दमक/ झापाको दमकमा कोरोना रोकथाम एवं नियन्त्रणको पछिल्लो अवस्थाका बारेमा बुधबार पालिकास्तरीय छलफल गरिएकोछ । दमक नगरपालिका द्वारा गठित कोरोना रोकथाम तथा नियन्त्रण समन्वय इकाईको बुधबार विहान नगरपालिकामा बसेको बैठकमा यस्तो छलफल गरिएको हो । समितिका अध्यक्ष तथा नगरपालिकाका प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा बसेको बैठकमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा खुकुलो गरेको अवस्थामा सोही अनुसार अघि बढ्नुको विकल्प नरहेको बताए ।
नगर प्रमुख ओलीले अब निषेधाज्ञाले मात्र कोरोना नरोकिने भएकाले खोपलाई पहिलो प्राथमिकता दिँदै व्यक्ति स्वयं सचेत र सतर्क बन्न आग्रह गरे । मंगलबारदेखि खुकुलो भएको निषेधाज्ञामा अधिकांश व्यापार व्यवसाय खुलिसकेका छन् । तैपनि कोरोनाको जोखिम भने उस्तै छ । अब चाडपर्व पनि नजिकिएकाले व्यापारी व्यवसायीको मागलाई पनि थेग्न सक्ने अवस्था नरहेको भन्दै दमक उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापन पत्रबाटै प्रष्ट भएको छ । यस्तो अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर व्यापार व्यवसाय गर्न दिने कार्य भएको नगर प्रमुख ओलीले जानकारी गराए । तर सम्बन्धित व्यक्तिहरुले कतिको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर बस्छन् त्यस कुराको भने नगरस्तरीय अनुगमन समितिले अनुगमन गर्ने भएको छ ।
बैठकमा अबको केही साताभित्रमा कोरोनाविरुद्धको खोप आएपछि पुनः खोप लगाउने कार्य सुचारु गरिने नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रामबृक्ष चौधरीले जानकारी गराए । तर खोप कहिले आउँदा र कति मात्रामा आउँछ भन्ने यकिन नभएको उनको भनाई थियो । बैठकमा यसअघिको बजार अनुगमन समितिका संयोजक तथा वडा नम्वर ७ का अध्यक्ष भीम पौडेलले निषेधाज्ञाको समयमा आफूहरु सो को पालना गराएन लागेको र केही सिटी सफारी चालकहरुलाई इलाका प्रहरी कार्यालयमा लगेर केही समय राखी छोडेको पनि स्मरण गराए । तर उनले अब निषेधाज्ञाले मात्र नहुने भएकाले मुख्य रुपमा कोरोना विरुद्धको खोप जतिसक्दो चाँडो पालिकाहरुमा उपलब्ध गराउने केन्द्र सरकारले
आवश्यक पहल र खोप आयात गर्नुनै अन्तिम विकल्प रहेको बताए । बैठकमा नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी कुवेर भट्टराईले गत चैत्र २५ गते यता नगरपालिकामा १२१४ महिला र १३७५ पुरुष गरी २५८९ जनाको पीसीआर परीक्षण गरिएको र ३६१४ जनाको एन्टीजेन परीक्षण गरिएको जानकारी गराए । हालसम्म दमकमा कोरोनाबाट ४३ जनाको ज्यान गइसकेको र २९६६ जना उपचार पछि निको भएको उनले बताए । सोमबारसम्म दमकमा ६२८ सक्रिय संक्रमित, ५९९ जना होम आइसोलेसन र ७० जना विभिन्न अस्पतालमा उपचाररत रहेको तथ्यांक पनि उनले बैठकमा प्रस्तुत गरे । नगरपालिकाले हरेक सोमबार शंकास्पद व्यक्तिको निःशुल्क पीसीआर तथा बुधबार र शुक्रबार एन्टीजेन परीक्षण गर्ने गरिएको पनि उनले जानकारी गराए । बैठकमा दमक–१० का वडाध्यक्ष बोधराज न्यौपानेले पहिलो डोजको खोप लगाएका व्यक्तिहरुलाई समयमै दोश्रो डोजको खोप लगाउने व्यवस्था गरिनुपर्ने बताए । तर खोप केन्द्रमा नै नआएको र जति आएको छ त्यति खोप पनि झापामा भने नआएकाले समस्या रहेको नगरपालिकाले जनाएको छ । तर खोप आउनासाथ विभिन्न केन्द्र र वडामा गएर खोप लगाउन नगरपालिकाका स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकामा ६५ वर्षमाथिकालाई लगाइएको कोभिशिल्ड खोपको दोश्रो डोज लगाउन नपाएको स्थिति छ । त्यस्तै ५० वर्ष माथिकालाई दिएको भेरोसेल खोप पनि दोश्रो डोज लगाउन बाँकी रहेको छ । समयमै खोप लगाउन नपाउँदा के हुने हो भनेर नगरवासीहरु चिन्तित रहेकाले जतिसक्दो चाँडो खोप ल्याउने प्रयास गरिने प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद तिमिल्सिनाले बताए । बैठकमा स्वास्थ्य केन्द्र र वडामा जान नसक्ने वृद्धवृद्धालाई टोलटोलमा नै गएर खोप लगाउनुपर्ने माग उठेकाले सो कार्यको व्यवस्था गर्न सकिने वडाध्यक्षहरुले बताएका थिए । बैठकमा दमकमा रहेका अस्पतालका प्रतिनिधि, नेपाल रेडक्रस सोसाईटी, दमक उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यालयका प्रतिनिधि, वडाध्यक्षहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।