भारतमा विकास र हिन्दु संस्कृतिको विरासतलाई उचाइमा पुर्याउँने मोदीको ग्यारेन्टीका साथ उनले तेस्रो कार्यकाल प्रारम्भ गरिसकेका छन् । प्रतिपक्षी इण्डिया गठबन्धनले आफ्नो चुनावी कार्यक्रमहरुमा मोदीको विरोधमा जतिसुकै मुन्टो बटारेपनि मोदीले एन.डी.ए.गठबन्धनलाई बहुमतीय आँकडा २७२ लाई पार गर्दै २९३ सम्म पुर्याउँन सफलता पाए । मोदी सरकारमा मोदीको ग्यारेन्टी र विकासका लागि जनताले पत्यार गरेर नै उनको गठबन्धनलाई सरकारमा पुर्याएको हो । भारतीय लोकतन्त्रमा जनतालाई प्रतिनिधि छान्ने पूर्ण स्वतन्त्रता र सम्मान रहेकोले प्रायजसो हरेक निर्वाचनमा कसले हार्छ र कसले जित्छ भन्ने कुराबारे अड्कल लगाउन गाह्रो हुन्छ । भारतीय जनता पार्टीले नेतृत्व गरेको नरेन्द्र मोदी सरकारको जीतको आँकडा अन्य सबै दल भन्दा बढी छ । सरकारको विरोध गर्ने प्रतिपक्षी दललाई नेतृत्व गर्दै चुनावमा होमिएका भारतीय कांग्रेस पार्टीले ९९ सीट जितेर मात्र चित्त बुझाउनु परेको छ । इण्डिया गठबन्धनले जम्मा जम्मी २३२ सीट जितेर सरकारमा जाने र सरकार बनाउने दावासम्म गर्न पाएनन् । प्रतिपक्षले मोदीको तीन कार्यकालसम्म लगातार हार व्यहोर्नु पर्ने यथास्थिति छ । भारतीय जनता पार्टीले १७ औँ लोकसभामा ३०३ जना सदस्यलाई जिताएर संसदमा पठाएका थिए । तर अठारौँ लोकसभामा यसपाली बिजेपीले त्यो अंकलाई चुम्न सकेन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दल र गठबन्धनको हौसला बढाउन ४०० सीट जित्ने अपेक्षा गरिए पनि यथार्थमा उनको पार्टीले गठबन्धन दलसहितले पाएको जम्मा सीट संख्या २९३ मात्र रहन गयो । यस अर्थमा भारतीय जनता पार्टी र प्रधानमन्त्री मोदी दुबैमाथि आलोचना हुन थालेको छ । नरेन्द्र मोदीको कार्यशैलीको पनि विरोध भएको सुनिन्छ । तर यथार्थमा मोदीको टक्करका नेताहरु भारतमा मात्र होइन, विश्वभर नै खोज्न कठिन छ । आफ्नो तेस्रो कार्यकालमा मोदीले भारतलाई जुन उँचाइमा पुर्याउँने सपना जनतालाई देखाउनु भएको छ त्यसको बारेमा इण्डिया गठबन्धन जस्ता नेताहरुले सोच्न समेत सक्दैनन् । भारतको अर्थ व्यवस्था नयाँ ढँङ्गले परिभाषित हुँदै छ । भारत खाद्यान्नमा पूर्ण रुपमा आत्मनिर्भर देश बनिसकेको छ । जस्तोसुकै संकट परेको बेलामा भारतले आफ्ना छिमेकी देशहरुलगायत विश्वका अनेकौँ देशहरुमा राहत र सहयोग पुर्याएर ‘बसुधैव कुटुम्बकम्’ को आदर्शलाई चरितार्थ गरिसकेको छ । चुनावमा भारतीय जनता पार्टीले अपेक्षित सीट जित्न नसके पनि भारतीय जनताले उनलाई सरकारमा जाने जनादेश दिएकोमा कसैले पनि औँला उठाउन सक्दैन ।
१८ औं लोकसभाको चुनावको समयमा भारतीय राजनीतिमा नयाँ किसिमको ध्रुवीकरणको राजनीतिको प्रारम्भ भएको छ । चोक्टा चोक्टामा विभाजित भारतका क्षेत्रीय राजनीतिक दलहरुले मोदीलाई सत्तामा पुग्न नदिन अनेकौँ किसिमका हत्कण्डा र प्रचार गरे । मोदीलाई तानाशाह, संविधान विरोधी, मुसलमान विरोधी, पिछडा वर्ग विरोधी भन्दै अनेकौँ किसिमबाट जनतामा भ्रमको खेति गर्ने कार्य गरे । जनता प्रतिपक्षको प्रभावमा पर्दै गए । भारतीय जनता पार्टीले जित्ने गरेका कैयौँ परम्परागत सिटहरुमा प्रतिपक्षी गठबन्धनको बर्चस्व बढेर आयो । सबै भन्दा बढी चर्चामा आएको उत्तर प्रदेश प्रान्तको अयोध्यामा अवस्थित फैजावाद संसदीय निर्वाचन क्षेत्र हो । जहाँबाट राम राज्यको उद्घोष नरेन्द्र मोदीले गरेका थिए । त्यही ठाउँबाट राम र राम राज्यको विरोध गर्ने इण्डिया गठबन्धनले चुनाव जित्यो । १८ औँ लोकसभामा भारतीय जनता पार्टीले अमैठी र रायबरैली सिट पनि गुमाए जहाँबाट भारतीय कंग्रेस पार्टीका उमेद्वारले विजय प्राप्त गरे । उत्तर प्रदेशका केही अन्य संसदीय निर्वाचन क्षेत्रबाट पनि इण्डिया गठबन्धन भित्रकै दल समजवादी पार्टीका नेताहरुले जातिवादी नारा उचालेर तथा मुस्लिम मतदाताहरुलाई हिन्दुहरुको विरोधमा उचालेर चुनाव जित्न सफलता पाए । उत्तर प्रदेश राज्यका मुख्यमन्त्री आदित्यनाथ योगीको सरकार नै अल्पमतमा पर्न सक्ने र २, ३ वर्ष भित्रै गराइने प्रान्तीय सरकारको चुनावमा हार खेप्न सक्नु पर्ने जस्तो अवस्था सृजना हुँदै गइरहेको देखा पर्यो । यी र यस्ता कुराहरुमा भारतीय जनता पार्टीभित्र थुप्रै किसिमको आन्तरिक दबाबहरु सृजना हुनलागेको देखिन्छ । तर मोदीले अब कि वार ४०० पार भन्ने भिजन राखेर ४०० सिट जिताउन नसके पनि भारतका अन्य प्रान्तहरुमा उनको पार्टीले अपार सफलता पाएको पनि इतिहास छ । भारतकै इतिहासमा भारतीय जनता पार्टीले उडिसा राज्यको विधानसभा निर्वाचनमा दुई तिहाई भन्दा बढी सीट जितेर सरकार बनाउने अवसर प्राप्त गरेको छ । आन्ध्र प्रदेशमा भारतीय जनता पार्टीसँग गठबन्धन गरेका तेलगु देशम् पार्टीले ठूलो सफलता हाँसिल गरेको छ । भारतीय जनता पार्टीले पहिले चोटी केरला राज्यमा आफ्नो पार्टीबाट एकजना संसद सदस्यलाई जिताउन सफलता प्राप्त गरेको छ । कस्मिरमा समेत भारतीय जनता पार्टीले गठबन्धन दलको सहयोगमा एक सिट जितको सफलता हासिल गरेको छ । भारतीय जनता पार्टी हिन्दु राष्ट्रवादको स्वरुपलाई हिमालय देखि कन्याकुमारीसम्म र केरलादेखि कस्मिरसम्म विस्तार गर्ने प्रयास जारी राखेको छ । मोदीको विकास यात्रा अनवरत रुपमा जारी छ । मोदीले बनाएका आफ्ना ७२ जना सदस्य मन्त्री मण्डलमा गठबन्धनका सबै दलहरुलाई सहभागी गराएका छन् । मोदीको विकास र विरासतलाई जोगाउने अभियानलाई चुनौती दिने ताकत कुनै पनि अन्य दलमा रहेको देखिँदैन । नरेन्द्र मोदी अन्तरराष्ट्रिय स्तरमा प्रतिष्ठित राजनीतिज्ञ हुन् । अमेरिकाली राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, इटालियन प्रधानमन्त्री जोर्जियो मेलोनी, रूसका राष्ट्रपति भ्लादिमिर पुटिन, युक्रेनको राष्ट्रपति जेलेन्स्की, इजराइलको राष्ट्रपति बेन्जामिन नेतान्याहुलगायतका पश्चिमेली सरकार प्रमुखहरुसँग मोदीको घनिष्ठता छ । त्यति मात्र हैन दुबई, कतार, इरान, दक्षिण अफ्रिकामा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ठूलो प्रभाव छ । प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री, भूटानका प्रधानमन्त्री, माल्दिभ्सका राष्ट्रपति, बंगलादेशका प्रधानमन्त्री लगायतका सरकार प्रमुखहरु आमन्त्रित अतिथिको रुपमा सपथग्रहण समारोहमा समुपस्थिति रहेको थियो । यी कुराहरुले पनि मोदीलाई छिमेकी देशहरुसँग परस्पर प्रगाढ सम्बन्ध बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नै छ । विश्वयुद्धको संहारमा पुगेका विभिन्न राष्ट्रहरुबीच समन्वय, सहकार्य र शान्ति स्थापना गर्ने ÷गराउने लगायतका कार्यहरुमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदप्रति सबैको आडभरोसा र विश्वास छ । भारतमा मोदीलाई वर्तमान शताब्दी कै ठूलो नेताको रुपमा गणना गर्न थालिएको छ । यतिखेर मोदी भारतीय संस्कृतिको प्रतिमान बनेका छन् । भारत सनातन कालदेखि सनातन धर्मको मूल्य, मान्यता, परम्परा, रितिथिति र जीवन मूल्यलाई अनुशरण गरेको देश हो । भारतमा भगवान विष्णुको अवतारको रुपमा राम र कृष्ण सबै सनातन धर्म मान्नेहरुका लागि आराध्यदेवको रुपमा रहेका छन् । भारतको प्राचीन संस्कृति, सभ्यता र प्रतिष्ठालाई जोगाएर मात्र भारतलाई विश्व गुरु बनाउन सकिन्छ भन्ने कुरामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विचार राष्ट्रिय स्वयंसेवक संघसँग मिल्दो जुल्दो छ । भारतमा १२०० वर्षसम्म इस्लाम धर्म मान्ने विदेशी मुगल शासकहरुले राज्य चलाए । हिन्दु धर्म र संस्कृतिमाथि अनेकौँ किसिमबाट अत्याचार र दमन गर्दै ठूलठूला हिन्दु मन्दिरहरुलाई ध्वस्त पार्न लगाएर मस्जिद ठड्याउने कार्य गरे । अयोध्याको राम जन्मभूमि, मथुराको कृष्ण जन्मभूमि, काशीको ज्ञानवापी शिव मन्दिर आदि मुस्लिम आक्रान्तहरुले गरेको विध्वंसका प्रमाण हुन् । भारतीय जनता पार्टीले हिन्दू संस्कृतिको पवित्र भूमिहरुलाई मुक्त गराउने संकल्प गरिसकेका हुन् । भारतलाई सन् २०४७ सम्म विकसित देश बनाउन घोषणा गरिसकेका छन् । भारतको अर्थ व्यवस्था विश्वको तेस्रो ठूलो अर्थ व्यस्था बनाउने कार्यमा सरकार लागिपरेको छ । भारतभरी मेट्रो रेलको विस्तार गरिने छ । हरेकको भान्साकोठामा ग्यास पाइपलाइन जोड्ने कार्यक्रमलाई सफल बनाउन अभियान चलाइने छ । ३ करोड गरिबहरुका लागि पक्की घर बनाएर दिने योजनामा सरकारले हस्ताक्षर समेत गरिसकेको छ । किसान सम्मान निधि प्रदान गर्ने कार्यमा पनि सरकारले सहमति दिइ सकेको छ । भारतको सबैभन्दा विरोधी देशको रुपमा रहेको चीनले पनि मोदीले गरेका कार्यहरुको प्रशंसा गरेका छन् । भारतमा थुप्रै समस्याहरु पनि छन् जसलाई भारतका भुरे टाकुरे राजनीतिक दलहरुले सात जन्ममा पनि समाधान गर्न सक्दैन भन्ने आम धारणा छ । नेपालले पनि मोदीको दोस्रो कार्यकालमा नै विद्युत आदान प्रदान सम्बन्धि सम्झौता गरेर नेपाललाई लोडसेडिङ मुक्त देश बनाउन सकेको हो । भारतकै मद्धतबाट नेपालले बंगलादेशलाई विजुली बेचेर विदेशी मुद्रा आर्जन गर्ने योजना बनाइरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकीलाई पहिलो प्राथमिकता दिने नीतिले गर्दा नेपाल र भारतबीचको सम्बन्ध अझ राम्रो बन्न सक्ने अपेक्षा गर्न सकिन्छ । भारतमा हुने तीव्र विकासको छायाँ नेपाललाई पनि पर्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन । नेपाल सरकारले भारतबाट लिन सक्ने लाभहरुप्रति सकारात्मक हुनु जरुरी छ र यसको लागि पहल गर्नु तथा तयारी गर्नु पनि जरुरी छ ।