नेपालका पवुरातात्विक महत्वका वस्तुहरुको संरक्षणमा बडो चनाखो भएर संरक्षण गर्न आवश्यक देखिन्छ । पुरातात्विक सम्पदाको धनी नेपालका पुरा ऐतिहासिक वस्तुहरु विभिन्न वहानामा नेपाल बाहिर गएका छन् । भर्खरै मात्र नेपालबाट चोरी भएर अमेरिका पुगेका २१ पुरातात्विक महत्वका कलात्मक वस्तु नेपाल फिर्ता आएको छ । यो नेपालको पहलकदमीबाट आएको भने होइन । अमेरिकी राष्ट्रपति डोनाल्ड टूम्पले नै यि वस्तुहरु फर्काई दिएका हुन । गत आइतबार पुरातत्व विभागले ती मूर्तिहरू सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरेको छ । यीमध्ये तीनवटा पौवा चित्र (१५–१८ औं शताब्दी) छन् । यी चित्र काठमाडौंको इटुम्बहालबाट वि.सं. २०३७ मा हराएका थिए।
त्यस्तै, एउटा प्रस्तरको स्थानक बुद्धको मूति (९ औं शताब्दी) बुङमतिको मच्छिन्द्रबहाल परिसरको चैत्यबाट हराएको थियो । साथै, आर्ट इन्स्टिच्युट शिकागोबाट फिर्ता भएको पाटनको गुइत टोलको गुइत चैत्यको प्रस्तरको मुद्धलिन्द बुद्धको मूर्ति बान– १ (१२–१३ औं शताब्दी) र अन्य १६ कलात्मक वस्तु (९–१९ औं शताब्दी) पनि नेपालका विभिन्न ठाउँबाट हराएर अमेरिका पुगेका थिए।
हालसम्म बेलायत, अस्टिूया, अमेरिका, चीन (तिब्बत), भारत, जर्मनी, अस्ट्रेलिया र इटलीबाट १७७ पुरातात्विक महत्वका मूर्ति र कलात्मक वस्तु विभिन्न व्यक्ति तथा संघसंस्थाको प्रयासबाट फिर्ता भइसकेका छन् । अमेरिका, फ्रान्स, बेलायत, चीन, अस्ट्रिया, अस्ट्रेलियालगायत देशबाट थप वस्तु फर्काउन कूटनीतिक पहल हुन आवश्यक देखिन्छ । संयुक्त राज्य अमेरिकाबाट मात्र नेपालमा फिर्ता भएका पुरातात्विक वस्तुको संख्या १०४ पुगेको छ।
फिर्ता आएकाको व्यवस्थापन र अन्य अनुसन्धान हुन उत्तिकै जरुरी छ । त्यो त झापामा पनि यस्ता वस्तुहरुको खोजि नभएको होइन बेला बेला यस्ता वस्तुहरुको खोजि गरी केही पत्ता लागेका इतिहास पनि छन् ।
शताव्दियौं अघिको अवस्था नियाल्न र विकासको क्रम केलाउन पुरातात्मिक महत्वका बस्तुको अनुसन्धान आवश्यक हुन्छ । पुरातात्विक महत्वका बस्तुको इतिहास खोज्ने र त्यसको तथ्यलाई प्रमाणको कसीमा ल्याउने काम यसबेला झापाको भद्रपुरमा गतवर्ष नभएको होइन । भद्रपुर नगरपालिका ३ पृथ्वीनगरस्थित महाभारतकालिन किचकबचमा दुई हजार दुई सय वर्ष पुराना पाँचवटा भवनका संरचना भएको पुष्टि भएको थियो । पुरातत्व विभागले किचकबधमा २०५८ सालमा पहिलोपटक आचार्यकै नेतृत्वमा उत्खन गरेको थियो । यसपटकको उत्खनन सातौँ हो । यसअघि २०३५ सालमा मेची बहुमुखी क्याम्पसका इतिहासका प्राध्यापक घनश्याम खनालको अगुवाइमा आफ्नै हिसावले उत्खनन भएको थियो । विराट राजाको सेनापति एवं सालो किचकले सैरन्ध्रीको भेषमा रहेकी द्रौपदीको सतित्व लुट्ने धृष्टता गर्दा भीमद्वारा मारिएको पौराणिक ग्रन्थमा उल्लेख छ । सो महाभारतकालिन इतिहाससंग जोडिएको क्षेत्र भएकाले यसको संरक्षणमा सरकार लागेको छ ।
नेपालका विभिन्न स्थानमा स्थापना गरिएको यस्ता ऐतिहासिक वस्तु नेपालका सांस्कृतिक सम्पत्ति हुन । यस्ता वस्तुको संरक्षणमा तीन वटै सरकारसहित यस्ता वस्तुमा जनसरोकारको चासो र चिन्ता हुन पनि उत्तिकै आवश्यक छ । विभिन्न कारणले विदेशी भूमिमा पुगेका पुरातात्विक ऐतिहासिक वस्तुहरु यसरी फर्किन थालेपछि अब नेपालबाट मूर्ति चोर्ने हिम्मत शायदै नगर्लान । विगतमा हराएका वस्तु अहिले फर्किनु सकारात्मक रहेको र नेपालका सम्पत्तिमाथि दुराचार गर्ने समय नरहेको स्पष्ट छ । मूर्ति प्रतिस्थापनमा सरकार जिम्मेवार हुनुपर्दछ । स्थानीय सरकारको आस्थाका पुञ्ज यस्ता धरोहरको संरक्षणमा उत्तिकै ध्यान पु¥याउन जरुरी छ ।