मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस । मे १ तारिखको दिन विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा मनाइने यो श्रमिक वर्गको पर्व हो । नेपाल सहितका देशमा बुधबार विभिन्न कार्यक्रम गरी यो दिवस बुधबार मनाइएको छ ।

यस दिन विश्वका ८० भन्दा बढी देशहरूमा आधिकारिक रूपमा सार्वजनिक विदा भए भनें कतिपय देशहरूमा सामान्य रूपमा मनाइयो । विश्वका धेरै देशहरूमा यही दिनलाई आधिकारिक मजदुर दिवसको रूपमा मनाइन्छ भने केही देशहरूमा यस दिन वसन्त ऋतुको पर्व मे दिवसको रूपमा मनाइन्छ । त्यस्तै अमेरिका लगायतका केही राष्ट्रहरूमा मजदुर दिवस अलग्गै दिनमा मनाइने गरिन्छ ।

१९ औँ शताब्दिको औद्योगिकीकरणमा यूरोपका उद्योगपतीहरूले दैनिक १५ घण्टासम्म न्यून पारिश्रमिकमा श्रम शोषण गरिरहेको कहालीलाग्दो परिस्थितिकाबीच त्यहाँका मजदुरहरूले १ मे १८८६ का दिन त्यसका विरुद्ध समानता, उपयुक्त श्रम ज्याला, उचित विदा सुविधा र श्रम वातावरणकालागि एकीकृत हुने उद्घोष गरे । उनीहरुले ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको एक दिवसीय समय विभाजनको माग गरे । शिकागोमा यही माग सहितको श्रमिकहरूको शान्तिपूर्ण प्रर्दशनमाथि गोली चलाउंदा थुप्रै प्रदर्शनकारीको ज्यान गयो । ४ में मा प्रहरीले श्रमिकहरूलाई तितर वितर पार्ने कोसिस गरिरहेको बेलामा कुनै अज्ञात व्यक्तिले उनीहरू माथी बम फालिदियो । बम विष्फोटमा ४ प्रहरी सहित ७ जनाको मृत्यु भयो । त्यसपश्चात घटनाको मुख्य षड्यन्त्रकारी र दोषीको रूपमा ८ जना निर्दोषलाई पक्राउ गरी फाँसी दिइयो । यसकै ३ वर्ष फ्रेन्च सोसलिष्ट पार्टीले मे १ लाई (श्रमिकहरु एकीकृत हुने घोषणा गरेको दिन) को रूपमा मनाउने घोषणा ग¥यो । नेपालमा सन् १९६३ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै आइएको छ । तर यस दिनलाई वि. सं. २०६४ बाट मात्र आधिकारिक सार्वजनिक विदाको रूपमा घोषणा गरियो ।

यही दिवसको सन्दर्भमा पारेर संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले श्रमसम्बन्धी ऐन नियमहरू समयसापेक्ष सुधार र संशोधन गरी प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग माग गर्यो ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको पूर्वसन्ध्यामा मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केन्द्रले श्रमिकहरूको हक अधिकार स्थापित गर्न आवश्यक ऐन कानुनहरूलाई समयसापेक्ष परिमार्जन गर्न सरकारको ध्यानाकर्षण गराउनु परेको बतायो । सार्वजनिक क्षेत्रमा कार्यरत करारका कामदार तथा श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन आगामी बजेटमा आवश्यक रकम विनियोजित गरी तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने माग अघि सारियो ।

विश्व निर्माण गर्ने श्रमिकहरुको समय अनुरुपको ज्याला, कामको समय निर्धारण, सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने लगायतका समस्या अझै विद्यमान छन् । सामान्य ज्यालादारीमा अरुको कठिन भन्दा कठिन काम गर्दा पनि श्रमिकहरुको आफ्नो जीवन सहज हुने वातावरण बन्न नसक्नु विडम्बनापूर्ण पक्ष हो । श्रमिक बिना कुनै पनि निर्माणको गति अघि बढ्न नसक्ने अपरिहार्यतामा पनि श्रमिकहरु अपमानको शिकार भइरहनु सरकारको कमजोरी हुन आउँछ । तसर्थ श्रमिकहरुको उचित ज्याला, शिक्षा, औषधोपचार सहित उनीहरुले काम गर्न नसक्ने अवस्थामा पुग्दाको बेला समेत भरथेग हुने हिसावले सहायता गर्न सरकारले ऐन कानुनलाई समय सापेक्ष बनाएर लानु आवश्यक देखिन्छ । तबमात्र अन्तर्राष्ट्रिय श्रमिक दिवसमा सार्वजनिक बिदा दिएको अवस्थाले सार्थकता पाउँछ र दिवसले सार्थकता पाउँछ ।

Author

You may also like