अर्थ देश–समाज समाचार स्थानीय

कोशी प्रदेश लगानी सम्मेलन अनिश्चित : सरकारी तयारी फितलो भएको माओवादी केन्द्रको आरोप

विराटनगर/ कोशी प्रदेशका ३७ आयोजनाका लागि १ खर्ब चार अर्ब ८५ करोड रुपैयाँ लगानी सम्मेलनबाट निश्चित गर्ने उद्देश्यका आयोजना हुन लागेको लगानी सम्मेलन अनिश्चित बनेको छ । यहि माघ ११ देखि १३ गतेसम्म आयोजना गर्न घोषित सम्मेलन माघमा गर्न नसक्ने भएपछि अर्को निर्णयको पखाईमा रहेको बुझिएको छ । हालसम्मको अवस्थाले माघमा लगानी सम्मेलन गर्न समयअभाव हुने आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बताएका छन् । उनका अनुसार ‘अहिलेसम्म आउँदा माघमा लगानी सम्मेलन नहुने निश्चित भयो’ उनले भने, ‘नयाँ मितिबारे परामर्श भइरहेको छ, केहि दिनमै मन्त्रिपरिषद्ले औपचारिक निर्णय गर्ला ।’
यद्यपी लगानी सम्मेलन किन अनिश्चित भयो भन्ने सन्दर्भमा कोशी प्रदेश मौन रहेको छ । मन्त्री मगरले तयारी पुरा नभएकोले लगानी सम्मेलन स्थगित हुने अवस्था आएको दावी गरे । तर, पुस ४ गते बसेको प्रदेशसभाको सुशासन समितिको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लगानी सम्मेलनको अन्तिम तयारी भइसकेको दावी गर्दै भब्य पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी दिने बताएका थिए । प्रदेश सरकारले लगानी सम्मेलनमा १ खर्बभन्दा धेरै लगानी भित्रने सुनिश्चित भइसकेको दावी समेत गरेको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भने लगानी सम्मेलनको सरकारी तयारी फितलो भएको भन्दै असन्तुष्टि जनाउँदै आएको थियो ।
स्रोतका अनुसार माओवादीले भनेजस्तै सरकारले लगानी सम्मेलनको तयारी नगरेकैले स्थगित हुने अवस्था बनेको हो । ‘भाषण र हल्लामा मात्र लगानी सम्मेलनको कुरा भयो’ प्रदेश सरकारका एक सचिवले भने, ‘सरकारले गर्नुपर्ने काम गरेन, बरु निजी क्षेत्रले सबै काम गरिदिने विश्वासमा मुख्यमन्त्री पर्दा सम्मेलन स्थगित हुने अवस्था बन्यो ।’
मुख्यमन्त्री कार्कीले लगानी सम्मेलनको व्यवस्थापनको जिम्मा उद्योग संगठन मोरङलाई दिने मौखिक सहमति गरेपछि निजी क्षेत्र नै त्यसबारे विभाजित भएको थियो । नेपाल उद्योग परिसंघसहितका संस्थाहरुले सरकारले गर्ने लगानी सम्मेलन एउटा अमुक संस्थालाई दिने तयारीप्रति आपत्ती जनाउँदै बहिष्कारको चेतावनी दिएको थियो ।
मुख्यमन्त्री कार्कीले उद्योग संगठनको व्यवस्थापनमा लगानी सम्मेलन गर्ने र सम्मेलनको उद्घाटन पनि संगठनले गर्न लागेको व्यापार मेलाको मञ्चमा गर्ने तयारी गरेका थिए । त्यसको लागि आफूहरुलाई सबै जिम्मा मुख्यमन्त्रीले दिएको संगठनले बताएका थियो भने नेपाल उद्योग वाणिज्य महासंघ कोशीले पनि निजी क्षेत्रलाई विश्वास गरेर सरकारले लगानी सम्मेलनको व्यवस्थापनको जिम्मा दिएको भन्दै स्वागत गरेको थियो ।
लगानी सम्मेलनमा सबै निजी क्षेत्रलाई विश्वासमा लिएर जानुपर्नेमा सरकारले आफैं निजी क्षेत्रलाई विभाजित गरेको र टेष्टभित्र लगानी सम्मेलन उद्घाटन गर्न लागेको भन्दै नेकपा माओवादी केन्द्र कोशी संसदीय दलले आपत्ती जनाएको थियो । त्यसपछि मुख्यमन्त्री कार्कीले लगानी सम्मेलन सरकारले आफैं गर्ने बताउँदै आएका थिए ।
लगानी सम्मेलन अब कहिले हुन्छ भन्ने सरकारले केहि बताएको छैन । आर्थिक मामिलामन्त्री मगरले अब तयारी पुरा गरेर लगानी सम्मेलन गर्ने बताउँदै त्यसको लागि विज्ञहरुसँग परामर्श भइरहेको जानकारी दिए । उनले अब वैशाखमा मात्र लगानी सम्मेलन हुनसक्ने बताएका छन् ।
लगानी सम्मेलनका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा मूल आयोजक समितिसहित ५ वटा विभिन्न समिति निर्माण भइसकेको थियो । यस्तै लगानी सम्मेलनको व्यवस्थापनको लागि छुट्टै सचिवालयको कार्यालय समेत सञ्चालन गरिएको थियो । एउटा मूल आयोजक समितिमा मुख्यमन्त्री कार्की संयोजक तथा उद्योग, वाणिज्य क्षेत्रका १० वटा निजी संघसंस्थाहरु सह–संयोजक थिए । यस्तै आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरको नेतृत्वमा निर्देशक समिति, आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीको नेतृत्वमा नीतिगत सुधार समिति गठन भएको थियो । पहिलो पटक आयोजना हुन लागेको प्रदेशस्तरमा लगानी सम्मेलनका लागि कोशी प्रदेश लगानी प्राधिकरणले ३७ वटा आयोजना सोकेसमा राख्न फाइनल गरिसकेको जनाएको थियो । ती ३७ आयोजनाको लागत १ खर्ब चार अर्ब ८५ करोड रहेको छ ।

Author

You may also like