दमक । केही समय अघि मात्र कोशी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी वहन गरेका प्रहरी नायव महानिरीक्षक (डिआईजी) ईश्वर कार्कीको प्रहरी कार्यालय निरिक्षणको क्रममा दमकमा आइपुग्दा उनलाई आत्मिय स्वागत गरिएको थियो ।
१० वर्ष अघि यहि दमकको इलाका प्रहरी कार्यालयमा डिएसपीको जिम्मेवारीमा रहँदा दमकबासीसँग रहेको आत्मियता अहिले बढुवा भएर डिआईजीको रुपमा पाउँदा प्रकट गर्दै सम्मान गरिएको हो ।
निरीक्षणको क्रममा जिल्ला प्रहरी कार्यालय झापा हुँदै दमक आइपुगेका डिआईजी कार्कीले समाजमा शान्ति सु–व्यवस्था प्रभावकारी बनाउन प्रहरीको एक्लो प्रयासले मात्र नहुने हुँदा समुदायको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
झापाको दमकमा सोमबार आयोजित अन्तरकृया कार्यक्रममा बोल्दै उनले शान्ति सुव्यवस्था कायम गर्न प्रहरी र नागरिक वीच समन्वय र सहकार्य गरी अगाडि बढेमा समाजमा हुने बिभिन्न किसिमका अपराधका घटनाहरुमा कमी आउने उल्लेख गरे ।
सो अवसरमा संविधानसभा सदस्य महेन्द्रकुमारी लिम्बू, गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदी, कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य गोकुल श्रेष्ठ, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई लगायत दमकका उद्योग व्यावसायी, स्थानीयबासी, जनप्रतिनिधि, राजनीतिक दल, संचारकर्मी लगायतको सहभागिता रहेको थियो । अन्तरकृयामा सहभागिहरुले समाजमा बढ्दै गएका चोरी, डकैती, लागूऔषध लगायतका विभिन्न किसिमका अपराधका घटनाहरुलाई निरुत्साहित गर्न तथा शान्तिसुरक्षा मजवुत बनाउन प्रहरीको भूमिका महत्वपूर्ण हुने औल्याएका थिए ।
सो अवसरमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्वू , इलाका प्रहरी कार्यालय दमकका डिएसपी राजन तिम्सिनासहित प्रहरी अधिकारीहरुको उपस्थिति रहेको थियो ।