देश–समाज समाचार स्थानीय

दमकमा २५ करोडका २९ सडक बन्दै, शहरमा धेरै बनिसके, ग्रामीण क्षेत्रमा बाँकी

दमक/ देशमै शहरी क्षेत्रमा धेरैभन्दा धेरै सडक बनेको एक नगरमा पर्छ दमक । यहाँ स्थानीय जनताको लागत सहभागीतामा एक समय सडक निर्माणमा उछालनै आयो, त्यसैले अधिकांश शहरी क्षेत्रमा एकपटक सडकहरु बनिसकेका छन् । त्यसयता अहिले भित्री र ग्रामीण क्षेत्रका सडकहरु बन्ने क्रमले पनि उत्तिकै गति लिन थालेको छ । यो आर्थिक वर्षमा मात्र दमकमा २९ वटा सडक कालोपत्रे हुने क्रमसँगै थप २० किलोमिटर सडक बन्ने भएको छ । त्यसका लागि २५ करोड १७ लाख ३० हजार ९८० को बजेट छुट्टिएको छ । यसपाली सडक निर्माणको योजना पनि अपेक्षा गरेभन्दा बढी द्रूततर र अत्यन्तै छोटो समयमा हुन थालेको छ । जुन कुरा वडा नं. १ स्थित दमक अस्पताल उत्तर बेलडाँगी सडक पूर्व चक्रपथ सम्मको सतासी मार्गको सडक सम्झौता भएको २५ दिनभित्रैमा निर्माण कार्य सम्पन्न भएबाट पुष्टि भएको छ । यसबाट यो वर्ष नगरस्तरीय सडक निर्माणको योजनाले छलाङनै मार्ने देखिएको छ ।
‘अहिले सम्ममा २४ वडा सडक निर्माणका योजनाहरु ठेक्का सम्झौता भइसकेका छन्  । बाँकी ५ वटा टेण्डर आह्वान भई ठेक्का लाग्ने प्रकृयामा रहेका छन् । यि सबै योजानाहरु आगामी जेठ महिनाभित्रमा सम्पन्न गरिसक्ने लक्ष्यअनुसार काम भइरहेको छ ।’ दमक नगरपालिका योजना तथा मूल्यांकन शाखाका सव–ईन्जिनियर कमल प्रसाद दाहालले भने– ठेकदारले चाहेमा शिघ्राती शिघ्र छोटो समयमै गुणस्तरीय सडक निर्माण गर्न सकिन्छ भन्ने उदाहरण हालै बनेको सतासी सडक मार्गले देखाएको छ । बाँकी सडकहरु पनि यसरीनै निर्माण हुनेगरी सम्झौता गरेका छौं ।’ सतासी मार्गको सडक ५८५ मिटर लम्बाई र ३० फिट चौडाईको रहेको छ । सतासी मार्गको सम्पन्न सडकको लागत १ करोड १८ लाख ३७ हजार
दमकमा….४७३ रुपैयाँ रहेको र स्थानीय विशार डिएमडब्लु कन्स्ट्रक्सन दमक–२ लाई ७७ लाख ५९ हजार १६६ रुपैयाँमा ठेक्का लागेको थियो । गत मंसिर ४ गते निर्माण सम्झौता भएको सो ठेक्काको काम आगामी चैत्र ३० गते सक्नुपर्ने भएपनि मंसिर २९ गतेनै सम्पन्न गरीसकिएको छ ।
‘यो हाम्रा लागि खुशीको कुरा हो । हामीले निर्माण सामग्रीहरु पनि परीक्षण गर्‍यौं, अहिले गुणस्तरीय (सडक) कालोपत्र बनेको छ । अन्यत्र पनि गुणस्तरीय सडक कालोपत्र गर्ने कुरामा निर्माण सामग्री परीक्षण र पटक पटक हुने प्राविधिकको अनुगमनले ढुक्क हुन सकिन्छ । त्यसमा तलमाथि हुँदैन । ’ सव–ईन्जिनियर दाहालले भने । स्थानीय सडक उपभोक्ता पदम बुढाथोकीले भने सतासी मार्ग कालोपत्र भएपछि आफूहरुलाई आवागमनमा सहजता थपिएको र यति चाँडो पनि सडक निर्माण गर्न सकिँदो रहेछ भन्ने उदाहरण प्रस्तुत भएको प्रतिक्रिया दिए । अर्का सडक उपभोक्ता शालिग्राम भट्टराईले इच्छाशक्ति भएर काम गरे नगरको विकास हुन समय नलाग्ने रहेछ भन्ने यसबाट प्रमाणित भएको भन्दै नगरपालिकालाई अन्यत्र पनि यस्तै गरेर देखाउन सुझाव दिए ।
नगरपालिकामा वर्षेनी सडक निर्माणका लागि योजना र मागका चाङहरु लाग्ने गर्दछन्  । तर नगरपालिकाले भने वडा र वडा जोड्ने सीमानाका सडक तथा पानी निकासका सडकहरु अर्थात् डुबान नियन्त्रण गर्ने सडक योजनाहरुलाई प्राथमिकता दिएको बताइएको छ । यसका अलावा दमकमा एशियाली विकास बैंकको सहयोगमा संघीय सरकारको योजनाको मदनडाँगी–डिपु चोक–तारबारी सडकको निर्माणको काम ६० प्रतिशत सम्पन्न भइसकेको छ । बाँकी यलम्बर चौक सडक, धनबहादुर श्रेष्ठको घर उत्तरको सडक र विद्यालय पूर्वाधार सडकहरुको योजना प्रकृयामानै रहेका छन्  । सतासी मार्गको सडक आशागरेभन्दा छिटो निर्माण सम्पन्न भएकोमा चाहेमा विकास निर्माणको काम गर्न सकिने रहेछ भन्ने लागेको दमक नगर प्रमुख राम कुमार थापाले बताए । तर नगरमा नयाँ नयाँ सडक मार्गहरु खुल्ने क्रम चलिरहेकाले कालोपत्र सडक निर्माण यतिनै वर्षमा सकिन्छ भनेर भन्न नसकिने नगरपालिको योजना शाखाले जनाएको छ ।

Author

You may also like