमेको, खाद्य पदार्थको मूल्य बढेको, गरिब वर्ग झनै गरिब भएको, र ग्रामीण जनसंख्या सहर पलायन भएको देखिन्छ । यस्तो अवस्थाले दीर्घकालीन रूपमा सामाजिक असमानता र अस्थिरता निम्त्याउने खतरा रहन्छ ।
समाधानको दिशा ः
यो संकटको दीर्घकालीन समाधान केवल राहत वितरण वा ट्यांकरबाट पानी पु¥याउने कामले हुन्न । यसको लागि समग्र रणनीति आवश्यक छ । जलवायु(मैत्री कृषि नीतिः सूखा सहन सक्ने बालीको प्रयोग, सिँचाइको वैकल्पिक प्रविधि (जस्तै, डिूप इरिगेसन), र परम्परागत ज्ञानसँग वैज्ञानिक प्रविधिको समायोजन । जल संरक्षण र व्यवस्थापनः वर्षा पानी संकलन गर्ने संरचना, साना सिँचाइ योजनाको विस्तार, र जमिनको जल(धारण क्षमता बढाउने प्रयास आदि विधि अपनाउनु अनिवार्य छ ।
वन संरक्षण र जमिन उपयोग नीतिः
चुरे क्षेत्रको दोहन रोक्ने, वृक्षारोपण अभियान बलियो बनाउने, र हरित क्षेत्र संरक्षणमा लगानी गर्ने कार्यमा संघीय, प्रदेश र स्थानीय सरकारले सहकार्य गरेर योजनागत रुपमा लाग्नुपर्ने देखिन्छ । यसमा अझ बढी दायित्व स्थानीय सरकारको हुनुपर्दछ ।
यसका साथै धान र मकैको अलावा अन्न उत्पादनको खाद्य भण्डारण र आपतकालीन तयारीः खडेरी प्रभावित क्षेत्रमा खाद्य भण्डारणको उचित संरचना बनाउने, स्थानिक बीउ तथा अनाज बैंक स्थापना गर्ने जस्ता योजना तय गर्न सकिन्छ ।
निष्कर्षः
अहिलेको खडेरीले हामीलाई प्रकृतिप्रतिको दायित्व र दीर्घकालीन सोचको महत्व सम्झाइरहेको छ । वर्तमान संकट कुनै एक क्षेत्रको मात्र होइन; यो समग्र देशको चेतावनी हो । यदि हामीले अहिले नै जलवायु(मैत्री विकास, कृषि सुदृढीकरण, र वातावरण संरक्षणमा ध्यान दिएनौं भने भविष्यमा हामी गम्भीर खाद्य संकटको सामना गर्न बाध्य हुनेछौं । यसैले, राज्य, समाज र हाम्रै घर(घरबाट समाधानको यात्रा सुरु गर्नुपर्ने समय अब आइपुगेको छ । प्रकृतिसँग सहकार्य नगरी, मानव अस्तित्व सहज हुन सक्दैन ।