सम्पादकीय

डेंगु नियन्त्रणको सवाल

पछिल्लो समय झापामा डेंगु रोगको संक्रमण बढ्दै गएको छ । शुक्रबार डेंगु संक्रमित एक महिलाको मृत्यु भयो । झापा हल्दिबारी–४ की ४० वर्षीया अनिता पौडेलको डेंगु सङ्क्रमणबाट मृत्यु भएको हो । ज्वरो आएर उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडमा उपचाररत पौडेलको उपचारका क्रममा मृत्यु भएको हो । झापामा यस वर्ष पहिलो पटक डेंगु सङ्क्रमणबाट मृत्यु भएको जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । गत वर्ष पाँच जनाको डेंगु सङ्क्रमणबाट मृत्यु भएको थियो । अहिले पनि डेंगुका बिरामीहरू जिल्लाका विभिन्न अस्पतालमा उपचाररत छन् । १२ वर्षअघि पहिलो पटक झापामा संक्रमण फेला परेको डेंगु त्यसयता हरेक वर्ष देखा परिरहेको छ । डेंगु झापामा पहिलो पटक सन् २०१२ मा काँकडभिट्टामा फेला परेको थियो ।
डेंगु संक्रमण बढिरहँदा न त सरकार यसमा गम्भीर भएको छ न जनता नै यसबारे सचेत छन् । कुनै औषधिमूलो नहुने, सचेतना तथा सावधानी नै यसको अचुक औषधि भएकाले सर्वसाधारणलाई पनि यसबारे जानकारी गराउनु आवश्यक छ । यसको संक्रमणबाट बच्नका लागि विभिन्न सञ्चारमाध्यमबाट जनचेतनामूलक सन्देश प्रसारण तथा प्रकाशन गरिएको छ तैपनि यो नियन्त्रणमा आउन सकेको छैन । तराईमा लामखुट्टेले टोकेर डेंगु संक्रमण हुने सम्भावना अधिक देखिन्छ । डेंगु ज्वरो एक गम्भीर फ्लु जस्तो बिमारी भएकाले जुनसुकै उमेरका व्यक्तिलाई पनि असर गर्छ । बिहान, दिउँसो र साँझ घाम अस्ताउने समयमा डेंगु रोग फैलाउने लामखुट्टेले टोक्ने भएकाले त्यति बेला सावधानी अपनाउन स्वास्थ्यकर्मीले सल्लाह दिएका छन् । यसको मुख्य लक्षण भनेको एक्कासि उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दाग देखापर्ने, बेहोस हुने आदि यसका लक्षण हुन् ।
हाम्रै असावधानीले लामखुट्टेले फुल पार्ने वातावरण प्राप्त गरिरहेको कारणले हामी यसबाट बच्न सकिरहेको छैनौँ । लामखुट्टेको लार्भा नष्ट गर्नु नै उत्तम उपाय हो । पानीजम्न सक्ने ठाउँमा पानी जम्न नदिई नियमित सरसफाई गर्नु जरुरी छ । आफ्नो घर वरिपरि सफा गर्नुपर्दछ । घरको झ्यालढोकामा जाली लगाउनु पर्दछ । बाहुला भएको वा शरीर ढाक्ने लुगा लगाउनुपर्दछ । लामखुट्टे भगाउने धुप बाल्नुका साथै टोकाईबाट बच्न मल्हम लगाउन सकिन्छ । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिएको बेस हुन्छ । यस्ता गतिविधिमा हाम्रो स्थानीय सरकार, वडा कार्यालय, स्थानीय स्वास्थ्य संस्थाले जनचेतना जगाउनु आवश्यक छ । स्थानीय सरकारले आफ्ना जनतालाई रोगबाट बचाउन विभिन्न अभियान सञ्चालन गर्नुपर्छ । यसमा स्थानीयलाई नै सहभागी गराएर आफ्नो घरवरिपरि सरसफाइ गर्ने, सुरक्षित राख्ने विषयमा लागि पर्नुपर्छ । विगतमा महामारीको रुपमा देखिएको डेंगुको अवस्था आफ्नो क्षेत्रमा नहोस् भन्नको लागि पानी जम्न सक्ने ठाउँहरुलाई सफा गर्नुपर्छ । डेंगु संक्रमणबाट आफू पनि बच्ने र अरुलाई पनि बचाउने उपाय अवलम्बन गर्न ढिला भइसकेको छ ।

Author

You may also like