अर्थ देश–समाज राष्ट्रिय समाचार स्थानीय

स्थानीयदेखि राष्ट्रिय स्तरका विभिन्न घटनासहितका सारसंक्षेप समाचार

मुख्यमन्त्री कार्की र चीनका राजदुतबीच भेटवार्ता
विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र चीनका राजदूत चेन सोंग बीच भेटवार्ता भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजदूत र मुख्यमन्त्रीबीच भेटघाट भएको हो । भेटघाटको अवसरमा दुईपक्ष हितका विषयमा कुराकानी भएको थियो । सो भेटघाटमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सरकारले अहिले गरिरहेको काम का विषयमा प्रकाश पारेका थिए । कृषि, पर्यटन, सूचना प्रविधिका विषयमा सहयोग गर्नका लागि पनि राजदूत सोंगलाई मुख्यमन्त्री कार्कीले आग्रह गरे । उनले किमाथांका–जोगबनी सडकका विषयमा पनि राजदूतलाई जानकारी गराउँदै सडकले नेपालको पर्यटन र विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए । सो अवसरमा चीनका राजदूत चेन सोंगले कोशी प्रदेशको कृषि उत्पादनलाई प्रविधिसँग जोडेर गुणस्तरीय उत्पादन गर्न सके बजार विस्तार हुने बताए । उहाँले कोशी प्रदेशको कृषि उत्पादन बजारीकरण का विषयमा चासो राखेका थिए । राजदूत सोंगले किमाथांका क्षेत्रमा आफ्नोतिर सबै निर्माण काम भएको तर नेपालतर्फ काम हुन नसकिरहेको विषयमा पनि चासो राखे ।
चीनतर्फको भागमा अहिले निर्माण कार्य सम्पन्न भइसकेको छ। नेपालतर्फको निर्माणमा ध्यान दिनुपर्ने कुरामा उहाँको जोड थियो । राजदूत चोग केही दिनदेखि कोशी प्रदेशको भ्रमणमा हुनुहुन्छ। उहाँले इलाम लगायत कोशी प्रदेशका विभिन्न क्षेत्रमा चीन सरकारले गरेको सहयोगका कार्यक्रम हरू निरीक्षण गरेका थिए ।


मुख्य न्यायाधीसमा सिफारिस
दमक÷उच्च अदालतका लागि ४ जना मुख्य न्यायधिसमा सिफारिस भएका छन् । शुक्रबार बसेको न्याय परिषदले उच्च अदालतका रिक्त चार मुख्य न्यायाधीश सिफारिस गरेको हो । शुक्रबार बिहान बसेको न्याय परिषद बैठकले उच्च अदालतका न्यायाधीशहरुमा राजन प्रसाद भट्राई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेश्वर तिवारीलाई मुख्य न्यायाधीशमा सिफारिस गरेको जनाइएको छ ।

नेकाले बैठक बोलायो
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । असार १५ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाईएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरू सहभागी रहनेछन् ।

त्रिविमा प्राध्यापक नियुक्तिको विरोधमा ताला
त्रिभुवन विश्वविद्यालयले फास्ट ट्रयाकमार्फत प्राध्यापक नियुक्ति गर्न लागेको विरोधमा आंशिक प्राध्यापक संघले उपकुलपति, रेक्टर, रजिस्टार र सेवा आयोग कार्यालयको मुलगेटमा तालाबन्दी गरेका छन् । तालाबन्दीपछि त्रिविको आर्थिक, प्रशासनीय र प्राज्ञिक काम ठप्प भएको छ । संघले ५ सूत्रीय माग राखी तालाबन्दी गरेको हो । शुक्रबार दिउँसो संघले तीनैजना पदाधिकारी र सोव आयोगको कार्यालयको मुल गेटमा मागपत्र टाँसेर तालाबन्दी गरेको हो ।

भद्रपुरमा रक्तदान कार्यक्रम
झापा । विश्व रक्तदाता दिवसको अवसरमा भद्रपुरमा आयोजित रक्तदानमाम ४३ पिन्ट रगत संकलन भएको छ । वडा प्रहरी कार्यालय भद्रपुर, सामुदायिक सेवा केन्द्र भद्रपुर, सगरमाथा सामुदायिक सिकाई केन्द्र भद्रपुर र चन्द्रगढी युथ क्लबको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाइटी भद्रपुरको सहकार्यमा वडा प्रहरी कार्यालयको प्राङ्गणमा भएको रक्तदानमा ४३ जनाले रगतदान गरेका थिए ।

करेन्ट लागेर किशोरीको मृत्यु
उदयपुर/ उदयपुरको बेलका नगरपालिका–५ मा शुक्रबार बिहान करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । स्थानीय संजिव कार्कीकी १७ वर्षीया छोरी दुर्गा कार्की बिहान साढे ८ बजे आफ्नै घर नजिकको कुखुराको फर्ममा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन् । छटपटाइ रहेको अवस्थामा देखेपछि आफन्तहरूले उनलाई तत्काल उपचारका लागि बेलका नगर अस्पताल लगेका थिए । उपचारकै क्रममा विहान करिव साढे ९ बजे उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलटारले जनाएको छ । मृतकको शवलाई पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ ।

धिमालको जात्रीमा स्थानीय बिदा
दमक÷ दमक नगरपालिकाले धिमाल जातिको जात्री पर्वको अवसरमा यही असार २ गते स्थानीय विदा दिएको छ । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार कार्कीले शुक्रवार सूचना निकालेर धिमाल जातिको जात्री पर्वमा एक दिनका लागि स्थानीय बिदा दिइएको उल्लेख छ । जारी सूचनामा जात्री पर्वमा आकस्मिक बाहेक नगरपालिका कार्यालय, वडा कार्यालय, आधारभूत केन्द्र तथा शैक्षिक संस्थाहरुमा सार्वजनिक विदा दिईएको जारी सूचनामा जनाईएको छ । नगरपालिकाले २०७४ असोज ३० गते धिमाल जातिलाई प्रथम नागरिक घोषणा गरेको थियो । यसअघि समेत धिमाल जातिको जात्री पर्वमा स्थानीय विदा दिंदै आएको छ ।

पक्राउ परेका कर्मचारीको कोठाबाट सरकारी कागजात बरामद्
दमक÷ परस्त्रीसँग आपत्तिजनक अवस्थामा रंगेहात पक्राउ परेका नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन सिरहाका अध्यक्ष राजकुमार रायको कोठाबाट प्रहरीले सरकारी कार्यालयका महत्वपूर्ण कागजात बरामद गरेको छ । सिरहा नगरपालिका–७ मा भाडामा बस्दै आएका रायलाई प्रहरीले बिहीबार एक महिलासँग आपत्तिजनक अवस्थामा पक्राउ गरेको थियो । मालपोत कार्यालय सिरहाका कर्मचारी रहेका रायले आफूलाई लामो समयदेखि शारीरिक शोषण गर्दै आएको र मानसिक यातना दिएको भन्दै महिलाले उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेपछि प्रहरीले शुक्रबार राय बस्दै आएको कोठामा छापा मारेको थियो। खानतलासीको क्रममा प्रहरी टोलीले मालपोत कार्यालयसँग सम्बन्धित कैयौं सरकारी कागजातको ठेलीहरू बरामद गरेको जनाएको छ। सरकारी कागजात व्यक्तिगत कोठामा राख्नु गैरकानुनी कार्य हो ।

श्रमदानमा घाइते राईको मृत्यु
धरान÷ धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङले सुरु गरेको कोकाह प्रोजेक्ट भाग–२ को श्रमदानमा पाईप तान्दा भीरबाट लडेर गम्भीर घाइते भएका धरान–११ का ६५ वर्षीय कुलराज राईको बिपी प्रतिष्ठानमा मृत्यु भएको छ । घाइते श्रमदाता राईको आज शुक्रवार मृत्यु भएको उनका भतिज मेघराज राई ईलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएको डिएसपी प्रकाश जवेगुले बताए । श्रमदानमा घाइते राई वराहक्षेत्र वडा १ स्थित बान्द्रेचौरी भन्ने स्थानमा श्रमदान चलिरहेको बेला कोकाह प्रोजेक्ट–२ को पाइप तान्दै गर्दा गतः माघ १९ गते शनिवार करिब १० मिटर माथि भीरबाट लडेर गम्भीर घाइते भएका थिए । उनको ५ महिना देखि बिपी प्रतिष्ठान आइसियुको भिआइपी सघन कक्ष आइसियुमा उपचार भइरहेको थियो । आइसियुमा उनको रेखदेख विभागका कोअडिनेटर डा. सविन भण्डारीले गरेका थिए । भिरबाट खसेका ६५ वर्षीय राईको पेटमा, टाउको र शरीरमा गम्भीर चोट लागेको थियो । उनको माघ २० गते सघन कक्षमा शल्यक्रिया भएको अस्पतालले जनाएको थियो । शल्यक्रिया गरेपछि फोक्सोमा समस्या भई सघन उपचार कक्ष आइसियुमा उपचार भइरहेको डा. भण्डारीले जनाएका थिए ।

टेलिकमको भ्रष्टाचारमा मुद्दामा श्रीमान, श्रीमति निमित्त प्रबन्धक
दमक÷ नेपाल टेलिकममा एकातिर ३३ करोडभन्दा बढीको भ्रष्टाचारको मुद्दा चलिरहेको छ भने अर्कोतर्फ सोही मुद्दासँग सम्बन्धित एक व्यक्तिको श्रीमतीलाई टेलिकमको निमित्त प्रबन्ध निर्देशक नियुक्त गरिएको घटनाले सुशासनमाथि गम्भीर प्रश्न उठाएको छ । नेपाल टेलिकमका तत्कालीन निमित्त प्रबन्ध निर्देशक अमूल प्रधानविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएपछि सरकारद्वारा उनकी श्रीमती सविना मास्केलाई टेलिकमको निमित्त प्रमुख बनाइएको छ । सविना प्रधान (मास्के)यसअघि टेलिकममा प्रमुख प्राविधिक अधिकृतको हैसियतले कार्यरत थिइन् र उनले यसै मुद्दामा अख्तियारमा बयान समेत दिएकी थिइन्।

प्रहरीमाथि अपशब्द बोल्ने गाप अध्यक्षमाथि अनुसन्धान
इनरुवा÷ कोशी गाउँपालिका अध्यक्ष ऐयुव अन्सारी माथि अनुसन्धान सुरु भएको छ । ड्युटीमा खटिएका प्रहरीलाई अपशब्द प्रयोग गर्दै गालीगलौज गरेको विषयमा अनुसन्धान भएको हो । ड्युटीमा रहेका राष्ट्रसेवक कर्मचारीको काममा बाधा पु¥याएको, हुल हुज्जत र गालीगलौज गरेको र अभद्र व्यवहारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । प्रहरीको मनोबल गिराएको भन्दै प्रहरीले मुद्दा दायर गर्ने तयारी गरेको हो । अध्यक्ष अन्सारीले कोशी कटानमा रहेको ट्राफिक प्रहरी र जनपथ प्रहरीलाई अभद्र शब्द प्रयोग गर्दै गाली गरेका थिए । अन्सारीले रिसाएर गाली गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।

साढे १२ क्वीन्टल चिनी प्रहरी नियन्त्रणमा
बिर्तामोड÷ ईलाका प्रहरी कार्यालय अनारमनीले भन्सार छलेर ल्याएको २५ बोरा चिनीसहित एउटा पिकअप नियन्त्रणमा लिएको छ । हिजो दिउसो ४ बजेको समयमा बिर्तामोड–५ सुब्बा चौकमा मे.१ च ६२८४ नं को पिकअपमा लोड गरेको अवस्थामा चिनी बरामद गरेको हो । भन्सार छली लुकाई छिपाई सर सामान ल्याएको भनी गोप्य सुचनाका आधारमा इप्रका अनारमनीको टोलीले ५० किलोग्रामको दरले २५ बोरा चिनी बरामद गरेको थियो ।
प्रहरीले चिनीको मुल्य १ लाख २५,००० र पिकअपको १२ लाख राखेर आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाउने प्रक्रिया सुरु गरेको जनाएको छ । भारतबाट अवैध तरिकाले चिनी ल्याउने कनकाई–१८ बस्ने बर्ष ३२ को नारायण सिटौलालाई पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Author

You may also like