पछिल्लो प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको नारा राष्ट्रिय रंगशाला त्रिपुरेश्वरमा लाग्यो । प्रधानमन्त्री ओली नेपाली महिला खेलाडीको साफ महिला च्याम्पियसीपको सातौं संस्करणको फाइनल खेल हेर्न रंगशालामा पुग्दा नपुग्दै गालीगलौजसहित नाराबाजी भयो । नाराबाजी मात्र भएन त्यहाँ मौका यहि हो सिध्याउँ भन्ने जस्ता कुरा पनि गुन्जिए । त्यो घटना अगाडि प्रधानमन्त्री विदेश गए त्यहाँ पनि विरोधरहित भएर फर्कन सकेनन् । यसरी हरेक दिनजसो जहाँ जहाँ ओली पुग्छन त्यहाँ उनको विरोध गर्नेहरुको लर्को बढ्दै गईरहेको छ । यस्तो लाग्छ कि अहिले मुलुकमा सम्भवतः सर्वाधिक नरुचाइएका व्यक्तिका रुपमा प्रधानमन्त्री ओली देखापरेका छन् । ६ वर्षअघि भारतद्वारा लगाइएको आर्थिक नाकाबन्दीविरुद्ध राष्ट्रिय प्रतिरोधसँग उभिएर ‘हिरो’ बनेका ओली अहिले भ्रष्टाचार, सर्वसत्तावाद र असफलताका पात्रका रुपमा चित्रित भई अलोकप्रिय बन्दै गएको अनुभूति यत्र, तत्र सर्वत्र गरिँदैछ । त्यसो त्यो भन्दा पछि पनि एउटा सिस्नोपानी भन्ने संस्थाले आयोजना गरेको देउसीभैलो कार्यक्रममा उनी विवादरहित भएर फर्कन सकेनन । लक्ष्मीपूजाका दिन सिस्नुपानीद्वारा आयोजित वार्षिक कार्यक्रमको अन्त्यमा आफ्नो आलोचना बढी भएकोमा चित्त दुखाउँदा दान नलिई कुन पार्टीले कार्यालय खोलेको छ? भन्ने प्रतिप्रश्न गर्नुपर्र्यो । त्यो भाटभटेनी साहुद्वारा एमालेलाई पार्टी कार्यालय बनाउन दिइएको जमीन तथा कार्यालय बनाइदिने आश्वासनबारे सिस्नुपानी लागेपछिको प्रतिक्रिया थियो। तर, मुलुकको प्रधानमन्त्रीको बचाउ टिठलाग्दो र दयनीय थियो– ‘सबैले गरेको अपराध मैले गर्न किन नहुने?’ उनको साख गिर्नुको पछाडि पछिल्ला दिनमा उनका आफ्नै अहंकार र राणा शैलीका बोली पनि भएको टिकाटिप्पणी विश्लेषकहरुको छ ।ओली सत्ता जोगाउन बाह्य शक्तिको खोजीमा छन् । कहिले भारततर्फ लम्पसार पर्न खोज्छन कहिले चीन जाने होवा पिटाउँछन । देशमा बाढीपहिरोबाट जनता विक्षिप्त बनेर जनधनको क्षति भईरहँदा न्युयोर्कको दुर्विनबाट नेपाललाई नियाल्ने उनको रहर हो वा बाध्यता त्यो नै अत्याधिक आलोचनाको विषय बन्यो । अब अहिले चीन भ्रमणको हल्ला फैलिएको छ । उनीप्रति तेर्सिएका प्रश्न, आलोप र आलोचनालाई ओली र उनका नेता तथा कार्यकर्ताले राष्ट्रद्रोहका रुपमा स्थापित गर्ने प्रपञ्चमा छन र गरे । उनीविरुद्ध नारा लगाउनेलाई प्रहरी यातना दिनमा व्यस्त छ। यस्तो असहिष्णु र व्यक्ति प्रधानताले फरक मत, अल्पमत र मान्यताको संरक्षण, विधि र प्रक्रियाद्वारा निर्देशित प्रजातन्त्र भन्ने व्यवस्थालाई टिक्न दिँदैन भन्ने हेक्का पनि उनीहरुमा देखिँदैन ।
सरकारकै प्रवक्ता तथा ओलीका प्रियपात्र पृथ्वीसुब्बा गुरुङले ओलीलाई हटाउन देशीविदेशी षड्यन्त्र सुरु भएको दाबी गरेर वर्तमान सरकारको उल्टो दिनगन्ती सुरु भएको स्वीकार गरेका छन्। सहकारी घोटालामा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेको गिरफ्तारीपछि उनलाई थुनामा राखिएको पोखरामा उर्लिएको भीडले ओलीलाई पक्कै बढी तर्साएको हुनुपर्छ।
०६३ को परिवर्तनयता भीडले, सतारुढ दलहरुले सर्वोच्च अदालत तथा न्यायपालिकालाई तर्साएका छन्, बिटुल्याएका छन्। रास्वपाको नियत फरक छ भन्ने उसले पुष्टि गर्नु आवश्यक छ। र, भ्रष्टाचारको प्रसंगमा सहकारी प्रकरणमा धनराज गुरुङ र ऋषि पोखरेललाई मात्र हैन, देउवा, प्रचण्ड र ओलीसमेतका नाम संलग्न मामिलामा अख्तियारले छानबिन नगरेसम्म या अदालतमा मुद्दा नचलाइएसम्म रविलाई प्रतिशोधको हिसाबले थुनिएको मान्नेहरुको संख्या दिनानुदिन बढ्न सक्छ। प्रधानमन्त्री हुनु अगाडि र त्यसपछि आफुबाट के कस्ता गति, कमीकमजोर वा गतिविधि भए आफ कहाँ चुके भन्ने १०० दिनको रिपोर्ट निकालेर जनतालाई तेस्र्याएको भए उनले जनताको सहानुभूति बटुल्न सक्थे होलान तर उनले उही आवेग र उही रफ्तारमा जनताका काम गरेको भनेर उडन्ते कथा सार्वजनिक गरेपछि अझै उनको साख गियों । अझै पनि सच्याउन सक्ने आधार छन् । जनताको नेता बनेर स्वच्छ, निष्पक्ष प्रधानमन्त्रीको रुपमा उभिएर अहिले देखिएका विकृति र विसंगतिसहित तेरो र मेरो नभनी सबैलाई कानुनी कठघरामा उभ्याएर सुशासनको पक्षमा जाने हो भने अझै जनताले ओलीलाई माफी गर्न सक्छन ।