दमक/ चार महिना अगाडिदेखि बेपत्ता भएका बाह्रदशी–५ झापाका राजेश ठाकुरलाई हत्या गरी घरभित्रै गाडेको आशंकामा प्रहरीले बिहीबारदेखि उत्खनन गरी घटनाको गहिरो अनुसन्धान थालेको छ । छिमेकी गणेश राजवंशी र उनकी भाउजु मुना मेचे राजवंशीले हत्या गरेर आफ्नो घर आँगनमा शव गाडेको आशंकामा प्रहरीले साँझदेखि उत्खनन् गरेको हो । तर, हिजो रातिसम्म ठाकुरको शव फेला नपरेको प्रहरीले बताएको छ । अन्दाजी २१ वर्षका ठाकुर गत जेठ १५ गतेदेखि बेपत्ता भएका थिए । आफ्नी आमा मुना र काका गणेशले राजेशलाई हत्या गरेर गाडेको कुरा मुनाका छोरा नरेशले बताएपछि प्रहरीले उत्खनन् थालेको हो । राजेशको शव गाड्ने काममा आफूले पनि सहयोग गरेको नरेशले स्वीकार गरेको बताइएको छ । घटनामा संलग्न भएको भनिएका गणेश दुबईमा छन् । घटना गराएर उनी विदेश गएको आशंका गरिएको छ । मुनाका श्रीमान अभय राजवंशी भने पहिलादेखि नै साउदी अरबमा छन् । काकी मुना र भतिज नरेशलाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ । उत्खनन्का क्रममा मृतक राजेशले लगाएको लुगा, नुनको प्लास्टिकको खोलहरु र एउटा दाउ भेटिएको बताइएको छ ।
राति १० बजेदेखि उत्खनन् रोकिएको हो । प्रहरीले राजवंशीको घर आँगन सिल गरेको छ । जथाभावी उत्खनन् गर्नुभन्दा अनुसन्धान गरेर उत्खनन् गरिने इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । ‘घटना के हो भनेर क्लियर भइसकेको छैन’ उनले भने, ‘घटनाको कडी पत्ता लगाउने प्रयास भईरहेको छ । हिजो साँझ उत्खनन् गर्दा केही युट्युबरहरुले घटनास्थलमै लुकेर लाइभ गरेकोमा प्रहरीले आपत्ति जनाएको छ । घटनास्थललाई सिल गरेर घटनाको प्रमाण जुटाइरहेको अवस्थामा त्यसरी संचारमाध्यममार्फत् सबै कुरा सार्वजनिक नगरीदिन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले आग्रह गरेका छन् ।