प्रतिकूल व्यवहारिक कठिनाईका कारण नेपालमा पछिल्लो समयमा आत्महत्याका घटना दिनप्रतिदिन बढ्दै गएको छ । हरेक दिनका अखबार तथा रेडियो टिभीमा आत्महत्याका समाचारले बाँच्न चाहने र सुनौलो भविष्यको आशामा दौडिनेहरुलाई समेत निरुत्साहित बनाउने गरेको छ । संघीय संसद् भवनअगाडि २०७९ माघ १० गते प्रेम प्रसाद आचार्यले पेट्रोल छर्किएर आगो लगाई आत्मदाह गरेर ज्यान गुमाए । त्यसपछि पनि ३० जना नर्सिङ छात्राहरुले सामूहिक आत्मदाह गर्ने नबताएका होइनन । मोरङको उर्लाबारीस्थित अरनिको अस्पतालमा कार्यरत डाक्टर मनिषकुमार यादव चुकुल लगाएको कोठामै केही दिन अगाडि मृत फेला परे । यि प्रतिधिमिमूलक घटना मात्र हुन् । देशको अहिलेको परिस्थितिले गर्दा आत्महत्या गर्नेको संख्या दैनिक बढिरहेको छ ।
देशमा कोभिड–१९ को महामारी पछि आर्थिक रुपबाट खास गरेर विपन्न र मध्यमवर्गीय परिवार जर्जर बनेको अवस्था छ । यहि अवस्थाको सामना गर्न नसकेर कैयौले आत्महत्याको बाटो रोजेका छन् । आर्थिक हैसियत गुम्दै जानु, बैंकिङ तथा अन्य व्यक्तिगत ऋणले किच्दै जानु, औषधोउपचारमा बढी खर्च हुनु, आम्दानीका बाटाहरु बन्द हुनु, लगाएको लगानी नउठ्नु, खर्च बढ्दै जानु त्यलाई थेग्न नसक्ने अवस्था कै कारणले अधिकांशले आत्महत्याको बाटो रोजेका हुन्छन । कतिपयले मायाप्रेममा असफल भएपछि, परिक्षामा असफल भएपछि र कतिपयले पारिवारिक झैझगडा र बेमेल, श्रीमानश्रीमतिबीचको सम्बन्धमा आएको दरार, दीर्घ रोग वा प्राणघातक रोग लागेको थाहा पाएपछि अािद विविध कारणले मानिसहरुले आत्महत्याको बाटो रोज्ने गरेको र यस्ता घटना दैनिक बढ्दो रुपमा देखिन्छ । यद्यपि भर्खरै मात्र नेपाल प्रहरी अस्पतालका चिकित्सक सम्मिलित टोलीले एक वर्ष लगाएर गरेको अध्ययनपछि तयार पारेको ‘आत्महत्या न्युनकरण तथा व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन २०८१’ सार्वजनिक गरेको छ । उक्त प्रतिवेदनमा आत्महत्या गर्नेमा विपन्न र मध्यमवर्गका मानिसहरुलाई औंल्याएर प्रतिवेदन बाहिर ल्याएको छ । एकाएक सम्पन्न परिवारका सदस्यहरुले आत्महत्या गरिरहँदा अधिकांश विपन्न र मध्यम वर्गका नै हुन् । उक्त प्रतिवेदनमा आत्मह्रत्याबाट प्रभावित मध्ये ८५ प्रतिशत विपन्न र मध्यमवर्गीय परिवार रहेको खुलाएको छ । उक्त प्रतिवेदनका अनुसार पेशागत रुपमा आत्महत्याको अवस्थालाई हेर्दा कृषि पेशामा संलग्नहरु ४६.२ प्रतिशत रहेको खुलाएको छ । १७.९ प्रतिशत श्रमिक, १५.४ प्रतिशत विद्यार्थी, ११.६ प्रतिशत गृहणी र अन्य पेशाको रहेको औंल्याएको छ ।
नेपाली संस्कृतिमा आत्महत्यालाई प्राकृतिक रूपमा लिइने गरिन्छ । यस विषयलाई धार्मिक र जातीय रूपमा फरक–फरक तरिकाले हेर्ने गरिन्छ । आजसम्म आत्महत्याको अवस्थाबारे कुनै समाजशास्त्रीय अनुसन्धान भएको भेटिंँदैन । तर मनोवैज्ञानिक चिकित्सकीय क्षेत्रमा केही अध्ययनहरू भने नेपालको सन्दर्भमा भेटिन्छन् । सामाजिक समस्याको रूपमा बढ्दै गएको आत्महत्याको विस्तृत रूपमा खोजमूलक अनुसन्धान हुनु जरुरी छ । चरम निराशा पैदा भएपछि आत्महत्या गर्ने र सामाजिक कारणबाट निराशा पैदा हुने गरेका पनि आत्महत्या बढेको छ । यसलाई उनले समाजको संरचनागत प्रकार्यका रूपमा हेरेका छन् । आत्महत्या मानसिक स्वास्थ्यसँग जोडिएको विषय हो । तर अहिलेको यसको त्रासद पक्ष के हो भने यस्ता अधिकांश आत्महत्याका घटनामा राज्यलाई जिम्मेवार ठह¥याउने अवस्था सिर्जना भएको छ । राज्यको सामाजिक सुरक्षा नीतिसँग यो कुरा जोडिएको छ । किनभने बेरोजगारी, आर्थिक र स्वास्थ्य उपचारको समस्या लगायत सामाजिक सुरक्षाका विषयमा राज्य उदासीन हुनुले आत्महत्या गर्न नागरिक बाध्य भएजस्तो देखिन्छ । शिक्षा, स्वास्थ्य, गाँसबास आमनागरिकको पहुँचबाहिर जानु र बढ्दो बेरोजगारीले नागरिकलाई विकल्पहरू कम छन् भन्ने पर्न गएको छ । यस्तोमा मानिसले आफू चारैतिरबाट समस्याले घेरिएर अगाडि जाने ठाउँ छैन भन्ने ठानेपछि आत्महत्याको बाटो रोज्ने गरेका हुन्छन । हाम्रो समाजमा आत्महत्या गर्नेलाई कायर मानिन्छ । तर उसले त्यसो गर्नुपर्ने बाध्यता किन आइलाग्यो भन्नेतिर कसैले ध्यान दिँदैन । राजनीतिक कारण पनि आत्महत्यासँग जोडिएको छ । खासगरी अस्थिर कुशासनका कारणले नेपालीहरु देश छोडेर परदेशतिर झोला बोकेर लागेपछिको मानसिक पीडा र चिन्ता आँकलन गर्न राजनीतिज्ञले सक्दैनन । उसले घर, परिवार, समाज मात्र छोडेको हुँदैन परदेशमा पाइला राख्नका लागि लाखौं रकम ऋण बोकेर गएको हुन्छ । त्यहाँ पुगेपछि अवस्था अनुसार उसलाई तनाव बढ्ने र परदेशमै आत्महत्या गर्ने घटनाहरु पनि हामीले प्रसस्त सुनेका छौं । बेरोजगारी र गरिबी घटाउनुको साटो बढाउनमा यस्को मुख्य भूमिका छ । चाकडी–चाप्लुसी गर्न जान्ने र राजनीतिक पहुँच हुनेले सबै अवसर पाउने अवस्थाले आमनागरिकलाई झन् निराशातर्फ धकेलेको छ । देशभित्रै केही गर्न सकिएन भनेर धेरै युवा विदेशिएका छन् ।
आत्महत्या गर्न खोजेको व्यक्तिको चालचलन, बोलि बचन र हाउभाउमा फरक परेको हुन्छ । त्यसलाई उसको परिवार, समाज, नातागोता, साथीसंग आँकलन गर्न खोजेको खण्डमा पनि आत्महत्या रोक्न सकिन्छ । अर्कोतिर मुख्य दायित्व भनेको राज्यकै हो । यि र यस्तै कारणहरु निरुत्साहित बनाउँदै जनतालाई बचाउने अचुक अस्त्रको चाबी राज्यसँगै हुने गरेको छ । राज्यले उनीहरुको आर्थिक अवस्था उठाउने गरी कर्याक्रम र योजना ल्याईदियो वा रोजगारीको वातावरण मिलाइदियो भने आत्महत्या ह्वात्तै घटेर जान्छ । सरकारले जनशक्ति, सेवा, नीति, बजेट सबैलाई प्राथमिकता दिएर अघि बढ्न सक्नुपर्छ । आत्महत्याको समस्या रोकथाम गर्न स्थानीय सरकारको प्रमुख भूमिकालाई मध्यनजर गरेर त्यसै अनुसार स्थानीय सरकार पनि अगाडि बढ्न सक्नु पर्दछ । किनकी हरेक स्थानीय तहमा आफ्नो क्षेत्रभित्रका जनताको अवस्था को कस्को कस्तो छ र उनीहरु कसरी चलिरहेका छन् भन्ने राम्रो हेक्का हुने गर्द छ । कसैमा मानसिक तनाव वा रोग लाग्यो भने उपचार सेवालाई सहज र पहुँच योग्य बनाउनुदै उनीहरुको समस्यालाई राज्यका तीन वटै सरकारले सम्बोधन गर्न सक्यो भने आत्महत्या निरुत्साहित होला नत्र पीडा र तनावले जनता मरेको हेर्नुको विकल्प देखिन्छ । सरकारले यो विषम परिस्थितिबाट राहत दिनका लागि लचिलो मौद्रिक नीति ल्याएको भनिरहेका बेला अब यस्ता आत्महत्याका कारणहरुलाई केलाएर उनीहरुको स्थिति सुधार्न सरकारले ध्यान दिन आव्रश्यक देखिन्छ ।