सवैजसो नेपाली बजार क्षेत्रका विजुलीका पोलमा दशथरी तारका गुजुल्टाले अस्तव्यस्त अवस्था देखिने गरेको छ । विद्युत प्राधिकरणले विद्युत प्रवाहकालागि गाडेको पोलमा इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सहितका तारमाथि तार जोड्ने गरिन्छ । जसले गर्दा सहरको सुन्दरतामै खलल पुग्ने देखिन्छ । अनि उत्तिकै जोखिम पनि ।
कुन तार के को हो भनेर छुट्याउन कठिन । अनि पोलमा थपिएको भारले पोल लड्ला, किच्ला । अर्कातर्फ विजुली प्रवाह भइरहेको पोल लड्यो भनें त्यसबाट उत्पन्न हुने निकै खतरापूर्ण अवस्थाको जोखिममा छन सहरहरु ।
यस जोखिमपूर्ण अवस्थाकोबीचबाट नेपाल विद्युत प्राधिकरण दमकले आफ्नो स्वामित्वमा रहेका दमक बजार क्षेत्रका विद्युतीय पोलमा तानिएका केबल टेलिभिजन, इन्नटरनेट, टेलिफोनका तार हटाउने काम गरिरहेको छ । उसले त्यसखाले तारहरु र उपकरणहरू व्यवस्थित गर्न यो काम थालेको भनेको छ ।
प्राधिरकणले ४०० भोल्ट लाइनको नांगो तार र अन्य सेवा प्रदायकले टाँग्ने तारबीच ८० सेमीको दूरी हुनुपर्ने जनाएको छ । यस्तो तार र पैदलमार्गबीच २.४ मिटरको दूरी (उचाइ) हुनुपर्ने प्राधिकरणको मापदण्ड छ । त्यसैगरी, ४०० भोल्टको इन्सुलेटेड तार र अन्य तारबीच ३० सेमीको दूरी र यस्तो पोलमा पैदलमार्गसँग तारको दूरी ५.५ मिटर कायम गर्ने प्राधिकरणले जनाएको छ ।
तार हटाउने कार्यसँगै सडकको मापदण्डमा साना २९० पोल समेत हटाइँदैछ । अहिले ठूला पोल गाड्ने कार्य भएकाले सोही पोलमा अन्य कम्पनीका तारहरु पनि सार्न लगाइएको छ । आगलागीलगायत विद्युतीय दुर्घटना न्यूनीकरण गरी भरपर्दो विद्युत सेवा उपलब्ध गराउन र सहरी सुन्दरतासमेत कायम राख्न दूरसञ्चार, केबल टीभी र इन्टरनेट सेवा प्रदायकलाई आफ्नो संरचना निर्माण÷व्यवस्थापन गर्न समयसीमा सहित विद्युत प्राधिकरणले सार्वजनिक रुपमा आग्रह गरेको छ । जस अनुसार अहिले सडकको मापदण्ड बाहिरका पोल सार्ने र नयाँ पोल गाड्ने कार्य भइरहेको छ । नयाँ पोलमा केवल, इनटरनेट टीभी लगायतका तारहरु सार्न विद्युत प्राथिकरणले नगरपालिका मार्फत व्यवसायीलाई अनुरोध गरेको छ ।
तोकिएको समयमा व्यवस्थापन गर्ने÷नगराउने सेवा प्रदायकहरूको केबल लगायतका उपकरण नेपाल विद्युत प्राधिकरण ऐन ०४१ बमोजिम प्राधिकरण आफैँले हटाउने र यसबाट हुनसक्ने नोक्सानीका लागि सम्बन्धित सेवा प्रदायक स्वयं नै जिम्मेवारी हुनुपर्ने भनि यसअघि पटक पटक सूचना जारी गरिसकिएकोले अहिले सोही अनुसार काम भइरहेको प्राविधकरण पक्षको भनाई छ । प्राधिकरणले राउटर, रिपिटर, एक्ट्रयाक्टर, अप्टिकल फाइबर वितरण बक्स, जोइन्ट क्लोजरजस्ता उपकरण पोलको एउटा मात्रै साइडमा क्रम मिलाएर, नहल्लिने, नझर्ने गरी क्लिप ब्याण्डको प्रयोग गरेर राख्नसमेत निर्देशन दिएको छ ।
११ केभी र ३३ केभी लाइनमा विद्युतको तार र अन्य तारबीचको दूरी २ मिटर, अन्य ४ सय भोल्टका उपकरण र तारबीचको दूरी ७५ सेमी हुनुपर्ने प्राधिकरणले नियमावलीमा उल्लेख छ ।
विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर, केबल पोलमा जथाभावी झुण्डयाइएका उपकरणका कारण सहरलाई कुरुप बनाएको अवस्था छ । अहिले दमक नगरका चोक बजारका तारहरु हटाउने कार्य सुरु भएको र अब नगरभरी नै यो अभियान चलाउने प्राधिकरणको योजनामा नगरपालिकाले समर्थन जनाएर सहयोग गरिरहेको छ । विकसित देशहरुमा जस्तो अहिले नै हाम्रो देशमा ताररहित अवस्था सिर्जना गर्न नसकिएला । तर यसलाई धेरै हदसम्म सहज भनें बनाउन सकिन्छ । आवश्यक तारहरुलाई मापदण्डमा रही प्राधिकरणसँग समन्वयात्मक हिसावले व्यवस्थापन गर्ने कुरामा अन्यत्र पनि यसखाले काम थाल्न सके व्यवस्थित सहरको परिचय हुने थियो ।