दमक/ चोक छेउमा रहेको दमक बस पार्कलाई सौन्दर्य तथा हरियालीकरण पार्ने तर्फ दमक नगरपालिकाले चासो देखाएको छ । बस पार्ककको पूर्व साइडमा रहेको खाली जग्गामा सुन्दर पार्क निर्माणकालागि दमक नगरप्रमुख रामकुमार थापाले सोमबार शिलान्यास गरेका छन् । पार्कमा भगवान बुद्धको स्तम्भ र विश्वकर्मा बाबाका मूर्ति निर्माण हुनेछन् । छेउछेउमा हरियाली तथा आगन्तुकहरुका लागि बस्ने स्थानको व्यवस्था गरिने भएको छ ।
बसपार्कको सुन्दरता नगरको पहिचान हो, यो पार्क भएर टाढा–टाढादेखिका हजारौं यात्रीहरु आवत जावत गर्दछन् । बसपार्कको सुन्दरताले ती व्यक्तिहरुमा दमक प्रतिको धारणा नै वेग्लै रहने मेयर थापाले बताएका छन् । उनले त्यहाँ उपस्थित, प्रहरी प्रमुख, ट्राफिक प्रहरीहरु, नगर प्रहरी तथा बसपार्क व्यवस्थापन समितिलाई, सवारी साधनहरुलाई व्यवस्थित गरेर राख्न, सरसफाईमा ध्यान दिन, सुरक्षाको प्रत्याभूति दिलाउन सकृय रहन आग्रह गर्दै यि कार्यहरु पुरा गर्न नपाको सँधै साथ सहयोग रहने प्रतिबद्धता जाहेर गरेका छन् ।
सो अवसरमा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले बसपार्क भित्रको विकृति, छरफस्ट सवारी साधन तथा अव्यवस्थित ठेलाहरुले बसपार्कलाई कुरुप बनाउँदै लगेको कुरा औल्याउँदै सौन्दर्यकरणका लागि संघको तर्फबाट सहयोग पु¥याउन तत्पर रहेको बताएका छन् । १८ लाख ५६ हजार ७ सय ७० रुपैयाँको लागतमा निर्माण हुन गइरहेको पार्क २०८२ जेठ मसान्तसम्म पूरा हुने जानकारी गराइएको छ ।