अन्तर्राष्ट्रिय समाचार

पाकिस्तानमा विभिन्न घटनाबाट ४३ जनाको मृत्यु

एजेन्सी/ पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा जारी साम्प्रदायिक झडपमा परी मृत्यु हुनेको संख्या कम्तीमा ३७ पुगेको स्थानीय अधिकारीले शुक्रवार जानकारी दिएका छन् । झडपका घटनामा १५० भन्दा बढी घाइते भएका छन् । यसैगरी अर्को प्रान्तमा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । पहिले अर्ध–स्वायत्त क्षेत्र रहेको कुर्रम जिल्लामा इस्लामको सुन्नी र शिया सम्प्रदायसँग सम्बन्धित जनजातिबीच रक्तपातपूर्ण मुठभेड हुने गरेको छ । यहाँ वर्षौंदेखिको जातीय लडाइँका कारण सयौँले ज्यान गुमाएका छन् ।
जुलाईमा भएको झडपमा ३५ जनाको मृत्यु भएको थियो र जिरगा (आदिवासी सङ्गठन)ले युद्धविरामको आह्वान गरेपछि मात्र समाप्त भएको थियो।
कुर्रममा तैनाथ एक अधिकारीले नाम नबताउने शर्तमा एएफपीलाई बताएअनुसार सुरक्षा बल र स्थानीयले सहमतिका लागि गरेको प्रयासका बावजुद जिल्लाका १० क्षेत्रमा सशस्त्र भिडन्त जारी छ । उनले भने, ‘भूमि विवादको रूपमा शुरू भएको घटना पूर्ण साम्प्रदायिक झडपमा परिणत भएको छ । जसमा स्वचालित र अर्ध–स्वचालित हतियारका साथै मोर्टारको प्रयोग पनि भएको छ।’
उनका अनुसार ३७ जनाको मृत्यु भएको छ भने १५३ जना घाइते भएका छन् । प्रान्तीय राजधानी पेशावरमा तैनाथ सुरक्षा अधिकारीले झडपका क्रममा २८ घरमा क्षति पुगेको बताए ।
पाकिस्तानमा आदिवासी र पारिवारिक कलहका घटनामा हरेक वर्ष सयौँको सङ्ख्यामा नागरिकले ज्यान गुमाउने गरेका छन् । तथापि, खैबर पख्तुनख्वाको पहाडी उत्तरपश्चिमी क्षेत्रमा जातीय द्वन्द्व विशेषगरी लामो र हिंस्रक हुने गर्छन् । यहाँ समुदायहरूले परम्परागत आदिवासीका स्थानीय नियम र कानूनलाई पालना गर्छन्। सुन्नी मुस्लिम बहुल देश पाकिस्तानमा आफूहरूले लामो समयदेखि भेदभाव र हिंसा भोग्दै आएको शिया समुदायले बताउने गरेका छन् ।
हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु
पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शनिवार भएको हेलिकप्टर दुर्घटनामा परी ६ जनाको मृत्यु हुनुका साथै अन्य ८ जना घाइते भएका छन् । मारी पेट्रोलियम कम्पनी लिमिटेडका कर्मचारी बोकेको चार्टर्ड हेलिकप्टरमा शेवा क्याम्प जाँदै गर्दा प्राविधिक समस्या भई प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा दुर्घटनाग्रस्त भएको त्यहाँको प्रहरी स्रोतले सिन्ह्वालाई बताएको छ । दुर्घटनामा ६ जना यात्रुको घटनास्थलमै मृत्यु भएको र अन्य ८ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान शुरू गरिएको छ । घटनालगत्तै उद्धारकर्ता र सुरक्षाकर्मी घटनास्थलमा पुगेर राहतकार्य शुरू गरेका थिए ।

Author

You may also like