दमक, १३ चैत । रङ्गहरूको पर्व होली विशेष उल्लासका साथ सोमबार तराइका जिल्लाहरुमा मनाइएको छ । दमकको नमूना मार्ग, गोरखा डिपार्टमेन्टको प्राङ्गड, पीपल चोक, कनकाई पार्टी प्यालेस, पश्चिम स्टेण्डलगायत दमकका दर्जनवढी सार्वजनिक स्थलहरुमा सामुहिक रुपमा होली मिलान कार्यक्रम भएको छ । होलीमा पछिल्लो पुस्ताका युवायुवतीहरुले उत्साहका साथ नाचगान गर्दै रमाइलो गरेका थिए । दमकका कतिपय स्थानहरुमा पुष्प वृष्टीसहित होली खेलिएको थियो ।
दमक जेसिजको दमक ८ स्थित सामुदायिक भवनमा जेसिजकै आयोजना तथा दमक उद्योग वाणिज्य संघ, साथीभाइ समूहलगायत दमकका संघसंस्थाहरुको सहकार्यमा होली मिलान कार्यक्रम सम्पन्न भएको छ भने दमकका मुख्य चोक र जक्सनहरुमा विशेष समारोहको आयोजना गरी होली मिलान कार्यक्रम गरिएको थियो । दमकबाहेक झापाका भद्रपुर, मेचीनगर, चारआली, विर्तामोड, सुरुङ्गालगायत ठूला बजारहरुमा भब्यताका साथ होली विशेष कार्यक्रम भएको हाम्रा सहकर्मीहरुले जानकारी दिएका छन् ।
होली पर्वलाई मर्यादित र दुर्घटनारहित बनाउँन जिल्ला प्रहरी कार्यालय झापाले आइतवार विहानैदेखि मातहातका सबै यूनिटका प्रमुखहरुसँग छलफल गरेर सुरक्षा संयन्त्रलाई बलियो बनाउँन र चेकजाँचलाई कडाई गर्न सर्कूलर जारी गरिसकेको जनाएपनि कतिपय स्थानमा चेकजाँच कडाइ नहुँदा झडप र दुर्घटना भएका छन् ।
होली मनाउने क्रममा देशभरका धेरै स्थानहरुमा झडप भएको प्रहरीले जानकारी दिएको छ । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा आइतबार राति दुई समूहबीच झडप हुँदा दुईजनाको मृत्युसमेत भएको छ । राति नौ बजेको समयमा दुई समूहबीच झडप हुँदा दुईजनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदी जानकारी दिए ।
मृत्यु हुनेमा सुनसरी जिल्लाको धरान घर भई हाल ढोलाहिटी बस्ने २८ वर्षीय रोवस राई र पाँचथर जिल्ला घर भई हाल खुमलटार बस्ने ३० वर्षीय पुजन राई रहेको प्रवक्ता सुवेदीले जानकारी दिए । शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले गए राति नै १८ जनालाई नियन्त्रणमा लिएको छ ।
यसैबीच, होलीमा जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा काठमाडौंबाट पक्राउ परेका दुई सय ७७ मध्ये एक सय पाँच जना छुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको थियो ।
सोमबार तराईका विभिन्न जिल्लामा होली पर्व मनाइँदैछ । होलीको लागि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेशभरि सबै ठाउँमा सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको थियो ।
यसैबीच होली पर्वमा हुन सक्ने अवान्छित क्रियाकलाब रोक्न जिल्ला प्रहरी कार्यालय झापाले पाँच सय ५० जना प्रहरी परिचालन गरेको छ । विहानैदेखि राति ९ बजेसम्म जिल्लाको मुख्य राजमार्गसहित भित्री सडक खण्डमा समत चेकजाँचलाई कडाई गरिएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।
होलीमा कोशी प्रदेशमा ४ हजार ८ सय ६ं५ प्रहरी परिचालन गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए । प्रदेशभरिमा १ सय १७ ठाउँमा चेकिङ, मोबाइल गस्ती ९६, पैदल गस्ती १ सय ८७, क्यूआरटी ३ सय ७८, अनुगमन ३१, रिजर्भ ३२ रहेको एसपी तिम्सिनाले बताए ।
होलीमा सुरक्षा व्यवस्था मजबुत बनाउन कोशी प्रदेशको राजधानी विराटनगरमा सिसी टिभीबाट पनि निगरानी गरिएको थियो । उनका अनुसार विराटनगरमा मात्र ७ सय बढी प्रहरी परिचालन गरिएको थियो ।
होलीलाई मित्रता, आत्मीयता, सामीप्यता र सद्भाव दर्शाउने पर्वको रुपमा लिइन्छ । दैत्यराज हिरण्यकशिपुले बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रल्हादसहित पस्न लगाउँदा होलिका भष्म भएकी र भक्त प्रल्हाद भने आगोबाट सकुशल निस्केको प्रसंग पुराणमा उल्लेख छ । यसैको सम्झनास्वरुप शक्तिको दुरुपयोग गर्ने पाप प्रवृत्तिकी होलीका मारिएको अवसरमा होलिकादहन भनी चीरदाह गरेर आपसमा रङ्ग, अबीर खली खुशीयाली मनाई होली खेल्ने परम्पराको सुरुवात भएको मानिन्छ । उपत्यका तथा पहाडी क्षेत्रमा आइतबार नै होली मनाइएको थियो ।