दमक । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ४६९ जनाको शव फेला परेको छ भने अझै ९७७ जना सम्पर्कविहीन रहेका छन् ।प्राधिकरणले शुक्रबार बिहान ८ स् ३० बजेसम्मको विवरण सार्वजनिक गर्दै चितवनमा सबैभन्दा धेरै १७८ जनाको शव फेला परेको जनाएको छ । नवलपरासी पूर्वमा ११०, गोरखामा ४४, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको शव फेला परेको छ । गोरखामा फेला परेका शवमा विभिन्न मानव अंगसमेत छन् ।
फेला परेका शवमध्ये नेपाल प्रहरीका २८, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ र अध्यागमन कार्यालयका चार जना रहेको प्राधिकरणले जनाएको छ ।
सम्पर्कविहीन हुनेमा रसुवाका १६१, मकवानपुरका ६६ र नुवाकोटका एक जना छन् । यी विवरण सम्बन्धित जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट प्राप्त भएको प्राधिकरणले जनाएको छ । सम्पर्कविहीनमध्ये ५१७ जना विदेशी नागरिक र नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली १२७ जना छन् । बाढीमा ७३ जना घाइते भएका छन् । तीमध्ये रसुवाका ४३ जना छन् ।
खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४ हजार २०० र सशस्त्र प्रहरीका १ हजार ८४५ जना परिचालन भएका हुन् ।