समाचार

संक्रमितलाई कारितासको सहयोग

दमक/ कारितास नेपालमार्फत् मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगरका कोरोना संक्रमितलाई भेट्दै स्वास्थ्य सामग्री प्रदान गर्ने कार्यक्रम अघि बढाएको छ । कारितास जर्मनीको सहयोगमा कारितास नेपाल दमकमार्फत् बुधबार वडा नम्बर १ का संक्रमितहरुलाई घर घरमा गएर भेटी आत्मबल बढाउन र स्वास्थ्य मापदण्ड पूरा गरी संक्रमणमुक्त बन्न शुभकामना दिँदै स्वास्थ्य सामग्री वितरण कार्य थालिएको हो ।
नगर उपप्रमुख यमुना विष्ट बाँस्तोला, १ नम्बर वडाध्यक्ष बाबुराम एङ्देन, २ नम्बर वडा सदस्य पर्शुराम न्यौपाने, स्वास्थ्य शाखा कर्मचारी जगतप्रसाद मगर, कारितास नेपाल दमकका प्रतिनिधि गोविन्दराज कट्टेल सहितले वडा नम्बर १ का संक्रमितका साथै वडा नम्वर १० मा रहेको भुटानी शरणार्थी शिविरका एकजना संक्रमितलाई समेत सामग्री वितरण गरेका हुन् । जसमा २ वटा सेनिटाइजर, २ प्याकेज सर्जिकल मास्क, १ प्याकेट ग्लोब्स, एउटा ह्याण्ड वास, एउटा पल्स अक्सिमिटर, एउटा डिजिटल थर्ममिटर र सिटामोल सहितको प्याकेज रहेको किट वितरण भएको हो । सामग्रीसहित घर घरमा जनप्रतिनिधि आएर आत्मबल बढाउँदा संक्रमितहरु खुसी बनेका छन् । संक्रमितको संख्या हेरेर आज बिहीबार अन्य वडामा पनि सहयोग सामग्रीहरु वितरण गरिने जानकारी गराइएको छ । झापामा ४ सय ५० र मोरङमा ४ सय ५० जनालाई ती सामग्री वितरण गर्ने संस्थाको योजना रहेको बताइएको छ ।

Author

You may also like