एजेन्सी/ चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ८० पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुले कम्तीमा ८० जनाको मृत्यु भएको र झन्डै २ हजार ७ ४४ जना सङ्क्रमित भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ ।
सङ्क्रमितमध्ये ४ सय ६० जनाको अवस्था गम्भीर रहेको सो आयोगले जनाएको छ । गत २४ घण्टायता ७ सय ६९ जना नागरिकमा यो भाइरसको सङ्क्रमण देखिएको छ । त्यसैगरी, ३ हजार ८ सय ६ जनालाई पनि यसको सङ्क्रमणको आशङ्का गरिएको आयोगले जनाएको छ ।
सङ्क्रमणको प्रकोप चीनका कम्तीमा २५ प्रान्तमा फैलिएको छ भने कम्तीमा १८ सहरमा निकै डरलाग्दो तरिकाले फैलिएकाले ती सहरहरुमा यातायातका साधन सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ ।
सङ्क्रमणले अमेरिका, जापान, दक्षिण कोरिया, ताइवान, हङकङ, मकाउ र थाइल्यान्डमा छोइसकेको बताइन्छ । फ्रान्समा तीन जनामा कोरोना भाइरस देखिएको पुष्टि भएको छ ।
नेपालमा २ जनामा भाइरस
नेपालमा अर्का एक व्यक्तिमा पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा उपचाररत २ जनामध्ये एक जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ । यसअघि चीनबाट आएका एक युवकमा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको थियो । योसँगै, नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई पुगेको छ ।
चीनबाट नेपाल आइपुगेकी ४८ वर्षकी महिलामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको अस्पताल स्रोतको भनाइ छ । ती महिलासँगै अस्पताल भर्ना भएका २८ वर्षका पुरmषमा भने भाइरस सङ्क्रमण नभएको पुष्टि भएको अस्पतालले जनाएको छ ।
अब नेपालमै परीक्षण
अब नेपालमै कोरोना भाइरसको नमुना परीक्षण हुने भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कोरोना भाइरसको नमुना परीक्षणको तयारी भएको प्रयोगशालाकी निर्देशक डा. रmना झाले जानकारी दिइन् । ‘कोरानाको परीक्षणका लागि आवश्यक केमिकल आइसकेकाले सोमबारदेखि परीक्षण गर्ने तयारी छ,’ उनले भनिन्, ‘उपचारका क्रममा चिकित्सकले कोरोना भाइरसको शङ्का गरेका व्यक्तिको मात्र परीक्षण गरिन्छ ।’